बुमराह आईपीएलबाट बाहिरिन सक्ने, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेमा पनि शंका

डिसी नेपाल
१५ फागुन २०७९ १३:४५

काठमाडौं । भारतीय फास्ट बलर जसप्रित बुमराह आईपीएल २०२३ बाट बाहिर हुन सक्नेछन् । अर्कोतर्फ भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेमा पनि उनी खेल्नेमा शंका छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल जुलाईमा इङ्ल्यान्डमा हुनेछ । भारतीय टोली व्यवस्थापनले उनको चोटको बारेमा कुनै जोखिम लिन चाहँदैन। उनी अक्टोबर–नोभेम्बरमा हुने विश्वकपमा फर्कन सक्नेछन् ।

बुमराह आईपीएलमा मुम्बई इन्डियन्स टोलीसँग खेल्छन्। उनी हाल राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पुनर्स्थापनाको प्रक्रियामा छन् । उनले त्यहाँ केही समय बलिङको अभ्यास पनि गर्दै आएका छन् । यस्तो अवस्थामा उनी अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजको अन्तिम २ खेलमा खेल्ने अपेक्षा गरिएको थियो तर चयनकर्ताले फिटनेसका आधारमा जोखिम लिएर टोलीमा समावेश गरेनन् । यसपछि उनले मार्च–अप्रिलमा हुने आईपीएलबाट पुनरागमन गर्ने अपेक्षा गरिएको थियो तर अहिले उनलाई फिट हुन समय लाग्ने खबर आएको छ ।

मिडिया रिपोर्टका अनुसार उनी आईपीएल २०२३ र जुनमा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेमा शंका छ । यस्तो अवस्थामा बुमराहले अब यो वर्षको अन्त्यमा हुने एकदिवसीय विश्वकपमा पुनरागमन गर्न सक्छन् । रिपोर्टका अनुसार बीसीसीआई र टोली व्यवस्थापनले बुमराहलाई यस वर्षको एकदिवसीय विश्वकपमा फर्काउने लक्ष्य राखेको छ। एकदिवसीय विश्वकप यही वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुँदैछ ।

बुमराह पछिल्लो ७ महिनादेखि क्रिकेटबाट टाढा छन् । उनले सेप्टेम्बरमा अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजको अन्तिम खेल खेलेका थिए । गत वर्ष जुलाईमा इङ्ल्यान्ड भ्रमणका क्रममा बुमराहको ढाडमा समस्या देखिएको थियो । स्ट्रेस फ्र्याक्चरका कारण बुमराह एसिया कप खेल्न सकेनन् । त्यसपछि उनले अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा पुनरागमन गरे तर २ खेलपछि मात्रै बाहिरिए । यसपछि बुमराह टी–२० विश्वकपबाट पनि पूर्ण रुपमा बाहिर भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *