वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु (भिडियो)
काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन् । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेवसाइटमा सुरु गरेको छ ।
नयाँ प्रणालीसंगै सरकारी निकायहरुले आ–आफ्ना कार्यालयसंग सम्बन्धीत सूचना तथा जानकारी निकायगत बेवसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुचका लागि नया प्रयोग प्रभावकारी हुने बताए। एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरुपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उनले बताए।
विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरुको वेवसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्युनिकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ ।
हेर्नुहोस् भिडियो:
Facebook Comment