विभाजित माओवादी घटकहरुबीच एकता कति संभव?

प्रचण्डविरुद्ध व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता भएपछि सहकार्यको थालनी

शरद रिजाल
२४ फागुन २०७९ ७:४१

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा मुद्दा दर्ता भएको छ। मंगलबार द्वन्द्वकालमा तत्कालीन माओवादीबाट हत्या गरिएका २८ जनाका परिवारले प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन्।

माओवादीले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताएको छ। गएको शुक्रबार सर्वोच्चले मुद्दा दर्ता गर्न दिने निर्णय गरेसँगै माओवादी केन्द्रले आइतबार विज्ञप्ति जारी गर्दै प्रतिवाद गरेको थियो।

माओवादीबाट विभाजित विभिन्न घटकहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई व्यक्ति हत्यासँग जोडिनु शान्ति सम्झौता विपरीत भएको बताउँदै आएका छन्।

यही सेरोफेरोमा माओवादी विभाजित घटकहरुको मंगलबार बालुवाटारमा बसेको बैठकले विभाजित माओवादीहरुले कार्यगत एकता गरेका छन्। माओवादीका विभाजित आठ घटकले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको सामुहिक प्रतिवाद गर्ने बताएका छन्।

जनयुद्धकालीन विभाजित माओवादीहरु आज फरक कित्तामा रहेपनि द्वन्द्वकालीन मुद्दालाई व्यक्ति हत्याका रुपमा अदालतमा दर्ता गरिएको विषयमा सबैले सामुहिक रुपमा प्रतिवाद गर्दै फेरि सहकार्य गर्ने जमर्को गरेका छन्।

जनयुद्धकालीन मुद्दालाई व्यक्ति हत्यासँग जोडेर मुद्दा दर्ता गरिनु शान्ति सम्झौता विपरीत भएको माओवादी आन्दोलनका शीर्ष नेता सिपी गजुरेल बताउँछन्।

सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दर्ता भएसँगै शान्तिप्रक्रिया भंग हुने अवस्था आएको उनले बताए। उनले भने, ‘संक्रमणकालीन न्याय विपरीत द्वन्द्वकालमा घटित विभिन्न घटनामा व्यक्तिगत तवरले आरोपति गर्नु विस्तृत शान्ति सम्झौतामाथि कै आक्रमण हो। यसले शान्तिप्रीक्रया भंग हुने संभावनालाई बढावा दिन्छ।’

उनले अहिले सृजित समस्यालाई माओवादी घटकहरुले एकतावद्ध रुपमा प्रतिरोध गर्ने बताए। उनले कार्यगत एकताको वातावरण बनेको र निकट भविष्यमै संयुक्त मोर्चा बनाउँदै पार्टी एकतासम्म पुग्न जनयुद्धमाथि गरिएको आक्रमणले मार्गप्रशस्त गरेको बताए।

उनले डिसी नेपालसँग भने, ‘जनयुद्धमा हिँडेका सबैलाई व्यक्तिगत रुपमा मुद्दा लगाउन थालियो भने सहभागी कोही पनि अछुतो रहन सकिन्न, यो प्रचण्डसँग मात्रै जोडिएको विषय रहेन त्यसैले अहिले सडक संघर्ष हुँदै मोर्चा बनाएर आन्दोलन गर्छौं। कतिपय राजनीतिक विषयमा एकरुपता हुन सके पार्टी एकता पनि हुन सक्छ।’

उनले तत्कालै प्रचण्ड नेतृत्वको माओवादीकेन्द्र सँग पार्टी एकता सम्भव नभएपनि कार्यगत एकता सुरु भइसकेकाले अन्य राजनीतिक विषयमा एक ठाउँमा आउने संभावना औंल्याए।

विभाजित माओवादी घटककै अर्का नेता गोपाल किरातीले जनयुद्धकालीन मुद्धाहरुमा सबै एक ठाउँमा उभिने बताउँछन्। तर माओवादी घटकको एकता संभव नरहेको उनले बताए। उनले डिसी नेपालसँग भने, ‘जनयुद्धका मुद्दामा एकै ठाउँमा उभिनुपर्छ त्यसमा सँगै छौं। पार्टी एकताका लागि उचित वातावरण तत्कालै हुने संभावना छैन।’

उनले विचार कार्यक्रम र जनयुद्धका मुद्दा छाडेर शासकको कित्तामा प्रचण्ड पुगेको आरोप लगाए। उनले भने, ‘प्रचण्ड शासक बन्नु भएको छ हामी उहाँबाट शासित छौं। अब शासक र शासितको एकता कसरी हुन्छ?’

उनले जनयुद्धसँग जोडिएका विषयमा सबैले स्वामित्व लिँदै माओवादीका सबै घटकबीच कार्यगत एकता गरिने उनले प्रष्ट पारे। हाल किराती माओवादीबाट विभाजित भएर माओवादी कम्युनिष्ट पार्टी नेपाल गठन गरेका छन्। उनी हाल सोही पार्टीको नेतृत्व गरेका छन्।

यस्तै जनयुद्धकालीन माओवादीबाट विभाजित एक घटक नेकपा(बहुमत) का नेता हेमन्तप्रकाश ओली सुदर्शनले राजनीतिक रुपमा अलग भएपनि जनयुद्धकालीन मुद्दाका विषयमा सबैको सहभागिता रहेकाले एक ठाउँमा उभिएको बताउँछन्।

उनले राजनीतिक रुपमा अंगीकार गरेको बाटो अलग भएपनि जनयुद्ध सबै माओवादी घटकहरुको साझा आन्दोलनभएकाले त्यसको सबैले जिम्मेवारी लिनुपर्ने र त्यसका विरुद्ध भएको हरेक षडयन्त्रको प्रतिवाद गर्नुपर्ने बताउँछन।

उनी भन्छन्, ‘यो प्रचण्डविरुद्धको मुद्दा होइन सबै माओवादीमा सहभागी नेता कार्यकर्ता र जनताविरुद्धको मुद्दा हो त्यसैले जनयुद्धलाई अपराधिकरण गर्ने प्रयत्नको प्रतिरोध गर्नु सबै माओवादी घटकको कर्तव्य हो।’

माओवादीले सञ्चालन गरेको जनयुद्ध विरोधी गतिविधिको सबैले प्रतिवाद गर्नुपर्ने उनी बताउँछन्। यसमा सबै पूर्वमाओवादीहरु एकै ठाउँमा रहेको उनको भनाइ छ। अहिले कार्यगत एकता हुँदै संयुक्त मोर्चा बनाउनेसम्म तयारीमा लागेको उनले बताए।

उनले भने, ‘अहिले आआफ्नो तहबाट जनयुद्ध विरोधी क्रियाकालापको विरोध गर्ने हो। पार्टी एकता अहिल्यै संभावना देखिँदैन। राजनीतिक विषय भिन्न भएकाले तत्काल एकता नभएपनि छलफल गर्ने वातावरण बनेको छ।

यता माओवादी केन्द्रका महासचिव देव गुरुङ माओवादी विभाजित भएर कमजोर हुँदा प्रतिगामी चलखेल बढेको बताउँछन्। उनले पछिल्लो घटना त्यसकै उपज रहेको बताए।

]उनले भने, ‘जनयुद्धकालीन माओवादी विभाजित हुँदा पुरानै शक्ति बलशाली भए तसर्थ अब माओवादी एकता अनिवार्य भयो। परिवर्तनलाई उल्टाउने संभावना बढेकाले अब एकताको विकल्प छैन।’

महासचिव गुरुङले परिवर्तन विरोधी शक्ति हाबी हुन थालेकाले विभाजित माओवादी घटक एक हुन अपरिहार्य भएको बताए। उनले विभाजित भएर माओवादी कमजोर हुँदा वर्तमान अवस्था आएकाले सबैले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्दै एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए।

याे पनि पढ्नुस्

जनयुद्ध दिवसमा बिदा दिने निर्णय प्रचण्डलाई गलपासो

चाैतर्फी संकटमा प्रचण्ड




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *