सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

डिसी नेपाल
५ चैत २०७९ २१:२६

काठमाडौं। संयुक्त अधिराज्य बेलायतका सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन्।

आज काठमाडौँमा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सांसद चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो।

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए। सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारीरूपमा वहन गर्न सक्ने उनले बताए।

कुनै पनि सांसदको सचिवालयले बहन गर्ने भूमिका बृहत्तररूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकामा उनको जोड थियो।

“सांसद एक्लैले गरेर केही हुँदैन। सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ”, सांसद शर्माले भने, “बेलायती संसद्मा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो। मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस अफ कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन।”

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए।

बेलायतमा सांसदलाई सरकारबाट चारजना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए। “उनीहरूको जिम्मेवारी पनि तोकिएको हुन्छ। टोलीमा सबैले आफ्नो जिम्मेवारीअनुसार काम गर्छन्”, उनले भने, “काममा दोहोरोपन हुनुभएन। टीमवर्कमा विश्वास हुनुपर्छ।”

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्दामा संसद्मा प्रभावकारीरूपमा उठाउन राजनीतिक टोलीको आवश्यकता औँल्याए।

“हामीले निर्वाचन क्षेत्रका मुद्दाहरूमा पनि काम गर्नुपर्छ। त्यस्तै, राष्ट्रिय विषय उठाउनुपर्छ। त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौँ”, उनले भने। बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरूलाई पनि लाभ हुने सांसद चौधरीको विश्वास थियो।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी–१ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौँमा राजनीतिक सचिवालय बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *