चैतेदशैँमा दर्शनार्थीको घुइँचो

डिसी नेपाल
१५ चैत २०७९ १३:२६

बैतडी। चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।

यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ। यस्तै डिलाशैनी, कफलाशैनी सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा लाग्ने गर्दछ।

नवरात्र सुरु भएदेखिनै यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी पुग्ने गरेका थिए। चैतेदशैँका दिन आज बलिसहित जात्रा हुने भएकाले बिहानैदेखि भक्तजनको भिड रहेको निङग्लाशैनी मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। बसाइँसराइ गरेर गएका पनि चैतेदशैँमा पूजापाठका लागि पुर्ख्यौली थलोमा फर्कने गरेकाले परिवारका सदस्यहरुबीच भेटघाट पनि हुने गर्दछ।

नवरात्रमा बसाइँ सरेर तराई गएकासमेत पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताए। यसका साथै चैतेदशैँमा यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन्।

यसैबीच नवरात्रको अवसर पारेर यसअघि यहाँको प्रसिद्ध निङ्गालाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको थियो। हिङलो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्लाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको हो।

निङ्लाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो। पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *