एसियन क्रस कन्ट्रीः दिपक अधिकारीलाई स्वर्ण
काठमाडौं । १६ औं एसियन क्रस कन्ट्रीको सिनियर पुरुष १० किलोमिटरमा नेपालका दीपक अधिकारीले स्वर्ण जितेका छन् ।
मंगलबार काठमाडौंको गोकर्णमा भएको प्रतियोगीतामा दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपालले पहिलो पटक क्रस कन्ट्रीमा स्वर्ण जितेको हो । जापानका डाइची कामिनोले रजत पदक प्राप्त गरे । २६ जनाले भाग लिएको प्रतिस्र्पामा नेपाली मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।
सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । राजपुराले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गर्दै रजत पदक जितेकी हुन् । सो स्पर्धामा जापानकी युवा सरुमिदाले निर्धारित दुरी ३८ मिनेट ३३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितिन् । भारतकी सोनीकाले कास्य पदक जितिन् । सोनीकाले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गरिन् ।
त्यस्तै सिनियर पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । दीपक, मुकेश र अर्का दीपकले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वणर् पदक जितेका हुन् । इरानले रजत र भारतले कास्य पदक जितेको छ ।
त्यस्तै महिला टिम इभेन्ट्समा भारतले स्वर्ण पदक जित्यो । टिममा नेपालले रजत पदक जित्यो । भारतका तीन खेलाडी श्रुती, बेबी र प्रियंकाले १ घण्टा १४ मिनेट ०९ सेकन्डमा दुरी तय गर्दै टोलीलाई स्वर्ण पदक दिलाए । नेपालका राम माया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले १ घण्टा १८ मिनेट २२ सेकेन्डमा दूरी तय गरेर रजत पदक दिलाए ।
८ किलोमिटरको जुनियर पुरुषको व्यक्तिगत तर्फ समिर इन्जाबिल घायजीले स्वर्ण, शिवजी परशुरामले रजत र पौरिया यशाघिन्हदले कास्य पदक जितेको छ । समिरले २७ मिनेट ३८ सेकेन्ड, शिवजीले २७ मिनेट ३९ सेकेन्ड र पौरियाले २८ मिनेट ०२ सेकेन्डमा दौड पूरा गरेका थिए ।
जुनियर महिला ६ किलोमिटर दौडमा नेपालले दुई रजत पदक जितेको छ । राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा भारतकी श्रुतीले बाजी मार्दै स्वणर् पदक प्राप्त गरिन् । प्रतिस्पर्धामा भारतकी बेबीले कास्य पदक प्राप्त गरिन् । बेबीले २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । नेपाल एथलेटिक्स एसोसियसनको आयोजना र एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा भएको प्रतियोगितामा विभिन्न ११ राष्ट्रका ६५ खेलाडी सहभागी थिए ।
Facebook Comment