जनयुद्ध दिवसलाई ‘हिंसा दिवस’ भएको ओलीको टिप्पणी, एमालेमा रहेका पूर्वमाओवादी नेता मौन

शरद रिजाल
१२ फागुन २०७९ ७:४८

काठमाडौं। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सुरु गरेको जनयुद्धलाई ‘हिंसा’को आक्षेप लगाएका छन्।

बिहबिार ७२ औं वर्ष प्रवेश गरेको अवसरमा बालकोटस्थित आफ्नै निवासमा ‘विश्वशान्ति प्राथना’ नामक पुस्तक विमोचन गर्दै ओलीले माओवादीले सुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिएका हुन्।

माओवादीले जनयुद्ध सुरु गरेको दिनलाई हिंसा सुरुवात भएको दिनका रुपमा टिप्पणी गर्दै जनयुद्ध गरेको माओवादीलाई हिंसा छाडेर आएपछि पनि त्यसलाई सम्झेर सार्वजनिक बिदा दिइनुलाई हिंसाप्रतिको आशक्ति कायम रहेको बताएका थिए।

उनले सरकारले फागुन १ गते जनयद्ध दिवसको अवसरमा दिएको सार्वजनिक बिदालाई समेत सरकारले हिंसालाई प्रश्रय दिँदै बिदा दिएकोमा आपत्ति जनाए। फागुन १ जनयुद्ध दिवस नभइ ‘हिंसा दिवस’ भएको उनको आरोप थियो।

उनको यो अभिब्यक्तिले एमालेमै रहेका पूर्वमाओवादीलाई कस्तो अनुभूत भयो होला? एमालेमा रहेका उनीहरुकै अध्यक्षको जनयुद्धबारे गरिएको टिप्पणीप्रति किन कुनै प्रतिक्रिया जनाउँदैनन्? अहिले यी प्रश्नहरु एमालेमा रहेका पूर्वमाओवादी नेताहरुमाथि तेस्र्रिएको छ।

उसोत ओलीले जनयुद्धमाथि आक्षेप लगाएको यो पहिलो भने होइन। तत्कालीन अवस्थामा एमाले र माओवादी एकता हुनुपूर्वसमेत उनका यसप्रकारका आरोप माओवादीमाथि सिलसिलेवर रुपमा लगाउँदै आएका थिए।

त्यतिबेला जनयुद्धमा सहभागी नेताहरु उनीसँग थिएनन् तर अहिले महत्वपूर्ण तहमा रहेर जनयुद्ध सञ्चालन गरेका नेताहरु नै उनीसँग उनको पार्टीको जिम्मेवार तहमा छन्।

एमाले अध्यक्ष ओली माओवादीको सुरुदेखि नै कडा आलोचक हुन्। एमालेमै रहँदा माधव नेपाल माओवादीसँग केही लचक र राजनीतिक शक्तिको रुपमा ब्यबहार गर्ने नेतामा पर्दथे।

एमालेको महासचिव रहेका माधव नेपालको माओवादीलाई शान्तिप्रक्रिया ल्याउन महत्वपूर्ण भूमिका रह्यो। त्यही एमालेकै ओली भने माओवादीप्रति सदैव असहिष्णु रहे।

तथापि ओली एमाले नेतृत्वमै रहेको बेला नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष हालका प्रधानमन्त्री पुष्पकमल दाहालले २०७५ जेठ ३ गते एमालेसँग पार्टी एकता गर्न पुगे। र, दुबै मिलेर नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरे।

एकता लामो समय टिक्न सकेन करिब दुई वर्षपछि राजनीतिक रुपमा बिभाजनको सन्निकट पुग्दै गर्दा अन्ततः सर्वोच्च अदालतले २०७७ फागुन २३ गते औपचारिक रुपमा दुबै पार्टीलाई पूर्ववत अवस्थामा पुर्यायो। त्यसपछि औपचारिक रुपमा एमाले र माओवादी केन्द्रका रुपमा दुई पार्टी पुरानै अवस्थामा फर्किए।

नेकपा बिभाजनका बाबजुद कतिपय माओवादीका शीर्ष नेताहरु आज एमाले अध्यक्ष ओलीसँगै छन्। उनको जनयुद्धप्रतिको तिखो कटाक्षले पूर्वमाओवादीहरुले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

एमाले अध्यक्ष ओलीले पटक पटक माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धप्रति अमर्यादित ढंगले अभिब्यक्ति दिँदै आएका छन्। उनको अभिब्यक्तिप्रति उनकै पार्टीमा रहेका पूर्वमाओवादीहरु जो जनयुद्धको क्रममा नेतृत्वदायी तहमा थिए उनीहरुले कुनै प्रतिक्रिया जनाएका छैनन्।

माओवादीका जनयुद्धकालीन शीर्ष नेताहरु एमालेमा छन्। जसमध्ये एक हुन रामबहादुर थापा बादल। उनी माओवादीले सञ्चालन गरेको जनयुद्धका शीर्ष नेतामा पर्दछन्। जनयुद्धको क्रममा पार्टीको उच्च तहमा रहेका थिए।

माओवादीको महासचिव हुँदै उपाध्यक्षसमेत भएका बादल हाल एमालेको उपाध्यक्षमा पदासिन छन्। तर, उनकै अध्यक्षले यसरी माओवादी जनयुद्धलाई विषवमन गर्दासमेत उनी निरीह देखिएका छन्।

यस्तै अर्का माओवादी कालका प्रभावशाली नेता मध्ये एक टोपबहादुर रायमाझी समेत हाल एमालेका सचिव हुन्। उनी पनि माओवादी जनयुद्धमा सहभागी भएर उल्लेख्य भूमिका निर्वाह गरेका नेता हुन्।

अर्का माओवादी जनयुद्धका प्रभावशाली नेता लेखराज भट्टसमेत ओलीकै पार्टीमा छन्। उनी हाल एमालेको सचिवको जिम्मेवारीमा रहेका छन्। माओवादी पृष्ठभूमिकी ज्वाला कुमारी शाह त एमालेको तर्फबाट आफ्नो पूर्वपार्टी अध्यक्ष नेतृत्वको सरकारको कृषि मन्त्री रहेकी छिन्।

आज माओवादी जनयुद्धमा सहभागी नेताहरु अनेक घटकका रुपमा बिभाजित बनेका छन्। जहाँसुकै भएपनि आफ्नो सहभागिता तथा नेतृत्वदायी तहमा रहेर गरिएको जनयुद्धको जवाफदेही र जिम्मेवारी जहिल्यैपनि लिने आँट गर्नुपर्छ। गलत गरिएको भए प्रायश्चित गर्दै क्षमायाचना गर्नुपर्यो अन्यथा गर्व गर्ने भए जिम्मेवारी लिने साहस गर्नुपर्छ।

माओवादी जनयुद्धकालका शीर्ष नेता डा.बाबुराम भट्टराई जसले अहिले कम्युनिष्ट सिद्धान्त नै परित्याग गरेका छन्। उनले समेत जनयुद्धबारे प्रश्न उठ्दा आफूले त्यसको हिस्सा ब्यहोर्न तयार रहेको सार्वजनिक रुपमा बताउँदै आएका छन्। कम्तीमा उनले आफूले गरेको क्रियाकालापको जिम्मेवारी लिने अभिब्यक्ति दिएर नैतिक रुपमा इमानदारिता प्रदर्शित गरेका छन्।

तर, कम्युनिष्ट भएर आफू आवद्ध पार्टीका अध्यक्षले आफैले सञ्चालन गरेको जनयुद्धप्रति नकारात्मक टिप्पणी गर्दा एमालेमा रहेका पूर्वमाओवादीको मौनताले विगतको क्रियाकलापले उनीहरु स्वयमलाई गिज्याइरहेको छ।

अझै स्मरणीय के छ भने माओवादी शान्तिप्रक्रियामा आउने निर्णय गरेको चुनबाङ बैठकको विरोध गरेर पार्टीबाट कारबाही गरिएका मणि थापा पनि ओली नेतृत्वको एमालेको स्थायी समिति सदस्यमा आसिन छन्। ती मणि थापा चुनबाङ बैठकलाई माओवादी विसर्जनको संज्ञा दिँदै पार्टी परित्याग गरेका थिए।

२०६१ सालको मध्यतिर रुकुमको चुनबाङमा बसेको माओवादी बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै तत्कालीन संसदवादी सात राजनीतिक दलसँग बाह्रबुँदे सहमतिका लागि मार्गप्रशस्त गरेको थियो।

सोही बैठकको विरोध गर्दै माओवादीले घोषित लक्ष्य जनवादी गणतन्त्रविपरीत लोकतान्त्रिक गणतन्त्रमा जान नहुने मत राख्दै आएका मणि थापा ओलीका जनयुद्धप्रतिका विषबाणप्रति मौन रहेका छन्। यी एमालेमा रहेका पूर्वमाओवादी नेताहरु ओलीको जनयुद्धप्रति लगाएको आक्षेपबारे मौन छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *