राष्ट्रपति रनिङ शिल्ड : पाँचखाल प्रथम
काभ्रेपलाञ्चोक। चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ। काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो। नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र छ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल गर्यो।
भलिबल छात्रतर्फ खानीखोला प्रथम, पनौती दोस्रो, चौँरीदेउराली तेस्रो र पाँचखाल चौथो भएका छन्। छात्रातर्फ भने चाँैरीदेउराली प्रथम, नमोबुद्ध दोस्रो, धुलिखेल तेस्रो र बेथान्चोक चौथो भएका हुन्।
यस्तै कबड्डी खेलमा छात्रतर्फ पनौती, रोशी, बनेपा, पाँचखाल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन्। छात्रातर्फ भने बनेपा, पनौती, रोशी र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो भएका हुन्।
त्यस्तै प्रतियोगितामा एथ्लेटिक्स्तर्फ पाँचखाल, चौँरीदेउराली र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो भएका थिए। डब्लुटिएफ तेक्वान्दो खेलतर्फ पनौती, चौँरीदेउराली र बेथानचोक क्रमशः प्रथम, दोस्रो, र तेस्रो भएका छन्। करातेतर्फ बनेपा, खानीखोला र बेथान्चोक क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका हुन्।
शनिबारदेखि सञ्चालन गरिएको प्रतियोगिता सोमबार समापन भएको हो। यसअघि सबै स्थानीय तहमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना सम्पन्न गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
Facebook Comment