कथा : आगोको ज्वाला

सुरेन उप्रेती
६ फागुन २०७९ १९:१२

मैले पढाउने गरेको कलेज शहरकै बीच भागमा रहेको छ । कलेजका अगाडि ठूलो कालोपत्रे सडक छ । हिउँदको चिसोले कठाङ्ग्रिए पनि लमतन्न भएर सडक सुतेको थियो । मेरो आउने पिरियड पढाउनु पर्दैन थियो । म स्टाफ रूममा बसेर अर्को पिरियडको तयारी गर्दै थिएँ । नयाँनयाँ मन्त्रीलाई गार्डले बुट बजारेर सल्यूट गर्दा मन्त्री तर्सिए झैँ, जुलु;को कर्कश आवाजले मलाई तर्सायो । त्यो आवाजले मेरो एकाग्रतालाई भंग गरिदियो । मेरा आँखाहरू सडकतर्फ तेर्सिए । कानहरू पनि आँखालाई साथ दिँदै सडकतिर नै लागे ।

सडकमा निकै ठूलो जुलुस आउँदै थियो । अगाडि हिँड्ने दुई जनाले निलोमा सेता अक्षरले लेखेको ब्यानर बोकेका थिए । ब्यानरको आधाजति भाग ढाक्ने गरी एउटा मान्छेको फोटो छापिएको थियो । जुलुसमा आधा भन्दा धेरै महिलाहरूको सहभागिता थियो । त्यसमा न्यायका लागि लड्ने सामाजिक अभियन्ता हौँ भन्ने पुरूषहरू र नेतृहरू पनि थिए ।

हाम्रो कलेज अगाडि नै आएपछि एउटी नेतृले भाषण सुरू गरिन् । यसरी खेलाडीहरूलाई थुन्न पाइँदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई थुन्दा हाम्रो देशको बदनाम हुन्छ । यो नियोजित षडयन्त्र हो । बलात्कारको आरोप मात्र हो । अरू देशका प्रधानमन्त्री र राष्ट्रपतिहरू खेलाडीलाई उत्साह दिन खेल मैदानमै जान्छन् । हाम्रा भने कमिशन र के के भन्दै भाषण गर्दै थिइन\ । भिडले गड्गडाहट ताली ठोक्दै थियो । साइसाइ र सुइसुइ सिट्ठी बजाउँदै थिए ।

त्यस भन्दा बढी सुन्न सकिनछु । म मेरो विगतमा हराएँ । त्यसबेला म दस कक्षामा पढ्दै थिँए । जिल्ला सदरमुकाम भएको हुनाले बजार सधैँ व्यस्त हुन्थ्यो । त्यसमा पनि मेलाबजार लागेको थियो । फुटबल प्रतियोगिता गरेकाले बजारको चहलपहल झनै बढेको थियो । छिमेकी जिल्लाहरू र गाउँगाउँबाट खलाडीहरू आएका थिए । फुटबल हेर्न भनेपछि म भुतुक्कै हुन्थेँ । आआफुलाई मन पर्ने टिमलाई समूह समूह बनेर हुटिङ गर्दथ्यौँ । त्यो खेल हाम्रा लागि वर्ल्डकप जस्तै महत्वको हुन्थ्यो । ती खेलाडीहरू सिनेमाका चर्चित नायक नायिका जस्तै महान लाग्दथे । उनीहरूसँग बोल्न पाउँदा, फोटो खिच्न पाउँदा संसारकै भाग्यमानी भएजस्तो लाग्थ्यो ।

विभिन्न टिमका बीचमा खेलहरू भए । सेमिफाइनलमा दुईटा जिल्लाका खेलाडीहरूको बीचमा फुटबल सुरू भयो । केही साथीहरू र मैले एउटा टिमलाई समर्थन गर्‍यौं । अरू साथीहरूले अर्को टिमलाई समर्थन गरे । जोडजोडले हुटिङ गर्यौँ । हाम्रो हुटिङको हौसलाले होला हार्न लागेको टिमले जित्यो । आफ्नो समर्थन पाएको टिमले जित्दा हाम्रो खुशीको सीमा नै रहेन । हामीले मैदानमै गएर खेलाडीहरूसँग हात मिलायौँ ।

त्यो टिम सेमिफाइनल खेल जितेर फाइनलमा प्रवेश गरेको थियो । भोलिपल्ट फाइनल गेम थियो । हामीलाई भोलि पनि समर्थन गर्नुहोस है भनेर खेलाडीहरूले भने । हुन्छ भन्दै हामी सबै आआफ्ना घरतर्फ लाग्यौँ । कहिले गेम सुरू होला र हुटिङ गर्न जानु भन्ने कौतुहलताले रातमा पनि बिउँझाइ रह्यो । भोलिपल्ट बिहान एघार बजेदेखि खेल सुरू हुने थियो ।

दश बजे नै जुनु हाम्रो घरमा आइपुगी । जुनु र म गेम सुरू हुनु भन्दा अगाडि नै फुटबल मैदानको प्यारापिटमा गएर बस्यौँ । हाम्रा अरू साथीहरू पनि आएर हामी सँगै बसे । खेल सुरू भयो । जोडजोडले चिच्याउदै हुटिङ गर्यौ । गोली कस्तो ? चुम्बक जस्तो । फर्वाड कस्तो ? मेराडोना जस्तो । डिफेन्स कस्तो ? पर्खाल जस्तो आदि आदि भन्दै करायौँ । साँच्चि नै हामीले समर्थन गरेको टिमले शिल्ड जित्यो । टिम र खेलाडीहरूले शिल्ड, गोल्डमेडल र प्रमाण पत्रहरू पाए । खेलाडी र समर्थकहरूले शिल्ड लिएर नारा लगाउँदै बजार परिक्रमा गरे । हामीले पनि साथ दियौँ । जुलुस सकिँदा साँझ नै पर्न लागेको थियो । तर सडक बत्तीहरूले गर्दा खासै अँध्यारो महशुस भएको थिएन ।

मैले जुनुलाई तान्दै आएँ ! जाउँ ढिला भयो भनेँ । अरू साथीहरू निस्किए र हामी पनि बाटा लाग्यौँ । तर त्यो फुटवल टिमको गोली र उसको एउटा साथीले जुनुलाई र मलाई बोलाए । एउटा फोटो खिचेर जाउ न है भने । जुनुले लौ न त भन्दै मलाई पनि तानी । मैले हैन घरजान ढिला भयो, हामी घर जाउँ भनेँ । त्यो गोलकिपर हेम र उसको साथी ध्रुवले हामीलाई ढिप्पी गरे, फोटोमात्र खिचेर जानु नि भने । हुन्छ नि त भनेर हामी पनि फोटो खिच्न गयौँ ।

बाहिर फोटो खिच्न अँध्यारो नै भै सकेको थियो । हेमले होटलको उज्यालोमा गएर फोटो खिचौँ । चिया पनि खाउँ अनि जानु भन्यो । हामीले उनीहरूसँग फोटो खिच्यौ । त्यहाँ अरू मानिसहरू पनि चिया खानेको भिड थियो । यहाँ मानिसहरू धेरै आउँछन् चिया भित्रै बसेर खाउँ हेमले भन्यो । हामीले हैन ! यहीँ खाने भन्यौँ तर उनीहरूले ढिपी गरे ।

जुनुले जाउँ न त भन्दै मलाई तानी । हामी उनीहरू सँगै भित्र गयौँ । चिया खान थाले पछि उनीहरू हाम्रा नजिक टाँसिन थाले । हात पाखुराहरू छाम्ने, कस्तो राम्रो भन्दै प्रशंशा गर्न थाले । मलाई उनीहरूको नियत राम्रो छैन भन्ने लागिसकेको थियो । पाखुरा समात्न ल्याएको हात झड्कारी दिएँ । म चिया खान छोडेर दौडँदै बाहिर निस्केँ । कसैलाई केही भन्ने आँट पनि आएन । जिउ र हातखुट्टा थरथरी काँपी रहेका थिए । दौडिँदै घर आएँ । जुनुलाई के भयो होला भन्ने मनमा लागि रह्यो । रातभरी निन्द्रा पनि लागेन ।

अर्को दिन सबै स्कुल आए तर जुनु स्कूल आइन । स्कूल सकिए पछी म जुनुको घरमा गएँ । जुनु मेरो छातीमा टाउको राखेर क्वाँक्वाँ रोइ मात्र । केही बोल्न सकिन । उसका बुबा साउदीमा काम गर्न जानु भएको थियो । घरमा पनि आमा र भाइ मात्र थिए । कसैलाई केही भनेकी रहिनछे । मैले नरूनु भन्दै सम्झाएँ । मैले नै के जानेकी थिएँ र ! म हिँडे पछि ढोका लगाएर बसी । आमा पनि काममा जानु पर्थ्यो । छोरी उठेर खाना खानु अनि स्कुल जानु भन्दै निस्कनु हुन्थ्यो । भाइ पनि स्कुल जान्थ्यो । तीन दिन सम्म लगातार जुनु स्कुल आइन । अर्को दिन त जुनुले आत्महत्या गरी रे भनेर बजारभरी हल्ला फैलियो ।

गुड आफ्टरनून मेडम भन्ने आवाजले मलाई झस्क्यायो । मेरो टाउको भारी भएर दुखेको रहेछ । फिल्टरबाट एक ग्लास चिसो पानी थापेर पिएँ । मनमा अनेक कुराहरू खेल्न थाले । के खेलाडीहरू, सामाजिक अभियन्ताहरू, नायक नायिकाहरू, कलाकारहरू, साहित्यकारहरू, पत्रकारहरू, समाजका आदर्श मान्छेहरू हैनन् र ? उनीहरूले गरेका हरेक कामले समाजमा सन्देश दिन्छ र समाजले त्यसको अनुरकण गर्दछ । उनीहरूलाई अरू सामान्य मान्छे भन्दा तल्लो प्रकारको अनुशासननहीन व्यवहार गर्ने छुट छ ? अनि वास्तविकता नबुझी यो समाजले तिनै मान्छेका खराब कामको बचाउ गर्दै हिँड्छ भने यो समाज कता जाँदैछ ? अरू देशमा पचास वर्ष पहिला गरेका यौन दुराचारका अपराधमा सत्तरी पचहत्तर बर्षका वृद्धहरूलाई समेत जेल पठाएको समाचार आउँछन् । तर हाम्रो देशमा भने अपराधमा संलग्नलाई सजायको माग गर्नुको सट्टा पीडितले आवाज उठाउँदा समेत निरूत्साहित गरिन्छ । पीडितलाई नै अपराधीलाई झैँ दुर्व्यवहार हुन्छ । यो समाज कता जाँदैछ हँ ? जुनुको अनुहार आँखा अगाडि आँउछ । मेरा मनभित्र आगोको ज्वाला दन्कन्छ ।

पाँचथर हाल एडमण्टन क्यानडा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *