फ्रेन्ड्स र थ्री स्टारले अंक बाँडे, चर्च ब्वाइजको लगातार दोस्रो जित
काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
ललितपुरको च्यासल रंशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्स र थ्री स्टार ३–३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । बराबरीसंगै फ्रेन्ड्स दुई खेल खेल्दै १ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने समान खेल खेलेको थ्री स्टार पनि १ अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।
त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको अर्को खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकाल्यो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक गोल थपे । खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए ।
जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ । खुमलटारको यो पहिलो हार हो । खुमलटारले २ खेलमा ३ अंक जोडेको छ र तालिकाको पाचौ स्थानमा छन् । प्रतियोगीता अन्तर्गत बुधबार नेपाल पुलिस र हिमालयन शेर्पा , एपिएफ र सातदोवाटो तथा मनाङ र संकटाबीच प्रतिष्पर्धा हुनेछ ।
Facebook Comment