पूर्वराजा ज्ञानेन्द्र सुटुक्क भारततिर, मोदीको अनौपचारिक निम्तो!

डिसी नेपाल
१६ फागुन २०७९ १०:०६

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह भारत पुगेका छन्। उनी नेपालबाट स्थलमार्ग हुंदै भारत पुगेका हुन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निम्तोमा भारत गएको समाचारस्रोतको दावी छ।

विश्वस्त स्रोतका अनुसार, उनी झापाबाट सडकमार्ग हुँदै भारतको बागडोगरा गएका छन्। पूर्वराजा ज्ञानेन्द्र सोमबार भारततर्फ गएका हुन्। यसबारे पूर्वराजाको सचिवालयले कुनै जानकारी सार्वजानिक गरेको छैन।

स्रोतले पूर्वराजालाई रिसिभ गर्नका लागि भारतीय प्रधानमन्त्री मोदीका एक जना सल्लाहकार  बागडोगरा आएको र उनले पूर्वराजालाई त्यहाँ हिजो रिसिभ गरेको दावी गरेको छ। त्यसपछि पूर्वराजा दिल्ली लगिए कि लगिएनन् भन्ने स्पष्ट खुलेको छैन।

नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए।

पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ(आरएसएस)को विशेष सहयोग रहँदै आएको बताइएको छ जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए।

यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए।

विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन्। यो परिस्थितिमा पूर्वराजाको सुटुक्क भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *