गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत
गण्डकी। गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो। प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलगायतले खेलाडीलाई सम्मान गरे।
यही चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पुर्याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ) सरकारबाट सम्मानित भए।
यसैगरी नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेटको विश्वकपमा पुर्याउन टोलीमा रहेर खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताए। उनले खेलाडीले मेहनतपूर्वक अनुशासित भएर खेल खेलेको बताए।
उनले भने, “यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि थोरै रकमले मात्रै भए पनि सम्मान गरेका हौँ। खेलाडी राष्ट्रका गहना होइनन्। गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ। बरु खेलाडी त सम्पत्ति हुन्।”
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने तयारीस्वरूप जमिनको खोजी भइरहेको बताए। मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताए।
सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सरकारले गरेको सम्मानले आगामी खेलमा थप राम्रो खेल्ने हौसला मिलेको बताए। घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उनले आग्रह गरे।
नेपाल क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजुले क्रिकेटको विकासका लागि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति र वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताए।
Facebook Comment