देउडा नायिकाका रूपमा उदाउँदै किशोरी विपना
कर्णाली। देउडा कर्णाली तथा सुदूरपश्चिमको प्रख्यात लयात्मक गीत र नाच मिश्रित खेल हो। मध्य तथा सुदूरपश्चिम नेपालको सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको देउडा यहाँका हरेक नागरिकको मनमस्तिष्कमा कैद भएको छ भने जनजिब्रोमा पनि आइरहन्छ।
नागरिकको समग्र पक्षका विषयमा व्यक्त हुने भावना र अभिव्यक्तिले देउडामा कर्णाली र सुदूरपश्चिमको जीवन गवाही हुन्छ। गीत र नाचबाटै नागरिकको जीवनका बारेमा यथार्थ चित्रण गर्ने यसले सङ्गीत भने बोकेको पाइँदैन। यसमा सङ्गीतको भूमिका गौण नै रहन्छ। सङ्गीतविना नै देउडा मस्कीमस्की (शरीर दायाँबायाँ ढल्काउँदै) पाइला (गोडा) मिलाएर खेलिन्छ।
मूलतः शुभकार्य जस्तो, जन्मोत्सव, विवाह, व्रतबन्ध, मेलापर्व, पैठ, महोत्सवका अवसरमा देउडा गाइने गरिन्छ। यसमा मायाप्रीति, सुखदुःख, हाँसो, आँसु, पीडा वेदनाका गीत बढी गाइन्छन्। त्यसका साथै आर्थिक, राजनीति, भ्रष्टाचार, सामाजिक विकृति, कुप्रथा, विभेद, सुशासनलगायतका गीत देउडामा गाउने गरिन्छ।
पछिल्लो समयमा गाउँगाउँसम्म भित्रिएको आधुनिक गीतसङ्गीतका अगाडि परम्परागतरूपमा खेलिने देउडा खतराउन्मुख अवस्थामा पुगेको छ। यद्यपि नयाँपुस्ताले पनि यसलाई पछ्याउन थालेका छन्। लोकदोहोरी जस्तै सवाल र जवाफमा आधारित देउडा खेलमा पनि शीघ्र जवाफ दिनसक्ने तर्कशक्ति आवश्यक हुन्छ।
यस्ता तर्कशक्ति प्रस्तुत गर्न कला क्षेत्रमा ठूलो सानो व्यक्ति भन्ने हुँदैन। करिब तीन वर्षदेखि जगन्नाथ गाउँपालिका–४ बाजुराकी १९ वर्षीय विपना भण्डारीले किशोरी अवस्थामै देउडा खेलेर आफ्नो क्षमता प्रदर्शन गर्दै आएकी छन्। बाजुरा, हुम्ला, मुगु, कालीकोट र जुम्लाका विभिन्न ठाउँमा पुगेर उनले आफ्नो कला प्रदर्शन गरिसकेकी छन्।
आमा साउनी र बुबा जयबहादुर भण्डारीको माइली छोरीका रूपमा विपनाको विसं २०६० वैशाख ११ गते बाजुराको नाराकोट गाउँमा जन्म भएको थियो। उनीसहित परिवारमा पाँच बहिनी छन्। आमा भए पनि पाँच वर्षअघि विपनाको बुबाको देहवासन भएको थियो। बुबा देउडा खेलाडी भएकाले आफू त्यसबाट प्रभावित भएर यो क्षेत्र समातेको भण्डारीले बताइन्।
“मैले पहिलो पटक नववर्ष २०७७ को विसु (विश्वाँ पर्व)को दिनमा देउडा खेल सुरु गरेँ”, भण्डारीले भनिन्, “त्यसपछि मेरो यात्रा निर्वाध अगाडि बढेको छ। अहिलेसम्म पाँच जिल्लामा गरेर करिब ३५ देउडा खेलमा सहभागी भइसकेँ। सबैभन्दा बढी कालीकोटमा खेल्ने मौका पाइयो।” बाबुसरहको मान्छेदेखि सबै तहका व्यक्तिसँग देउडा खेल्दै आएको बताएकी उनले यो पेसा अँगालेदेखि आलोचना र प्रशंसा दुवै प्राप्त गरेको जनाइन्।
उनले आलोचना गर्ने, कुरा काट्नेहरूसँग धेरै सरोकार नराखेर अगाडि बढेको र देउडाले मध्य तथा सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र संरक्षण गर्दै आएकाले पढाइका साथ यसैलाई नै निरन्तरता दिँदै यात्रा अगाडि बढाउने विचार व्यक्त गरिन्। भण्डारीले भनिन्, “देउडा खेलेर मैले संस्कृतिको संरक्षण गरेको छु। यो पुस्तान्तरण हुन जरुरी छ। यसमा नयाँ पुस्ता जागरुक हुनुपर्दछ।”
आधुनिकताका नाम हाम्रो संस्कृति, सभ्यता, भाषा बिर्संदै जाने हो भने यहाँको पहिचान र अस्तित्व गुम्दै जाने उनको भनाइ छ। उनका अनुसार देउडा मायाप्रीतिमा मात्र सीमित नराखी समाजको वास्तविकता र सत्यतालाई खास शैलीमा मिठासपूर्ण हुने गरी दर्शक स्रोतमाझ पस्किने भएकाले यसको महत्त्व एवं आकर्षण बढ्दै गएको छ।
विपनाको प्रतिभाले देउडा पारखीलाई लोभ्याउने गरेको छ। उनी किशोरी अवस्थामै देउडा गायिका मात्र होइन, नायिकाको भूमिकामा समेत उदाएकी छन्। सोह्र वर्षको उमेरदेखि देउडा क्षेत्रमा लागेकी उनलाई पछिल्ला दिनमा धेरैले देउडा खेलाडीका रूपमा विभिन्न शुभ अवसरमा शुल्क दिएर बोलाउँदै आएका छन्।
मागअनुसार देउडा नायिकाका रूपमा सहभागी हुँदा उहाँले रु ४० देखि ५० हजारसम्म रकम लिने गर्दै आउनुभएको छ । समय सन्दर्भअनुसार भाषाशैली मिलाएर जस्तोसुकै परिस्थितिमा भिज्नसक्ने क्षमता बनाएकी उनलाई सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लावासीले जन्मोत्सव, विवाह, व्रतबन्धजस्ता शुभकार्यको अवसरमा बोलाउने गर्दछन्।
अनुकूल परिस्थितिअनुसार बोलाएको ठाउँमा जाने गरेको उनले बताइन्। महिलासँग पनि देउडा खेल्दै आएका बताउँदै भण्डारीले अधिकतम पुरुष समूहसँग देउडा खेलमा सहभागी हुने गरेको उनको भनाइ छ।
यसपटक तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँमा यही फागुन २६–२८ गतेसम्म भएको मानबहादुर सिंहको भाइबुहारीको विवाहमा आफ्नो कलात्मक खेल देखाएर फर्केको देउडा खेलाडी स्थानीय जीतबहादुर सिंहले बताए। विपना श्री कैलाश मावि बाजुरामा कक्षा १२ मा अध्ययन गर्दै आएकी छन्।
Facebook Comment