बागलुङको तमान गाउँमा खेतीयोग्य जमिन वर्गीकरण गरिँदै

डिसी नेपाल
२४ फागुन २०७९ १३:५३

बागलुङ । छरिएका बस्ती । भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्वर भूमि । जहाँ आलु, भाँगो र सिमीहरु लटरम्मै फल्छन् । बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएको हुँदा कृषकलाई निकै समस्या छ । खानेपानीको मुहान निकै टाढा–टाढा हुँदा सिँचाइको व्यवस्थापन गर्न पनि उत्तिकै कठिनाइ छ ।

सिँचाइका लागि भिर, कुना कन्दरा र पहरा फोडेर कुलो बनाउन सम्भावना नै देखिँदैन । यद्यपि कृषकले जसोतसो जीवनयापन गर्न खाद्य उपात्दन गर्दै आएका छन् । सिँचाइको व्यस्थापना गर्न समस्या भए पनि गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्रका बनाई उत्पादनलाई बढाउनेतर्फ लागेको छ । गाउँपालिकाले पाँचवटै वडाहरुलाई पकेट क्षेत्रका रुपमा विस्तार गरेको छ ।

वडा नं ४ को लाम्मेलालाई आलु पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त वडालाई आलु पकेट क्षेत्र घोषणा गरेर कृषकलाई आधुनिक उपकरण, उन्नत जातका बीउमा वितरण गरी साना सिँचाइ परियोजनासमेत सञ्चालन गर्ने गरी योजना अगाडि बढाएको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए ।

तमान गाउँका तीन सय ५० बढी घरका कृषकले आलु उत्पादन गर्दै आएका छन् । लामो समयदेखि परम्परागत रुपमा आलु उत्पादन गर्दै आएका यहाँका स्थानीयवासीलाई पकेट क्षेत्र घोषणा गरी अनुदान प्रदान गर्ने र व्यावसायिक बनाउनेतर्फ गाउँपालिका लागेको उनको भनाइ छ । लाम्मेलाका हरेक कृषकले वार्षिक न्यूनतम पाँच सय किलोदेखि माथि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको कृषि शाखाले जनाएको छ ।

पालिकाले लाम्मेलासँगै वडा नं ६ को नर्जाखानी, वडा नं २ को मुठाचौर लगायतका ठाउँलाई पनि आलु पकेट क्षेत्र विस्तार गरेको छ । यी वडाबाहेक आलु उत्पादन हुँदै आएका अन्य क्षेत्रमा पनि आधुनिक तरिकाले खेती गर्ने गाउँपालिकाले जनाएको छ । यस वर्ष नयाँ पकेट क्षेत्रका लागि १० लाख र पुरानोलाई निरन्तरता दिनका लागि पाँच लाख गरी रु १६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

कृषकलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको अध्यक्ष बुढा मगर बताउँछन् । खेतीयोग्य जमिनको वर्गीकरण गरी कृषकलाई अनुदानसँगै सिँचाइको व्यवस्थापन गर्नका लागि गाउँपालिकाले दीर्घकालीन योजना बनाएर लागेको उनको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भने, “गाउँपालिकाको आर्थिक उपार्जनको माध्यमनै कृषि हो, कृषकलाई व्यावसायिक र आधुनिक प्रविधिसँग जोडेर उत्पादन बढाउने गरी कामको थालनी गरेका छौैँ, यहाँ मुख्य गरी कृषि र पशुपालन नै गर्ने कृषकको सङ्ख्या ठूलो छ, पालिकाले पनि सोही अनुसार बजेट विनियोजन गर्दै आएको छ, जहाँ जुन चीज उत्पादन हुन्छ, माटो र हावापानीअनुसार बालीनाली लगाउन कृषकलाई प्रेरित गरिरहेका छौँ ।

भौगोलिक कठिनाइका कारण धेरै ठाउँमा सिँचाइको समस्या रहेको भन्दै प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा कुलो तथा नहर निर्माण गर्ने योजना बनाएको उनले सुनाए । पालिकाले हरेक वर्ष कृषि र पशुपालनका लागि बजेटसमेत वृद्धि गर्दै गएको अध्यक्ष बुढा मगरको भनाइ छ । उनका अनुसार वडा नं १, २ र ३ लाई पनि खाद्य बाली पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *