राष्ट्रपतिको निर्वाचनले सुधारियो ओली-नेपालको सम्बन्ध

माधव नेपालको पार्टीलाई दलका रुपमा स्वीकार्न एमाले बाध्य

शरद रिजाल
१९ फागुन २०७९ १३:२६

काठमाडौं। नेकपा (एमाले) बाट विभाजित भएर माधव नेपाल नेतृत्वमा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) को अस्तित्व स्वीकार गर्दै एमालेले औपचारिक पत्र पठाएको छ।

राष्ट्रपतिको निर्वाचनका लागि एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा मत माग्दै  फागुन १३ गते शनिबार एकीकृत समाजवादीलाई सम्बोधन गर्दै पत्राचार गरेको हो।
लामो समयदेखि ब्याप्त तिक्ततालाई साम्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको पार्टीलाई औपचारिक सम्बोधन गर्दै पत्राचार गरेपछि दुई पार्टीको सम्बन्धमा सुधार आएको बताइन्छ।

ओलीले पत्राचार गरेपछि एकीकृत समाजवादीप्का नेताहरुले एमालेसँग सम्बादको ढोका खुलेको बताएका छन्। यसले निकट भविष्यमै सहकार्यको वातावरण बन्ने अनुमान गरिएको छ।

नेकपा (एमाले) को करिब १४ वर्ष महासचिव (त्यतिबेला एक पदीय प्रणाली हुँदा कार्यकारी पद) को जिम्मेवारी सम्हालेका माधव नेपालको पदमोहले नै बिभाजनको बिजारोपण गरेको बताइन्छ।

ओली- नेपाल सम्बन्धका उतार चढावपूर्ण आयाम

२०५० सालदेखि एमालेको नेतृत्वदायी पद महासचिव भएका नेपाल २०६४ को पहिलो संविधानसभाको निर्वानपछि पार्टीले देशब्यापी पराजय भोगेकाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए।

तर, यति लामोसमय सम्म एमालेको महासचिव सम्हालेका नेपाललाई पदमोह कायमै रहेका घटनाक्रमले दर्शाउँछ। उनले २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा नेतृत्वदायी तहमा उम्मेदवारी नदिएका नेपालले आफूभित्रको पुनः पद प्राप्तिको लालसा ब्याप्त रहेको नवौं महाधिवेशनमा देखाए।

यही बुटवल महाधिवेशनले नै एमालेमा बहुपदीय प्रणाली कायम गर्ने निर्णय गरेको थियो। उक्त महाधिवेशनमा ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा हुँदा अध्यक्षमा खनाल निर्वाचित भएका थिए।

२०७१ सालमा काठमाडौं सम्पन्न भएको नवौं महाधिवेशनमा नेपालले  एमाले अध्यक्षका प्रत्याशी ओलीविरुद्ध उम्मेदवारी दिन पुगे। ओलीले नेपाललाई पराजित गर्दै अध्यक्षमा विजयी भए त्यस यता पार्टीमा ओली-नेपालको चरम गुटबन्दी हुन थाल्यो।

ओली झनै शक्तिशाली हुन थाले भने नेपालको गुट पार्टीमा कमजोर बन्न पुग्यो। खास समयमा झलनाथको साथ पाएका नेपाललाई ओलीका अगाडि दुबै मिल्दा समेत ओलीविरुद्ध बर्चस्व कायम गर्न सकेनन्।

नवौं महाधिवेशन नै ओली नेपालको तिक्तताको मूल कारण हो। लामोसमयसम्म पार्टीको प्रमुख कार्यकारी पद सम्हालेका नेपाल पदीय लालचाले पुनःअध्यक्षमा उम्मेदवारी दिनु नै दुई नेताबीचको कटुता बढेको बताइन्छ।

१४ वर्ष पार्टी महासचिव हुँदा नेपालको कोपभाजनमा परेका नेताहरुलाई ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा अग्रसर गराए । र पार्टीमा आफैं सर्वेसर्वा बन्न पुगे। यसले १४ वर्ष पार्टीमा एकछत्र राज गरेका माधव नेपालले अपमान महशुस गर्दै ओलीसँगको सम्बन्धनमा थप चिसोपना ल्याएको थियो।

नेकपाकालमा बढेको तिक्तताले विभाजनको बिजारोपण

ओली- नेपाल तिक्तताको उच्चतम स्वरुप २०७५ जेठ ३ गते एमाले माओवादी एकता पछाडि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पछि चरम रुपमा देखा पर्‍याे। तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयमा नेपाल पक्षबाट उनी स्वयम् बाहेक अरु कोही पनि अटाएनन्। यसले नेपालको असन्तुष्टि थप चुलिएको बताइन्छ।

सचिवालयमा आफ्नो समूहबाट आफूबाहेक अन्यलाई नराखिएकोमा ओलीसँग क्रुद्ध माधव नेपाल संख्यात्मक रुपमा सचिवालयको बलियो गुट माओवादी खेमाका पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग नजिकिएर ओली विरोधी कित्तामा सामेल हुन पुगे।

ओली नेपाल सम्बन्धमा तिक्तता बढायो तत्कालीन नेकपाको सचिवालय र स्थायी समिति सबैमा अल्पमतमा परेका ओली माधव नेपालविरुद्ध खनिन पुगे।
ओलीको प्रधानमन्त्रीत्वकालमा गरेको संसद विघटनले पनि पार्टीमा कायमै रहेको मतभेदलाई थप उजागर बनाएको थियो। ओलीको दुई पटकको संसद विघटनको विरुद्धमा पार्टीका प्रचण्ड, माधव समूह एकै ठाउँमा उभएर ओली विरुद्ध सडक आन्दोलनको घोषणा समेत गरेका थिए।

यही क्रममा नेकपा राजनीतिक रुपमा बिभाजित भएसँगै प्रचण्ड माधव समूहले ओलीलई साधारण सदस्यता नरहने गरी पार्टीबाट निकाल्न पुगे।
राजनीतिक रुपमा संकटमा पारेर तत्कालीन नेकपा कब्जाको तयारीमा लागेका प्रचण्ड माधव समूहलाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले गम्भीर झट्का लाग्न पुग्यो।

सर्वोच्चले दुई पार्टीलाई एकीकरणुर्वको. अवस्थामा पुर्याएपछि नेकपा कब्जा गर्ने नेपाल प्रचण्ड समूहको रणनीतिमा तुसारापात भयो। अन्ततः सर्वोच्चको फैसलापछि एमालेमै फर्किने निर्णय गरेका नेपालप्रति ओलीले सदाशयता कायम राख्न सकेनन्। नेकपा कालमा आफूमाथि गरिएका राजनीतिक ब्यबहारलाई नजिकबाट नियालेका ओली नेपालप्रति लचक बन्न सकेनन्।

यता ओलीले २०७७ पुस ५ मा पहिलो पटक गरेको संसद विघटन गरेपछि ओलीसँग कठोर बनेका प्रचण्ड नेपाल समूहको सहकार्य कायमै थियो। पहिलो पटक ओलीले गरेको संसद विघटन सर्वोच्चले उल्ट्याएपछि पार्टीको आन्तरिक किचलो र सत्ता राजनीतिको तीव्र खिचातानीले प्रधानमन्त्री रहेका ओलीले २०७८ वैशाख २७ गते सदनमा विश्वासको मत लिए।

राजनीतिक रुपमा बिभाजिनको नजिक पुगेको नेकपा कालमा विश्वासको मतका लागि नेपाल र प्रचण्ड पक्षका सांसदहरुको मत मत नदिँदा उनले ९३ सांसदको मत प्राप्त गरे। यही विश्वासको मत लिएको एक हप्ता नबित्दै ओलीले दोस्रो पटक जेठ ८ को मध्यराति संसद विघटन गरेका थिए।

१४६ जना सांसदले सर्वोच्चमा उपस्थिति भएर प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध निवेदन दिएका थिए। सर्वोच्चले २८ असारमा सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍याे।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा निवेदन दिने तत्कालीन एमालेका माधव नेपाल पक्षका २३ सांसद रहेका थिए। आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसी सरकार गठनगर्न मूलभूमिका खेलेको भन्दै ओली पक्ष नेपालप्रति तिक्तता बढ्यो।

ओलीविरुद्ध निवेदन दिएका २३ सांसद लिएर नेपालले एमाले बिभाजित गर्दै २०७८ भदौ ९ गते् नेकपा(एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता गर्दै औपचारिक रुपमा एमालेबाट बिभाजित भएको थियो।

नयाँ दल गठन गरेका नेपाल ओलीसँगको लामोसमयदेखिको सहकार्यलाई ब्रेक लगाउँदै गएको स्थानीय तह। संघ र प्रदेशको निर्वाचनमा कांग्रेस माओवादीसहितको गठबन्धनको सहयोगमा सरिक भए तर अपेक्षाकृत परिणाम हासिल गर्न सकेन। त्यस्तै राजनीतिकरुपमा समेत विभाजनको औचित्य पुष्टि गर्न नससकेको निर्वाचनको मतपरिणामले देखाएको छ।

अध्यक्ष ओली लगायत एमालेका नेताहरुराजनीतिक रुपमा नेपालको एकीकृत समाजवादीलाई राजनीतिक दलको रुपमा स्वीकारेका थिएनन्। तर, राष्ट्रपतिको निर्वाचनमा दलको रुपमा स्वीकार गर्दै पत्राचार गर्नुले एमाले र एकीकृत समाजवादीको आगामी दिनमा सहकार्य हुँदै फेरि एकताको वातावरण तय गर्ने दिशाउन्मुख भएको राजनीतिक वृत्तमा चर्चा रहेको छ।

औपचारिक रुपमा बिभाजित भए यता एकअर्कासँगको कटुतापूर्ण सम्बन्ध रहेका नेताद्धय ओली र नेपालको राजनीतिक सम्बादको ढोका राष्ट्रपतिको निर्वाचनले पुनः खोलिदिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *