नेपालको एकदिवसीय मान्यता जोगियो, सोझै विश्वकप छनोट पुग्ने सम्भावना पनि कायमै
काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ । आज विश्वकप लिग २ अन्तर्गत किर्तिपुर मैदानमा भएको खेलमा युएइलाई १७७ रनले पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता कायमै रहेको हो । यससँगै नेपाल विश्वकप छनोटमा सोझै पुग्न सक्ने सम्भावना पनि कायमै छ ।
नेपालले सन् २०१८ मा ४ वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो मान्यता २०२२ सम्मका लागि भनिएको थियो । तर, कोभिड १९ महामारीका कारण खेलहरु प्रभावित भएर विश्वकप लिग २ का खेलहरु नसकिएपछि यी खेलहरु पूरा नहुँदासम्मका लागि यो मान्यता कायमै थियो । अब आजको जितसँगै नेपालको यो मान्यता २०२७ को विश्वकप छनोटसम्मका लागि कायम रहनेछ ।
विश्वकप लिग २ मा कूल ७ टोलीहरु छन् । यीमध्ये शीर्ष ५ टोलीको एकदिवसीय मान्यता कायम रहन्छ । आजको जितपछि नेपाल ३६ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । र, अब बाँकी खेलको नतिजा जेसुकै आए पनि नेपाल चौथो स्थानबाट तल झर्ने सम्भावना छैन बरु नेपाल अझै माथि चढ्ने सम्भावना भने छ । त्यसैले नेपालको एकदिवसीय मान्यता सुरक्षित भएको छ ।
यससँगै नेपाल २०२३ को विश्वकपका लागि सोझै ग्लोबल छनोटमा जाने सम्भावना पनि कायमै छ । नेपालले अझै २ खेल खेल्न बाँकी छ । यी खेल युएइ र पपुआ न्यू गिनीसँग खेल्नुपर्नेछ । यी २ खेल जित्न सकेमा नेपाल नामिबियालाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा पुग्नेछ । यो लिगका शीर्ष ३ टोली सोझै विश्वकपको छनोट पुग्नेछन् ।
विश्वकप लिग २ को अंक तालिकामा स्कटल्याण्ड ५० अंकसहित शीर्षमा छ । ओमन ४४ अंकसहित दोस्रो स्थानमा छ । यी २ टिमलाई अरु कसैले उछिन्ने सम्भावना बाँकी नभएकोले दुवै विश्वकप छनोट पुगिसकेका छन् । ३९ अंकसहित तेस्रो स्थानमा रहेको नामिबियालाई भने नेपालले उछिन्न सक्छ । नेपालको ३६ अंक छ र २ खेल खेल्न बाँकी छ । नेपालले बाँकी २ खेल जितेमा ४० अंकसहित तेस्रो हुँदै जिम्बाब्बेमा हुने विश्वकप छनोट खेल्न जानेछ ।
Facebook Comment