युएनले तक्मा दियो, सेनाले सास्ती, डेढ वर्षको पीडापछि कर्णेल चापागाईंले बल्ल पाए सफाइ
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति स्थापना मिसन लेबनानमा कार्यकाल सफलतापूर्वक पूरा गरेर छातीमा मेडलसमेत लगाई काठमाडौं फर्किनासाथ पक्राउ परेका लेफ्टिनेण्ट कर्णेल चन्द्र चापागाईं गतहप्ता बल्ल झण्झटबाट मुक्त भए।
नेपाली सेनाको पुनरावेदन अदालत मानिने विशेष सैनिक अदालतले उनलाई आफ्नो पदमा पुन पदस्थापन हुने आदेश गरेपछि झण्डै डेढ वर्ष लामो अनिश्चय र तनावबाट उनलाई मुक्ति मिलेको छ।
उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशकुमार पुडासैनी, रक्षासचिव किरणराज शर्मा र सैनिक कानून प्राड विवाक प्रमुख उपरथी रत्नबहादुर थापाको विशेष सैनिक अदालतले ४ फागुनमा दिएको आदेशअनुसार कर्णेल चापागाईं पुरानै पदमा फर्किन पाएका छन्।
उनीमाथि लगाइएका अभियोगहरुमा प्रमाणित हुनका लागि प्रमाणहरु नभएको भन्दै सो सैनिक विशेष अदालतले पदमा पुनर्वहाली गरेको हो। विगत लामो समयदेखि एकपटक बर्खास्त गरिसकेपछि पुनर्वहाली हुने सैनिक अधिकृतहरुमा माथिल्लो तहका सायद उनी नै पहिलो अधिकृत हुन्।
उनीमाथि सिपाहीको रगत जाँच गरी आफ्नो रिपोर्ट बनाएकोदेखि फरक युनिटमा काम गर्ने भएपनि आफूभन्दा ३ तहमाथिका सैनिक हाकिम उजुरीसम्मका आधारमा पदबाट बर्खास्त गरिएको थियो। तर, डेढ वर्षमा यी कुनै आरोपहरु पुष्टि हुन सकेनन्।
उनी केबल केही पावरफुल उच्च पदस्थको बक्रदृष्टिको शिकारमात्र भएको यो फैशलाले पुष्टि गरिदियो। तर, हाकिमको बक्रदृष्टिले सैनिक अधिकृतको जीवनमा कति ठूलो सास्ती विनासित्तिमा भोग्नुपर्दो रहेछ भन्ने कुराको उदाहरण भने कर्णेल चापागाईं हुन्।
तालिमदेखि लेबानन र लेवाननदेखि सैनिक थुनासम्म
सैनिक स्रोतका अनुसार, कर्णेल चापागाईं शान्ति मिसनमा छनौट हुनुपूर्व शिवदल गण बर्दियाका गणपति थिए। प्रकृति संरक्षणमा उत्कृष्ट काम गरेकोमा अवार्डसमेत पाएका उनी मिसन छनौटमा परे। सैनिक नियमअनुसार, मिसनमा छनौट भएका सिपाहीदेखि कमाण्डरसम्मले करीव ५ महिना अनिवार्य तालिम गर्नुपर्छ।
वीरेन्द्र पिसकिपिङ ट्रेनिङ सेन्टर अन्तर्राष्ट्रिय सैन्य तालिम केन्द्र, पाँचखाल काभ्रेमा हुने गरेको सो तालिममा हतियारदेखि शान्ति स्थापनामा विद्रोहीहरुसँग गर्ने व्यवहार र अपरेशनका ट्याक्टिसदेखि भौगोलिक अवस्थाअनुसार कसरी आफू र स्थानीयलाई सुरक्षित राख्ने भन्नेसम्मका विषय सिकाइन्छ।
उनको मिसनमा दुईजना मेडिकल डाक्टर पनि परेका थिए। सबै मिसनहरुमा सेनाले डाक्टर र मेडिकल टिम नै पठाउने गर्दछ। नेपाली सेनाको शान्ति सेना कार्यविधि र युएनको नियमअनुसार, ती डाक्टरहरुले पनि अनिवार्यरुपमा मिसन तालिम गर्नै पर्छ पाँचखालमा।
जसअनुसार, सेनाका डाक्टरहरु क्याप्टेन प्रणय कार्की र क्याप्टेन बरुणा पौडेलले पुरै तालिम गरे। तर बिना आधार मिशनबाट निकालिएर मिशन जान नपाएका डा. प्रणय कार्की र बरुणा पौडेलले त आफ्नो पीडा बोल्नसम्म समेत सकेका छैनन्।
लेवानन क्षेत्र न्यूक्ल्यिर, वायोलोजिकल हतियारको पनि खतराको सूचिमा परेको क्षेत्र भएकाले आकस्मिक उपचार गर्नुपर्दा त्यसबारेको जानकारी डाक्टरहरुलाई हुनैपर्ने भएकाले युएनले तालिम अनिवार्य गराएको हो।
यो मुद्धाका जानकार सैनिक कानुन शाखाका एक अधिकृतका अनुसार, डाक्टरहरु कार्की र पौडेलले पूरै तालिम लिए। अन्तिम प्रबचनको दिन तत्कालनी रथी शरद गिरी मुख्य अतिथि भएर पाँचखाल गएका थिए।
अन्तिम प्रवचनको भोलिपल्ट सेनाले कार्की र पौडेललाई लेवानन मिसनमा नपठाउने भयो र उनीहरुको ठाउँमा परे डाक्टरहरु रक्षा भण्डारी राणा र देवांश राणा। यी पति पत्नी हुन्। दुबैजना सैनिक उच्चअधिकृतका छोरी र छोरा पनि। डा.रक्षा तत्कालीन प्रधानसेनापतिका साढुभाइ नाताका उपरथी रघु भण्डारीको छोरी हुन् भने देवांश जर्नेल नवजितसमशेर राणाका छोरा हुन्।
उच्च नेतृत्वका छोरी, ज्वाईलाई सैनिक सचिब विनय बिक्रम राणाले आधिकारिक चिठी समेत नलेखी किन मौखिक खटाए रहस्यको पोको कहिले खुल्ला हेर्न बाकी छ। लेवननमा निज डा. हरुलाई विना तालिम पठाइएकाले शुरुदेखि नै मिसनमा समस्या हुन थाल्यो।
अधिबक्ता अरुण पौडेलले डिसी नेपाललाई दिएको जानकारीअनुसार, सैनिक अदालतसमक्ष कर्णेल चापागाईं र गणका अधिकृत, पदिक र अन्य दर्जाहरुले काठमाडौं विनास्थलदेखि नै समस्या शुरु भइसेकेको बयान दिएका छन्।
फरक फरक उडानमा गए पनि रक्षा र देवांश काठमाण्डौ विमानास्थलमा तोकिएको समयमा पुगेनन्। यी दुबैजना डाक्टरहरु तत्कालीन सैनिक सचिव विनयविक्रम राणाको मौखिक आदेशमा लेवानन्मा खटिएका थिए।
लेवानन् विमानास्थल उत्रेपछि द्वन्द्वग्रस्त क्षेत्र भएकाले युएनको प्रोटोकलअनुसार युएन मुख्यालयबाट पारित भएअनुसारको सवारी साधन र सिट व्यबस्थापनमा बसेर व्यारेकसम्म जानुपर्ने हुन्छ।
यो कुरा पनि तालिममै सिकाइने गरिएको हुन्छ। यही विषयमा सैनिक अधिकृतहरु भगीरथ महत र अनुप थापासँग रक्षाको विवाद भएको थियो। रक्षाका लागि यी कुरा लागू हुन मुस्किल पर्याे।
अधिबक्ता अरुण पौडेलले डिसी नेपाललाई दिएको जानकारीअनुसार, मुद्दाको बयानमा उल्लेख भएअनुसार, रक्षा विमानास्थलमा उत्रेपछि निर्धारित सवारीसाधनमा नगई एम्बुलेन्समा गएर बसेकी थिइन्।
थापाले एम्बुलेन्समा हैन निर्धारण गरिएको सिटमा यात्रा गर्न भन्दा त्यहीँ ठूलो विवाद भएको र अन्तत उनलाई एम्बुलेन्सबाट उनकै लागि तय भएको सिटमा बसाएर यात्रा गर्न वाध्य पारिएको थियो।
यही विषयमा अनुपसँग विवाद भएको थियो। टोली व्यारेक पुगेको एकैछिनमा गणपति चापागाईंलाई हाल जर्नेल भइसकेका तत्कालीन महासेनानी कृष्णराज आचार्यले शर्माले फोन गरेर सह.सेनानी अनुपलाई तत्काल कारवाही गर्न आदेश दिएका थिए।
आचार्यको शर्माको आदेशअनुसार कारवाही गर्नुपर्ने अवस्था थिएन अर्थात् अनुपको गल्ती थिएन। महासेनानी आचार्यलाई शर्मालाई पनि सैनिक मुख्यालयबाट तत्कालीन सैनिक सचिव विनयविक्रम राणा (हाल राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा कार्यरत) ले दवाव दिएको र सोही अनुसार आर्चायले कारवाहीको दवाव दिएका थिए।
तर, गल्तीबिना कारवाही गर्न नसक्ने भन्दै टारे । कारवाही नगरेको विषयमा सैनिक मुख्यालयको तत्कालीन टिम चापागाईंसँग खुसी थिएन। लेवानन्को युएन हेडक्वार्टरमा खटिएका कारण नेपाली सेनाको प्रचलित नियम अनुसार चापागाईंको नेकेवदी आचार्यले भरिदिनुपर्ने थियो त्यो आचार्य भर्न इन्कार गर्दै आफूले दिएको आदेशअनुसार थापालाई कारवाही नगरेको भन्नेमा आचार्य वेखुसी थिए।
घाइतेले उपचार नै पाएनन् उतै मरे
यसैबीचमा युएन ८-३४ पोष्टमा एउटा घटना भयो। नेपाली सैनिकको सो पोष्टमा पानी ओसार्ने ट्यांकी पुगेको थियो। त्यसमा दुईजना चालकहरु थिए। एउटाले व्याक गर्ने र अर्को पछाडि हेर्ने गरेका बेला पछाडि उभिएका धादिङ घर भएका अमलदार नरबहादुर राना सख्त घाइते भए।
प्राथमिक उपचार गर्नुपर्ने कार्यको लागि सो समयमा सिपाही जीवन श्रेष्ठलाई आधिकारिक रुपमा गणले उक्त पोष्टमा खटाइएको थियो। घाइतेको प्राथमिक उपचार गर्नको लागि गुल्मपति सेनानी नाखन लगायतले निजलाई खोज्दा समेत उनी पोष्टमा नै फेला परेनन्।
उनी त्यही व्यक्ति हुन जसले गणपतिको लागि मैले रगत दिएको हो भनि पछि बयान दिए। त्यहीं पोष्टमा थियो तर त्यहाँ खटिएको मानिस पोष्टमै फेला परेनन्। प्राथमिक उपचार गर्न नपाए पश्चात घाइते रानालाई गणमा लगियो। गणमा रहेको मेडिकलमा २१ जनाको मेडिकल टिम हुन्छ।
बिरामी गणमा आउदैछ आफू र सम्पुर्ण मेडिकल टिम तयार पारी राख्न गणका अपरेशन अधिकृत सेनानी इन्द्र, लजिष्टिक अधिकृत भगिरथ, सहायक गणपति बिशाल लगायतले डा.रक्षालाई फोनबाट खबर गरिसकेका थिए। खबर गरेको १० मिनेटभित्र गणमा ल्याइपुर्याए पनि प्राथमिक उपचार उनले पाएनन्।
गणका अधिकृत, पदिकले डा.रक्षा र मेडिकल टिमलाई खोज्न मेडिकल लगायतका स्थानमा गयो तर कोही कसैलाई पनि फेला पार्न सकेन। खोज तलास गर्दा करिब थप १५ मिनेट बिति सकेको थियो। गणपति चापागाईंले डाक्टरको टीमबाट सपोर्ट पाएनन्।
घाइते छट्पटाइरहेको हालतमा थिए। मेडिकल टिम नै ड्यूटीमा नभएपछि चापागाईंले नजिकको सिभिल अस्पतालमा लग्ने आदेश दिएको यो मुद्दामा विभिन्न व्यक्तिहरुको बयानमा उल्लेख छ। अस्पताल पुर्याए पनि घाइते राना बाचेनन्। ढिलो भएका कारण उनको मृत्यु भयो।
चौबीस घण्टा नै उपलब्ध हुनुपर्ने डाक्टरले हेलचेक्र्याईंमात्र होइन कर्तव्यच्यूत भएको कारण यो दुखद घटना हुन पुगेको थियो। यसबारे छानबिन गर्न सहायक गणपति विशाल शाहको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरी कार्य शुरु गरिएको थियो तर यसलाई सैनिक सचिव विभागले (बिनय बिक्रम राणा) रोकिदियो र उनै कृष्णराज आचार्याको नेतृत्वमा इन्क्वायरी बोर्ड गठन भयो।
सैनिक विशेष अदालतमा प्रस्तुत भएको विवरणअनुसार, आचार्यले यत्रो ठूलो घटनामा दोषी कसैलाई उल्लेख नगरी घटनाविवरणमात्र लेखेर प्रतिवेदन दिए।
तत्कालीन लेवनान, नाकुरामा कार्यरत सिनियर सैनिक अधिकृतको अनुसार म.से कृष्णराज आचार्यको सहायक रथी प्रमोशनको समय आइसकेको थियो र कर्णेल चापागाईलाई फसाउन सकेमा प्रमोशनमा सैनिक सचिव बिनय बिक्रम राणा र उनका टिमबाट फाइदा हुने भनी उनलाई आस्वासन समेत दिइएको थियो।
समयमा उपचार पाएको भए राना बांच्ने थिए, उपचार नगर्ने दोषी हुन् भनेर गणका उपलब्ध सबैले आचार्यको बोर्डसमक्ष बयान दिएका छन् तर आचार्याले प्रतिवेदनमा त्यो कुरा उल्लेख नै नगरी फासफुस पारिदिए। राना मरेको मर्यै भए न्याय कतै मिलेन। यो प्रकरण मानवअधिकार आयोगसम्म पुगेको भए पनि त्यहाँबाट पनि वास्ता भएको छैन।
विदेशी भूमिमा ठूलो षड्यन्त्र
नेपाली व्याट रहेको युएन पोष्ट ८-३३ मा खाद्यान्न ओसार्ने ट्रकको अर्को घटना भयो। राशन ओसार्ने ट्रकको ड्राइभर राशन नझारी गाडी पार्क गरेर खाना खानतिर लागेछन्। यत्तिकैमा उनकै सहचालकले गाडी व्याक गर्न खोज्दा युएनको प्रिफ्यावमा ठोक्कियो जसका कारण गाडीमा क्षति भयो र प्रिफ्यावमा पनि।
यो घटनामा छानविन हुँदै थियो। सुवेदार मेजर भुवन थापा, सुबेदार कर्मचारी सुमन थापा, ऐंटन कप्तान पुरुषोत्तम विष्टसहित भएको कोठामा ड्राइभरहरुको हेलचेक्र्याइबारे छलफल हुँदै थियो त्यहाँ चापागाईं पनि पुगे। उनले केही आक्रोश पनि पोखे। हाकिम रिसाएको खवर गणभरि फैलिनु स्वाभाविक थियो।
यही इस्यूलाई हातपात गरेको र चोटपटकको इस्यूमा परिणत गरियो। डाक्टर रक्षा भण्डारीले गणपतिले पिटेको ड्राइभरले बताएको र सोहीअनुसार चोट रहेको डाक्टरी रिपोर्ट बनाइदिइन्।
घटनाको भोलिपल्टै सैनिक मुख्यालय भद्रकालीबाट प्रमुख सेनानी भोला पाण्डेको अध्यक्षतामा चापागाईंले सिपाही कुटेको विषयमा छानविन समिति गठन भयो। आफ्नै डाक्टरले त्यस्तो रिपोर्ट लेखेपछि गणपति चापागाईंले ती ड्राइभरलाई गणमा रहेको डेन्टिष्ट डा. आस्ना राणा र सिभिल अस्पतालसमेत लगेर स्वास्थ्य परिक्षण गराए, सि.टि.स्क्यान र एक्सरे समेत गरिएको सैनिक अदालतसमक्ष उनले सो को प्रमाण समेत पेश गरेका छन्।
यी रिपोर्टहरुमा कहीँ कतै घाउ चोट तथा दागहरु समेत नरहेको भनि डा.को प्रतिबेदनमा उल्लेख छ। यसो गर्दा कुटपिट नभएको र घाउचोट नभएको कुराको रिपोर्ट आएपछि पाण्डेको छानविनले कुटपिट नभएको भन्दै प्रतिवेदन पठायो। यसले सैनिक सचिवालयमा रहेको बिनय बिक्रम राणालाई चित्त बुझेन।
फेरि उनै आचार्यको नेतृत्वमा अर्को छानविन समिति बनायो मुख्यालयले। आचार्य समितिले गणपतिले थप्पड सम्म हानेको हुन सक्ने आशंका गर्न सकिने भनी रिपोर्ट दियो। यो रिपोर्ट पनि पर्याप्त भएन गणपति चापागाईंलाई कारवाही गर्न।
दुई तारे जर्नेलको उजुरी कर्णेलविरुद्ध
उनै डाक्टर रक्षा राणा र तत्कालीन सैनिक सचिव विनयविक्रम राणाको सम्बन्धबारे सामाजिक सञ्जाल भाइवर ग्रुपमा म्यासेज लेखेको आरोप गणपति चापागाईंमाथि लाग्यो।
चापागाईंकै साथी स्टाफ कलेज पास गर्न नसकेका मेजर विदुर रानाभाटले भनेको भन्दै रक्षा र विनयको सम्बन्धको अफवाह फैलाएको आरोपमा रक्षाका पिता तथा तत्कालीन उपरथी रघु भण्डारीले नै कारवाहीको माग गरेर साढु दाई तत्कालीन प्रधान सेनापति पुर्णचन्द्र थापालाई निवेदन दिए।
अभियोजन शाखाका महेन्द्रजंग शाहीको कार्यालयमा समेत मेजर बिदुर रानाभाटलाई लगातार २ पटक चापागाईको बिरुद्धमा लिखित उजुरी दिन लगाए। सो उजुरी पारेपछि शाहीले चापागाईं फर्केपछि गठन हुने कोर्ट अफ इन्क्वायरीमा पेश गर्ने भन्ने तोकआदेश गरेको सैनिक अदालतमा प्रस्तुत भएका कागजातले देखाएको छ।
संयोग कस्तो छ भने महेन्द्रलाई ६ महिना पहिला नै कोर्ट अफ इन्क्वायरी गठन हुने थाहा भई सकेको देखिन्छ। नभन्दै मिसनमा १७ महिना देशको प्रतिनिधित्व गरेर सफल कार्याकाल सकि फर्केको लगत्तै उनीलाई पक्राउ गरिए। जर्नेलको उजुरीमा पक्राउ परेपछि उनलाई झण्डै ६ महिना लामो छानविन गरियो।
छानविनका क्रममा हाल रिटायर्ड भइसकेको विदुर रानाभाटले निवेदनमा भने बिपरीत चापागाईले हैन बरु आफैले रक्षा र विनयका बारेमा म्यासेज लेखेको पत्ता लाग्यो तै पनि चापागाईंलाई उन्मुक्ति दिइएन।
लेबनानमा माओवादी लडाकूबाट समायोजनमा परेका एकजना सैनिक अधिकृत र सिग्नलमा काम गर्ने बिल्लादारहरुले UN- ३४ नं. पोष्टमा आफ्नो मोवायलबाट खिचेका आपत्तिजनक तस्वीरहरु मेटाइएकोबारे भने कतै कुरा उठेको पाइएन।
पोष्टका रहेका १०२ जना मध्ये प्राय सबैको मोवाईलमा फैलिएको सो भिडियो मेजर इन्द्रराज गुरुङले सबै सैनिकहरुको मोवाइल सिज गरेर रिफम्र्याट गरिएको थियो। त्यो भिडियो खिच्ने अधिकृत र अन्य सैनिकहरुले पनि हालसम्म कतै यसबारे बोलेको पाइएको छैन। तर, चापागाईंले भने पदबाट बर्खास्तगीको सजाय पाएका थिए।
यही सजायविरुद्ध उनले सैनिक विशेष अदालतमा निवेदन दिएका थिए। सोही निवेदनबारे फैशला गर्र्दै उनीमाथि लागेका आरोपहरु प्रमाणित हुन नसकेको भन्दै उनलाई पुरानै पदमा पुनस्र्थापना गरेको छ। यस घटनाबाट तत्कालीन नेपाली सैनिक नेतृत्वनिकट टोलीले आफ्नो इगोका लागि अरुलाई कसरी शिकार बनाए भन्ने कुराको उदाहरण कर्णेल चापागाई बनेका छन्।
Facebook Comment