कथा : धुलीटावर

खेमराज पोखरेल
४ चैत २०७९ ८:३७

ऊ श्रीमतीसँग नाटक हेर्न नाट्यशाला पुगेको छ। नाटकघरको भित्तामा ठूलो डिजिटल बोर्ड छ। सो बोर्डमा कलात्मक ढङ्गले नाटकको नाम ‘धूलीटावर’ लेखिएको छ। हलभित्र प्रवेश गरेपछि देखिन्छ कि स्टेजमा पर्दा बन्द छ। शनैशनै पर्दा खुल्न थाल्छ ।

दृश्य एक :

पर्दामा एउटा ६० तलाको हाइराइज बिल्डिङ देखिन्छ। टावरको छतबाट एउटा मानव आकृति तल भुईँतिर हेर्दैछ। सहर मात्र होइन, बडेम्माको समुद्रमा सूर्य उदाउँदै गरेको दृश्य पनि देखिँदैछ। जलक्रीडामा निस्केका चढ्दो वयका जोडीको मनोरम दृश्य पनि देख्दैछ।

समुद्रको बीचमा अर्धनग्न किसोरकिसोरीहरू बालुवामा पल्टेको पनि देख्छ। बोस्टन सहरनै जङ्गलभित्र देख्छ। समुद्र माथि बनाइएको बोस्टन एयरपोर्टमा चिलगाडी आउने/जाने दृश्य पनि देख्छ।

अलि परका पाखाहरूमा हिँउ परेकाले सूर्योदयसँगै टल्किएको सेताम्य दृश्य पनि देख्छ। त्यो मानव आकृतिमा प्रकाश पारिन्छ। दर्शकले देख्छन् कि त्यो मान्छे जुँघामा ताउ लगाउँदै छ।

नेपथ्यबाट मधुर सङ्गीतका साथमा त्यो मानव आकृतिका बारेमा परिचय गराइँदै छ-उसको नाम हरिहर उपाध्याय हो। पुख्र्यौली घर नेपालको ताप्लेजुङ हो। पढ्नमा बिच्छी। बालबिहे गरेको। पढ्न आउने बेला श्रीमती लिएर अमेरिका छिर्ने सौभाग्यशाली।

बाबुबाजेले कुलपुर्खाको नाम उचा भएको महसुस गरेका। छोराछोरी नेपाली अनुहारका जन्मजात अमेरिकन हुन्। उसले यो टावरको ६० औँ तलाको एउटा फ्ल्याट किनेर जिन्दगी चलाउँदै छ। यसबापत उसले कति मानसिक र भौतिक सङ्घर्ष गरेको छ, पीडा खेपेको छ भन्ने बारेमा उसैलाई थाहा छ।

दर्शकले देखिरहेका छन् कि टावरको छतमा एक जना महिलाको आगमन हुन्छ। प्रकाशको सहायतामा ती दुई जोईपोइ हुन् भन्ने ठम्याउन दर्शकलाई गाह्रो पर्दैन।

त्यो मान्छे महिलालाई भन्छ-श्रीमती सरस्वतीजी! यहाँबाट तल हेर त। सडकका मान्छे कस्ता पुड्का लाग्छन्। कमिला हिँडेजस्ता देखिन्छन्। सहरका यी घरहरू त हाम्रो नेपालको दाउरा राख्ने कटेरोजस्ता झुप्रा लाग्ने रहेछन्।

दर्शकले देख्छन् कि श्रीमती सरस्वती मुस्कुराइरहेकी छिन्। मधुर म्युजिक बजिरहेको छ। श्रीमती सरस्वतीले दर्शकले सुन्ने गरी भन्छिन्, ‘अहिले पो ६० तलामा हुनुहुन्छ र तलका मान्छे बामपुड्के लाग्छन्।

हामी पनि लिफ्टबाट झरेर फेरि भुईँमै पुग्नु पर्छ। त्यो बेला माथ्लो तलामा बसेका मान्छेका नजरमा हामी फेरि बामपुड्के भइहाल्छौँ नि। त्यसैले उक्लनु भनेको ओर्लनु पनि हो। उकालीओह्राली हाम्रा जिन्दगी हुन्।

यसपछि श्रीमती सरस्वती उसको कानैमा गएर साउती मार्छिन्। त्यो कुरा दर्शकले सुन्दैनन्। तर यसपछि ऊ मोबाइलमा डायल गर्छ-…………… ।
हजुर म हरिहर अमेरिकाबाट।
……………. ।

म हरिहर के । हजुरको जेठो छोरा।

………………… ।
कति दिन भयो आमालाई आइसीयूमा राखेको?
…………… ।

चिन्ता नगर्नु म पैसा पठाइदिन्छु।
……………. ।

पैसाले उपचार गराउनु न। अहिले कामले गर्दा छुट्टी पाउँदिनँ। छुट्टी मिलेपछि आउँछु।

उसको आँखा रसाएको छ। श्रीमती सरस्वती उसको टाउको सुम्सुम्याइरहेकी छिन्। एकै छिनपछि फोनको घण्टी बज्छ । श्रीमती सरस्वतीले उठाउँछिन्।
………………… ।
लौ न। भर्खर बुबासँग कुरा भएको थियो आमालाई आईसीयूमा राखेको। कत्ति छिट्टै? सधैँ जेठाजेठा भन्नुहुन्थ्यो। लेखान्त यत्ति रहेछ। आमाको आत्माले शान्ति पाओस्।

पर्दा खस्छ ।

दृश्य दुई :

पर्दा खुल्छ।
उसको त्यो फ्लाटको एउटा कोठा वैज्ञानिक ल्याव जस्तो देखिन्छ। कोठामा अन्तरिक्षका दुर्लभ तस्बिरहरू टाँगिएको देखिन्छ। कम्प्युटर तथा स्क्रिन नै कोठाभरि जडित छन्। पुरस्कार तथा प्रशंसापत्र भित्ताभरि टाँगिएका छन्।

ती कुराले ऊ यो संसारको निकै महत्त्वपूर्ण मान्छे हो भन्ने कुरा बुझाउँछ। विश्वका प्रचलित मान्छेको नामलाई मानक बनाएर हेर्‍याे  भने पनि ऊ फेच्चा होइन भन्ने बोध हुन्छ।

ऊ यति बेला आफ्नै घरको ल्यावबाट आजको काम सकेर उठ्यो। घडीले रातको १२ बजेको देखाइरहेछ। झ्यालबाट एक चित्तले बाहिरी संसार हेर्न थाल्यो।

वातावरण अनुकुलित कोठामा सुतेकी श्रीमतीका श्वेत तिघ्रा नाइटगाउनबाट बाहिर निस्केर हावा खाँदैगरेका देखिन्छन्। नाइटी मिलाइ दिन्छ। किनकिन श्रीमतीलाई चलाउँदैन र फेरि फर्कन्छ ल्याव रुममा। झ्यालबाट बाहिर हेर्न थाल्छ।

नेपथ्यमा भनिँदै छ-हेर्नुहोस् दर्शकवृन्द, यसरी मध्यरातमा सुतेको बोस्टनलाई आफ्नै कोठाको झ्यालबाट हेर्नथालेको महिनौँ भएको छ। ऊ अचेल मौका पाउनासाथ निमग्न भएर बाहिरका अग्ला र होचा घरहरू हेरिरहन्छ। किनभने यो फ्ल्याट उसको जीवनभरिको प्रयत्न, इच्छा तथा भाग्यको पराकाष्टा हो। भविष्यको सहारा हो।

ऊ श्रीमती सुतेको कोठामा पुगेको देखिन्छ। उसलाई त्यो मध्य रातमा श्रीमतीको तलतल लागेको हुनसक्छ। उसकी श्रीमती सरस्वती मस्त निदाएकी छिन्। घुराइले कोठामा बाघ कराएको जस्तो आवाज आइरहेको सुनिन्छ।

वातावरण अनुकुलित कोठामा सुतेकी श्रीमतीका श्वेत तिघ्रा नाइटगाउनबाट बाहिर निस्केर हावा खाँदैगरेका देखिन्छन्। नाइटी मिलाइ दिन्छ। किनकिन श्रीमतीलाई चलाउँदैन र फेरि फर्कन्छ ल्याव रुममा। झ्यालबाट बाहिर हेर्न थाल्छ।

नेपथ्यले अवस्थालाई अथ्र्याइरहन्छ-उसको मन तथा दिमाग श्रीमती सरस्वतीमा पुगेको छ। श्रीमतीको माया उर्लेर आएको छ।

क्यामरा र स्पिकर लिएर एक हुल दृश्य पत्रकार ऊसँग अन्तरवार्ता लिन पसेको देखिन्छ। टेबुलको वारिपारि बसेका छने पत्रकार र ऊ। टेबुलमा पानीका बोतलहरू छन्।

पत्रकार प्रश्न सोध्न थाल्छ, ‘आज निजी र व्यक्तिगत प्रश्न सोध्छु, कृपा गरेर सहीतथ्य बताउनु होला।’

‘हस् ।’

‘आफ्नो श्रीमतीको बारेमा बताउनुहोस् न।’

‘इलाम माईपोखरीका प्रख्यात ज्योतिषी करुणनिधि पाध्येकी नातिनी तथा पूर्वीय दर्शनका धुरन्धर ज्ञाता श्रीनिधि पाध्येकी छोरी हुन् सरस्वती। छोरीलाई पढाउन हुन्न भन्ने मान्यताका प्रवल अगुवा भएकाले नाम सरस्वती राखेको भए पनि निरक्षर थिइन् सरस्वती।रजस्वलाभन्दा पहिले नै बिहे गरेर धर्म लुट्ने पूर्वीय ज्ञानका चिन्तक भएकाले सरस्वतीको बिहे १० वर्षको उमेरमा मसँग भयो। हाम्रो परिवार पनि पूर्वीय ज्ञानमा पोख्त थियो। मेरो परिवार त्यो पाध्ये परिवारको कुलखान्दानलाई गुमाउन चाहन्न्थ्यो। त्यसैले म ६ कक्षामा पढ्दापढ्दै मेरो बिहे सरस्वतीसँग भयो। म दार्जिलिङमा पढ्थेँ। दुई वर्ष माइती बसेर सरस्वतीको दुरान फर्कियो। अर्थात ऊ मेरो घरलाई आफ्नो घर बनाउन आई। एक प्रकारले ऊ मालिक्नी भई। किनभने हली, गोठाला, अधियार तथा सारा गरिब गाउले सरस्वतीलाई मालिक्नी भन्थे। तर खासमा ऊ बिनापैसाकी नोकर्नी थिई। तर उसलाई जीवनका प्रति कुनै आरोहअबरोहवाला चेत पनि थिएन, गुनासो पनि थिएन। म १६ वर्ष तथा ऊ १४ वर्षको हुँदा छोरो जन्म्यो। त्यसको दुई वर्षपछि छोरी जन्मी। मैले १८ वर्षको हुँदा आइएस्सी पास गरेँ। र, अमेरिका हानिएँ। सरस्वती घरमै भकारा सोहोरेर बसी। ऊसँग उपाय पनि थिएन। उपाय खोज्ने चेतमा पनि थिइन।’

‘……………………………..’

‘एकपल्ट म अमेरिकाबाट घर पुगेको थिएँ फुङलिङ। सरस्वतीमाथि बुहार्तन कडा थियो। उसको रूपरङ फुस्रेको थियो। छोराछोरी रालेसिँगाने थिए। अमेरिका केही कुरा देखेर नेपाल पुगेको हुनाले मैले तिनीहरूको उद्धार गर्ने विचार गरेँ र सरस्वतीसहित छोराछोरी बोकेर अमेरिका छिरेँ। सरस्वतीलाई त फुङलिङ बस्न पनि कुनै आपत्ति थिएन। अमेरिका आउँदा पनि बाबै के हो ? कसो हो ? भनेर सोधिनन्। मैले केही सोधेँ भने भन्थी-म त हजुरको छायाँ हुँ। छायाँले शरीरसँग सोध्छ र? त्यसैले ऊ मस्त सुत्छे। मस्त खान्छे। मान्छेलाई मान्छेजस्तो माया गर्छे। खाए नखाएको हेक्का राख्छे। आफन्त परिवार इस्टमित्र तथा नेपालको परिवारसँगको सम्बन्ध उसैले धानेकी छे।

‘………………………….’

‘म खान पनि सक्दिनँ। सुत्न पनि सक्दिनँ। मान्छेको मान्छेत्वको गफ पनि मलाई आउँदैन। त्यसैले म वरिपरिका मान्छे मलाई वैज्ञानिक भन्छन्। मान्छे भन्दैनन्। मान्छेका नजरमा म मान्छे होइन। किन भने म ल्यावसँग खेल्छु। मान्छे मेरो रोजाइ होइन। टोक्नु न बोक्नुको छु रे म । न देशलाई काम लागेँ रे। न आफन्तलाई काम लागेँ रे।’

एक्कासी उसको फोन बज्छ। पत्रकार बाहिर निस्कन्छन्।

ऊ फोन उठाएर भन्छ-हेलो! काका ढोग गरेँ।

फोनको स्पिकरबाट आवाज सुनिन्छ, ‘आशीर्वाद छ जेठा।’

एक छिन भलाकुसारी हुन्छ। त्यसपछि स्पिकरले भन्छ, ‘यहाँ तेरी साइँली काकीलाई दम्माले सिकिस्त बनायो। विराटनगरसम्म लैजान पाए बाँच्थिी कि। अलिकति खर्च पो अपुग भयो। दिन्थिस् कि भनेर फोन गरेको।’

उसले फोनमा के जबाफ दियो दर्शकले सुनेनन्। तर साहिँला काकाले भनेको कुरा मोबाइलको स्पिकरले भन्दै थियो, ‘जेठा ! तैले अमेरिकामा पनि हगेरै सकिछस्। हामी नेपालमा पनि हगेरै सक्छौं। तँ र हामीमा के फरक रहेछ र? बरु हामी पो देउता, पितृ, जोगी सन्यासी, आसेपासे सबैलाई दिएर बाँचिरहेका छौँ।

फोनको आवाज सुनेर श्रीमती सरस्वती उठेकी छिन् र उसलाई भन्छिन्, ‘कसको फोन हो यो मध्य रातमा?

‘नेपालबाट त हो नि। नेपालका मान्छेलाई समयको के ख्याल हुन्छ र? नेपालका मान्छेले पैसा माग्न त जानेका छन् नि। अमेरिकामा डलरको बोट छ भनेझैँ गर्छन्। साइँला काकाले फोन गरेका थिए नि।’

श्रीमती सरस्वती भन्छिन्, ‘सरसापट, अर्मपर्म आफन्तबाटै चलाउने त हो। भए दिने, नभए नदिने। झर्कोफर्को पो किन गर्नु र? बरु अब त सुत्नु न हौ। मरेका भोलिपल्ट दुई दिन हुन्छ । मर्दा साथमा केही लगिन्न। संसार जितेर जितिने कुरा होइन।

उसले जबाफ फर्काउँछ-तिमीलाई के थाहा? कि संसार ज्ञानले खान्छ, कि धनले। भयो जाऊ तिमी सुत। म अझै केही काम गर्छु।
पर्दा खस्छ।

दृश्य तीन :

पर्दा उघ्रिन्छ ।

ऊ आफ्नै ल्याबमा धुमधुम्ती बसेको छ। प्रकाशले देखाउँछ कि श्रीमती सरस्वती कफी लिएर आइन् र भनिन्, ‘लु कफी पिउनुहोस्। खुसीको खबर छ आज। छोराले १२ कक्षाको रिजल्टमा ए प्लस ल्याएछ। छोरीले पनि १० को परीक्षामा राम्रो गरेर पुरस्कार बोकेर आएकी छे। तपाईँलाई त फुर्सद भए पो हेर्नका लागि।’

‘आखिर छोराछोरी मेरा त हुन् नि। बाबुको बिडो थामिहाल्छन् नि।’

‘यो लोग्नेमान्छेको जातै नहुने। छोराछोरीले बदमासी गरे भने आमाको दोष, सप्रे भने बाउको नाम। तपाईँले एक्लै पाएको हो कि क्याहो?’

दुवै मजाले हाँस्छन् ।

उसले श्रीमती सरस्वतीलाई तानेर काखमा राख्छ र भन्छ, ‘तिमी जे भन। तर हाम्रा छोराछोरी निकै गतिला निस्के। पढाइ, बोलीचाली, व्यवहार सबैमा निपूर्ण देख्छु। हाम्रो भविष्य सुरक्षित देख्छु म त।’

श्रीमती सरस्वती काखबाट बाहिर निस्केर भन्छिन्, ‘भविष्य कसले देखेको छ र ? परिवेशले कसको मनमा के परिवर्तन आउँछ के थाहा?’

सुत्न कोठातिर लाग्छन्।
पर्दा खस्छ ।

दृश्य ४ :

पर्दा खुल्छ।

उही ल्याव कोठा देखिन्छ स्टेजमा। ऊ कम्प्युटरमा तन्मयका साथ काम गरिरहेको छ। ढोकामा कसैले ढकढक गरिरहेको छ।

उसले प्रश्न गर्छ, ‘हु इज दिस? आई एम बिजी।’

उत्तर आउँछ, ‘ड्याड, दिस इज मी।’

उसले ढोका खोल्छ। छोरो जेसिकाको हातै समाएर सँघारमा उभिन्छ र भन्छ, ‘ड्याड! आजबाट म १८ वर्षको भएँ। तपाईँको घर छोडेर जाँदैछु।’
ऊ बोल्छ, ‘……………’

तर दर्शकले सुन्दैनन्।

छोराको उत्तर आउँछ, ‘यसै पनि मेरी गर्लफ्रेन्ड जेसिकालाई यहाँ ल्याएर राख्ने अनुमति थिएन मलाई। किनकि यो तपाईँहरूको घर हो। यहाँ तपाईँको हुकुम चल्छ। अब म बाहिर निस्केर आफ्नो भविष्य आफैँ बनाउँछु। जेसिका र म मिलेर एउटा एपार्टमेन्ट लिएका छौँ।’

उसले ट्वाल्ल परेर छोरालाई हेरिरहेको देखिन्छ। बाबुले ट्वाल्ल परेर हेरेको हुनाले छोरो भन्दैछ, ‘डन्ट वरी ड्याड, कुनै कुनै विकेन्डमा जेसिका र म तपाईहरूलाई भेट्न आइहाल्छौँ नि।’

यस्तैमा श्रीमती सरस्वतीको प्रवेश हुन्छ। कुरा बुझेपछि भन्छिन्, ‘बाबु! यो घर छोडेर कसरी जान सक्छौ तिमी ? तिमी हाम्रो भविष्यको साहारा हौ।’
छोराले भन्छ, ‘क्या सेन्टी कुरा गर्नु हुन्छ मम? यो तपाईँहरूको घर हो। सम्पत्ति हो। आफ्नो मर्जी गर्नू। मैले पनि त आफ्नो घर बनाउनु पर्छ नि। सधैँ तपाईँहरूकै घरमा बस्न कसरी सक्छु म?’

छोरोले जेसिकाको हात समाएर गाडीमा राखी हुइँकिएको दृश्य देखिन्छ। दुई दम्पती परसम्म हेरिरहेका छन्।

उसले पिर मानेको देखेर श्रीमती स्वरस्वती भन्छिन्, ‘मरेको होइन, सडेको होइन। आफैँ गरिखान्छु भनेर हिँडेको छोराको के पिर गर्नु? आफ्नो जीवन के गर्दा राम्रो हुन्छ भन्ने कुरा उसलाई राम्रोसँग थाहा छ।’

दुवै जोईपोइ ट्वाल्ल परेर हेरिरहन्छन्। ऊ भन्छ, ‘उसले आफ्नो मात्र होइन, हाम्रोसमेत भविष्य बिगार्‍याे।’

श्रीमती सरस्ततीले जबाफ दिन्छिन्, ‘जिन्दगीलाई त्यसरी सोच्नु हुन्न हामीले। हामीले पनि त नेपालमा बूढा भएका बाबुआमालाई छोडेर यहाँ आएका हौँ र यो आफ्नै सृष्टि गरेका हौं। बाबुआमालाई पनि हामी बुढेसकालको सहारा नभएकोमा पीडा त होला नि ?’

पर्दा खस्छ।

दृश्य ५ :

पर्दा खुल्छ ।

एउटा रेस्टुरेन्ट। रातको समय। उसको वैज्ञानिक साथी केलर र ऊ कुर्सीमा आमनेसामने बसेका छन्। क्वीन्स मार्केटको रात्रीक्लवमा मधुरा र रङ्गिन बत्तीहरू झिलिकमिलिक गरेको देखिन्छ। साउन्ड प्रुफ भए पनि झ्यालका कापकापबाट मधुरा तथा चर्का आवाजहरू आइरहेका छन्।

नेपथ्यबाट अथ्र्याइँदैछ-छोराको कृत्यबाट रन्थनिएर रेस्टुरेन्ट पुगेको छ ऊ। उसलाई आज मातिन मन छ। अक्सर ऊ कामको च्यापाच्याप भयो भने साथी केलरलाई लिएर यही रेस्टुरेन्टमा पुग्छ। मातिन्छ।

ऊ केलरलाई भन्छ, ‘केलर! आज म मुडअफ छु। मेरो छोरोले घर छोडेर हिँड्यो। बनीबनाउ भविष्य बर्बाद पार्‍याे।’

केलर बेस्सरी हाँस्छ। र, भन्छ, ‘तिम्रो छोरो गजबको रहेछ। कम्तीमा १८ वर्ष हुनेबित्तिकै तिम्रो घर छोडिदियो। ऊ आफ्नो जीवन बाँच्छ अब । तिमी आफ्नो जीवन बाँच न। केको चिन्ता?

उसले भन्यो, ‘होइन नि। हाम्रो संस्कृतिमा संयुक्त परिवारको अवधारणा छ। हामी टाढा भए पनि एउटै परिवारका मान्दछौँ। छोराले दूरी बनाएर हिँड्यो।’

केलरले झन् विश्मयका साथ भन्छ, ‘अरे यार! तिमी पूर्वीयाहरूको यही कुरा नहुने। स्वास्नी, छोराछोरी, आफन्तमा जीवन खोज्छौ। ती भन्नु त जीवनका धराप हुन्। हो त्यही धरापमा भविष्यलाई राख्छौ। यसरी बुझ न।

स्वास्नी, छोराछोरी तथा आफन्त भन्नु जीवनको एउटा अनुभव मात्र हो। जीवनको सार होइन। स्वार्थ मिलुन्जेल ती तिम्रा हुन्। स्वार्थ मिल्न छोडेपछि तिनले तिमीलाई छोडेर हिँड्छन्।

तिमीले छोडेर हिँड्छौ। बाँच्नु एक्लै पर्छ। रातरातभर नसुतेर ज्यानलाई दुःख दिनुभन्दा बरु आफूलाई नै पूर्ण ठान्ने चिन्तन गर्यौ भने जीवन सुन्दर बन्छ। बरु एक पेग स्वाँट्ट ह्विस्की लगाऊ। केही घण्टा मात्र भए पनि अलौकिक जीवनमा पुग्छौ।
पर्दा खस्छ।

दृश्य ६ :

पर्दा उघ्रिन्छ ।

रातको ११ बजेको देखाइ रहेको छ डिजिटल घडीले। बेड रुममा ऊ र सरस्वती ढल्केका छन्। ऊ जुरुक्क उठ्छ र झ्यालबाट क्वीन्स मार्केटको गतिविधि हेर्न थाल्छ। क्वीन्स मार्केटमा आहोरदोहोर गर्ने मान्छे पनि तल भुईँमा मुसाझैँ यताउता गरेको लिलिपुटियन दृश्य देखिन्छ।

छोरीको आफ्नै कोठामा मधुरो बत्ती बलेको ढोकाको कापबाट देखिन्छ। तर भित्रबाट कुनै आवाज आएको छैन। सायद छोरी कानमा माइक्रो फोन घुसारेर कुनै अङ्ग्रेजी सिनेमा हेर्दै गरेकी पनि हुन सक्छे।

ऊ यस्तै सोच्छ। र श्रीमतीलाई भन्छ, ‘श्रीमती सरस्वती ! जीवन झन् बुझ्यो झन् कठिन, झन् बुझ्यो झन् धेरै कठिन भएको अनुभूत भइरहेको छ मलाई। किन अडबाङ्गे छ यो संसार?’

श्रीमती सरस्वती भन्छिन्, ’मान्छेको सोचाइ अडबाङ्गे हो । भौतिक वस्तु अडबाङ्गे हुने कुरा भएन। मान्छेका मनमा आवश्यकअनावश्यक कुरा आइदिन्छन्। फलस्वरूप मान्छेले संसारलाई अडबाङ्गे देख्न थाल्छ।

ऊ भन्छ, ‘मुटुको टुक्राझैँ छोरालाई हुर्कायौँ। अहिले उसले छोडेर गयो। तिम्रो हृदय टुक्रिएको छैन?’

‘आफ्ना सन्तानले छोडेर हिँड्दा कुन आमाको हृदय टुक्रिँदैन होला र? तर समय हो नि। अब भैगो नि त। छोरी छे। छोरी लाइनकी छे। आखिर छोरा छोरी दुवै भविष्यका आधार हुन् साहारा हुन्। होइन?’

बत्ती निभ्छ ।

पर्दा खस्छ ।

दृश्य ७ :

पर्दा खुल्छ।

सिँगारिएको बैठक कोठा। छोरीको अठारौँ जन्मदिनको तयारीको भव्य दृश्य छ। छोरीका आफ्ना साथीहरू भेला भएका छन्। खानपीन गरेर रमाइलोसँग जन्मदिन मनाउँदै छन्।

छोरी एक जना चाइनिज देखिने केटाको हात समाएर बैठक कोठामा पस्छिन् र सबैको उपस्थितिमा उद्घोषण गरेजस्तो पारामा भन्छिन्, ‘डियर प्यारेन्टस्, रिलेटिभ्स्, फ्रेन्ड्स एन्ड लेडिज एन्ड जेन्टिलम्यान।

आजदेखि मैले १८ वर्षको बाल्य उमेर पार गरेँ। अब म बालिग भएँ। यो मेरो जियाङ हो। मेरो ब्याइफ्रेन्ड हो। हामी भोलिदेखि आफ्नै घरमा बस्छौँ । यो क्षणलाई थप खुसीका साथ मनाऔँ।’
‘चियर्स……..।’

आमाबाबुबाहेक सबैले चियर्स गरेर खुसी मनाउँछन्। तर आमाबाबुको अनुहारमा बादल लागेको जस्तो छ। आमाले छोरीको हात समातेर कोठाभित्र लैजान्छिन् र छोरीलाई भन्छिन्, ‘त्यो चाइनिजसँग तेरो जीवन चल्छ?’

छोरीले हतारहतार उत्तर दिन्छिन्, ‘अरे मम! कत्रो टेन्सन लिनुहुन्छ ? चले चल्छ, न चले चल्दैन। फेरि अर्को पाइहालिन्छ नि । के चिन्ता भयो र?’
आमाले भनिन्, ‘तेरो दाइले घर छोडिहाल्यो। तेरो बिहे कुनै नेपाली केटासँग गरिदिउँला। यही घरमा बस्लिस् भन्ने थियो।’

छोरीले जबाफ दिइन्, ‘होइन तपाईँहरूलाई किन चाहियो हँ नेपाली? तपाईँले खेपेका कहरहरू मैले सुनेकी छु। म तपाईँजस्तो पति परमेश्वरवाला सिद्धान्त मान्दिनँ नि। मैले पनि त तपाईँहरूलाई भनेकै हो नि जियाङलाई पनि यही घरमा राख्छु भनेर। मान्नु भएन। तपाईँहरूको घर हो। मर्जी गर्नुस्। हामी छुट्टै आफ्नै घरसंसार निर्माण गर्छौँ। तपाईँहरू आफ्नो जिन्दगीको चिन्ता गर्नुस्। म अब बालिग भइसकेकी छु। खराब असल छुट्याउन सक्ने भएकी छु ।’

पर्दा खस्छ।

दृश्य ८ :

पर्दा उघ्रिन्छ ।

रातको समय। आकाश छ्याङ्ङ छ। ताराहरू आफ्नै गतिमा हिँडेका छन्। टावरको छतमा ऊ टेन्सनले यताउति गरिरहेको देखिन्छ। चुरोट तान्दै फ्याक्दै गरिरहेको छ। अग्लो टावरमा त्यो चुरोटको धुवाँ चिम्नीबाट निस्केको मुस्तोजस्तो देखिन्छ। एउटा चुरोट सकिन्छ। फेरि अर्को सल्काउँछ।

यत्तिकैमा त्यही छतमा एक महिला आकृति र एक पुरुष आकृति देखिन्छन्। प्रकाशमा आएपछि महिला उही श्रीमती सरस्वती रहेको देख्छन् दर्शकले। श्रीमतीलाई देखेपछि ऊ हत्त न पत्त चुरोटलाई कच्याककुचुक पार्छ र चुरोटदानीमा फाल्छ। अनि भन्छ, ‘आज ४ दिनदेखि तिमी कहाँ गयौ प्रिया? फोन सम्पर्क पनि भएन।’

श्रीमती सरस्वतीले जबाफ दिइन्, ‘मलाई माफ गर्नु होला। म तपार्इँकै साथी केलरसँग डेटिङ गएकी थिएँ। अब म तपाईँसँग बस्तिनँ। केलर र म सँगै बस्छौँ। ऊसँग मेरा लागि दिने पनि समय छ।’

ऊ अत्यन्त चिन्तित भएर भन्छ, ‘किन र प्रिया? मबाट के भुल भयो?’

श्रीमती सरस्वती भन्छिन्, ‘सधैँ तपाईँको इसारामा जीवन चलाएँ। तपाईँको सहायक मात्र भएँ। तर तपाईँले मेरो कुरा कहिल्यै बुझ्नु भएन। मेरो अस्तित्व कहिल्यै स्वीकार्नु भएन। श्रीमतीलाई अरू धेरै कुरा चाहिन्छ। समाजले बनाएको सामाजिक बन्धनबाट मैले मुक्ति चाहेँ। मैले आफ्नो स्वतन्त्रता चाहेँ।’

ऊ केही बोल्दैन। श्रीमती सरस्वतीले एउटा कागज दिन्छिन् र भन्छिन्, ‘यो डिभोर्स पेपर हो। तपाईँ पनि आफ्नो जीवन बाँच्नोस्। म पनि आफ्नो जीवन बाँच्छु।’

यत्तिकैमा केलर प्रकाशमा देखिन्छ र श्रीमती सरस्वतीको हात समाउँछ। स्टेजमा देखिन्छ कि त्यो अग्लो टावरबाट धुवाँ आउनथाल्छ र एकैछिनमा धुलीटावर बन्छ। विरह तथा भयानक सङ्गीतको आवाज आउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *