प्रधानमन्त्रीमा १७ औं पटक असफल भएका रामचन्द्र पौडेल शितल निवासको यात्रा तय गर्दै

शरद रिजाल
१५ फागुन २०७९ ६:५६

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका छन्। उनी कांग्रेस माओवादीसहित आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका हुन्।

शनिबार राष्ट्रपति उम्मेदवारको मनानयन दर्तापछि पौडेलले सर्वसम्मत राष्ट्रपति बन्ने आकांक्षा ब्यक्त गरे। उनले संविधानको रक्षार्थ आफूलाई सर्वसम्मत राष्ट्रपति बन्ने आकांक्षा रहेको सञ्चारकर्मीसँग प्रतिक्रिया दिएका थिए। एमालेको समेत आफूलाई सहयोग हुने उनको अपेक्षा थियो।

शनिबार बिहान लतिपुर सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपति बनाउने सर्वसम्मत निर्णय गरेको थियो। पार्टीको निर्णयपछि पौडेलले आफूलाई कांग्रेसले न्याय गरेको बताएका थिए।

शनिबार राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको यिनै पौडेललाई कांग्रेसले कुनै समय संसदीय अंकगणित र संवैधानिक ब्यवस्था अनुसार अनिर्णित हुने अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार बनाएर १७ औं पटकसम्म परिणामविहीनताको स्थितिमा पुगेका थिए।

त्यही कारणले समेत पौडेललाई कुनै समय १७ औं पटक प्रधानमन्त्रीमा पराजितको उपमा नै दिइयो तर त्यति बेलाको संसदीय अंकगणित र संवैधानिक ब्यवस्था का कारण त्यस्तो अवस्था सिर्जना भएको हो।

पहिलो संविधान सभाका माओवादी, कांग्रेस र एमाले तीन प्रमुख दलले प्रधानमन्त्रीको उम्मेदवार खडा गर्दा कसैको बहुमत पुग्ने अवस्था रहेन र पौडेल १७ औं पटकसम्म ठोस परिणामविहीन अवस्थाको शिकार भएका हुन्। यद्यपि यही कारण उनलाई प्रधानमन्त्रीमा १७ पटक पराजित भएको आरोप लगाइन्छ।

कसरी १७ औं पटकसम्म अनिर्णित  हुन पुग्यो पौडेलको प्रधानमन्त्रीमा उम्मेदवारी ?

२०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन एकीकृत नेकपा(माओवादी) (हालको माओवादी केन्द्र) ले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० गरी संविधानसभामा २२० सिट कायम गरेको थियो।

६०१ सभासद रहने संविधानसभामा संसदीय अंकगणितका कारण माओवादीको एकल सरकार बन्ने अवस्था रहेन। किनभने एकल सरकार बन्न ३०१ सांसद (सभासद) आवश्यक पर्दथ्यो। सोही कारणले केही समय सरकार गठनमा बिलम्व हुन पुग्यो।

अन्तत एमाले र तत्काली मधेशी जनअधिकार फोरम (हालको जसपा) को सहयोगमा निर्वाचन परिणाम आएको पाँच महिनापछि २०६५ भदौ २ मा माओवादी नेतृत्वको सरकार गठन भएको थियो।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले र फोरमसहितको संयुक्त सरकार बन्यो। तर, जनयुद्धमार्फत संसदीय राजनीतिमा आएको माओवादीका आफ्नै अपरिपक्वताले ९ महिनामै सरकारबाट बाहिरिनु पर्ने अवस्था सिर्जना भयो।

माओवादी तत्कालीन प्रधानसेनापति रुकमाङगद कटुवाल प्रकरणपछि सरकारबाट बाहिरिएको थियो। तत्कालीन सरकारका प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति कटुवाललाई बर्खास्त गर्ने निर्णय गरे तर राष्ट्रपति रामबरण यादवले त्यसलाई उल्ट्याइदिए।

यही घटनाका कारण उत्पन्न प्रतिकुल परिस्थितिले गर्दा माओवादी नौ महिनामै २०६६ जेठ ११ गते सरकार छाड्न बाध्य भएको थियो। नौ महिनामै सरकारबाट ठूलो दल माओवादी बाहिरिएपछि देशमा राजनीतिक स्थिरता कायम हुन सकेन।

त्यसपछि तत्कालीन एमालेका नेता माधव कुमार नेपाल प्रधानमन्त्री बने। उनी कांग्रेससहित अन्य मधेशी दलकोे समर्थनमा प्रधानमन्त्री बनेका थिए।
सरकारको नेतृत्व गरेको करिब एक वर्षपछि २०६७ सालको असारमा माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिए।

राजनीतिक अस्थिरताले ब्याप्त त्यस समयमा दलहरुबीच कटुता निकै झांगिएको थियो। एक अर्कालाई अरोप प्रत्यारोपमा उत्रिएका दलहरुको बीचमा निकै अविश्वास बढेको थियो।

सो समयमा एक अर्काका विरुद्ध निर्ममरुपमा प्रस्तुत भएका दलहरुकै आपसमा तिक्तता चरम अवस्थामा पुगेकाले एकले अर्कालाई स्वीकार्ने अवस्था रहेन।

यही अवस्थाले सरकार गठनका लागि दलहरु आआफ्नै अडानमा अडिग रहिरहे। फलस्वरुप प्रधानमन्त्री नेपालको राजीनामापछि पनि सात महिनासम्म नयाँ सरकार गठन हुन सकेन।

सबैको आफ्नै दाबीले अन्ततः २०६७ साउन ५ गते सदनमा प्रधानमन्त्रीका लागि तीन प्रमुख दलबाट तीनै जनाले उम्मेदवारी दिए। माओवादीबाट प्रचण्ड, कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिएका थिए।

अन्तरिम संविधान लागू भएको तत्कालीन संवैधानिक ब्यवस्था अनुरुप कुनै दलको उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुन सकेनन्। फलस्वरुप १७ औं पटकसम्म गरिएको निर्वाचनमा ठोस निष्कर्ष आउन सकेन।

सुरुको चरणमा तीनै दलका कुनैपनि उम्मेदवारले प्रधानमन्त्रीकालागि निर्धारण गरिएको संसदीय मत प्राप्त गर्न नसक्दा प्रक्रिया लम्बिन पुगेर १७ औं पटकसम्म कसैको हातमा परिणाम आउन नसकेको हो।

यस्तै अनिर्णित भइरहेर ठोस परिणाम ननिस्कने अवस्थाबारे जानकार भएरै माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार झलनाथ खनाललाई सहयोग गर्न पुगे । सोही कारण झलनाथ खनाल २०६७ माघ २३ गते देशको ३५ औं प्रधानमन्त्रीे बन्न सफल भएका थिए।

तत्कालीन अवस्थामा पहिलो संविधानसभामा सिर्जित यही कारणले नेपालको राजनीतिमा राष्ट्रपतिका उम्मेदवार पौडेललाई प्रधानमन्त्रीमा १७ पटक पराजित भएको उपमा दिइन्छ।

यस्तो छ राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङको मतभार

कुनै अस्वभाविक परिस्थिति उत्पन्न नभएर पौडेललाई समर्थन गरेका विद्यमान आठ दलको कायम रहेको मतभार पौडेलले प्राप्त गरे उनकोे जित सुनिश्चित छ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङको उम्मेदवारी परेको छ। अधिकांश दलको समर्थन रहेका कांग्रेसका पौडेल बलियो उम्मेदवार देखिएका छन्।

उनलाई आठ दलको समर्थन रहेको छ। एमालेबाट उम्मेदवारी दिएका नेम्वाङलाई हालसम्म अन्य कुनै दलले समर्थन गर्ने औपचारिक घोषणा गरेका छैनन्।

शनिबार मनोनयन दर्ता गरेका एमालेका नेम्वाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, पृथ्बीसुब्बा गुरुङ,गोकर्ण बिष्ट, रघुविर महासेठ, छविलाल विश्वकर्मा, रहेका छन् भने समर्थकमा एमालेकै योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमाररी रावल थापा, अमनकुमार मास्के रहेका छन्।

यस्तै आठ दलीय समर्थन पाएका पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्।

आठ दलको समर्थन प्राप्त गरेका पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले औपचारिक रुपमा समर्थन गरेका छन्।

राष्ट्रपतिको निर्वाचनमा संघ र प्रदेशका सांसदहरु मतदाता रहने ब्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन आउँछ।

सोही मतभार अनुसार राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ।

नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ। कांग्रेसका उम्मेदवार पौडेललाई विजयी हुन करिब दश हजार मत आवश्यक पर्दछ। यसमा माओवादी केन्द्रसहित समर्थन गरेका आठ दलको मतभार जोड्दा पौडेललाई जितको लागि सर्वाधिक मत प्राप्त हुन्छ।

यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ। एमालेका उम्मेदवार विजयी हुने परिस्थितिमा अप्रत्याशीत बदलाव नआएमा हालसम्मको अवस्थामा एमालेलाई समर्थन गर्ने संभावना अन्य दलको देखिएको छैन।

माओवादीको मत ७ हजार ७४५ रहेको छ। पौडेललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ। यस्तै सरकारबाट बाहिरिएको तर समर्थन कायमै राखेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ।

अहिलेको सरकारलाई समर्थन कायमै राखेको हुँदा रास्वपाको मत गठबन्धनकै उम्मेदवार पौडेललाई जाने संभावना छ। यद्यपि रास्वपाले औपचारिक घोषणा गरेको छैन। राष्ट्रपतिको निर्वाचनबारे पार्टीमा थप छलफल गरेर निर्णय गर्ने बताएको छ। रास्वपाले राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्छ यकिन छैन।

जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीले कांग्रेसका उम्मेदवार पौडेललाई नै औपचारिक समर्थन गरेको छ। संघीय परिषद अध्यक्ष अशोक राई पौडेलको उम्मेदवारीको प्रस्तावक नै रहेका छन्।

संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ। उक्त पार्टीका अध्यक्ष माधव नेपाल अहिलेको गठबन्धन ब्युँताउन मूल भूमिका खेलेका हुन्। उनी उम्मेदवार पौडेलको प्रस्तावकसमेत रहेका छन्।

यस्तै पौडेललाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर राष्ट्रपतिको उम्मेदवारी दिएका पौडेलको समर्थक रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *