कथा : कन्यार्थु

खेमराज पोखरेल
१८ चैत २०७९ ९:०३

आज अचम्म भयो। मेरो बाबाले लबेदा सुरुवाल लगाउनु भएको छ। आमाले बनारसी सारी लाउनु भएको छ। बाबा मलाई भन्दै हुनुुहुन्छ, ‘देव! हिँड तेरो कन्यार्थु।’

कथाको कैरन यस्तो थियो।

रोबिन्स पार्क प्रपोज सेलेब्रेसनका लागि प्रख्यात थियो। पार्कको बीचमा तलाउ थियो। तलाउको किनारामा राखिएको एउटा बेन्चमा लिली र म टाँसिएर बसेका थियौँ। त्यो पानीमा एक जोडी पानीहाँस रतिभावमा खेलिरहेका देख्यौँ। भाले हाँस पोथी हाँसलाई फकाउँदै थियो।

पोथी हाँस अलि परपर सरेर अझै भालेले फकाओस् भन्ने चाहन्थी सायद। केही क्षणपछि सायद पोथी हाँस तयार भई। भाले हाँस पोथीमाथि चढ्यो। पोथी स्थीर भई। तर पोथी हाँसका पखेटाले पानीलाई परपर फालिरहेको थियो।

लिलीले मलाई त्यही बेन्चमै जोडले समाती र एकछिन सम्म म्वाइँ खाइरहेकी थिई। त्यसपछि मैले उसलाई भनेको थिएँ, ‘लिली! आज म तिमीसँग एकदम मोहित भएको छु। स्पेसल कुरा गर्न चाहन्छु।’

ऊ हाँसीथी। र भनीथी, ‘मसँग कुरा गर्न तिमीलाई आइतबार बार्नु पर्छ र? तिमीले भूमिका बाँध्नु पर्छ र? फ्याट्ट भन न। आखिर तिमी र मेरा बिचमा अब के कुरा नै गर्न बाँकी छ र? मनमा कुरा थुपारेर बस्यो भने त मानसिक बिरामी पो होइन्छ त।’

लिलीसँग म मोहित हुने कारणहरू थिए –
– किनकि ऊ पूर्ण महिला हो।
-कुनै पुरुषको बैसाखी चढेर उसले बाँच्नु पर्दैनथ्यो । बरु ऊ कुनै पुरुषको बैसाखी हुनसक्थी।
– उसले समाज तथा देश चलाउन सक्थी। देश मात्र होइन संसार चलाउने सामथ्र्य थियो।
– डेटिङ गएको बर्सौँ भइसकेको थियो।
– निलम झैँ चम्कन्थी।
– स्वभावमा सहनशील र विचारमा फराकिली थिई।
– सहवासमा रतिदेवी थिई।
– बुनौटमा सिद्धहस्त मूर्तिकारले फुर्सदमा बनाएकी देवीको प्रतिमूर्तिजस्ती थिई।
– मान्छेको मात्र होइन; यो पृथ्वीमा भएका सबै प्राणी तथा वनस्पतिको पनि यही संसार हो भन्थी।

म आफूलाई भाग्यमानी ठान्दै हुन्थेँ। किनभने ऊजस्ती रत्न मेरो अँगालोमा हुन्थी। ऊसँग मेरा पूर्व गर्लफ्रेन्डहरूको तुलना हुनै सक्दैनथ्यो। अब्बल हिरा थिई। त्यसैले अब म उसलाई गुमाउन चाहन्न थिएँ।

अनि मैले लिलीको हात समातेर उभ्याएको थिएँ। उसका सामुन्नेमा घुँडा टेकेर बोकेर लगेको गुलाबको फूल दिँदै भनेको थिएँ, ‘विल यु म्यारी मी?’
ऊ हाँसेकी थिई। अनि मैले भनेको थिएँ, ‘त्यसरी नहाँसन प्रिय। म तिमीसँग घुँडा टेकेर तिम्रो लागि तिमीसँग नै कन्यार्थु भएको छु।’

उसले त्यो फूल मजाले समाईथी। मेरो हात समाउँदै उठाईथी। र हातमा म्वाइँ खाईथी। अनि भनीथी, ‘मेरो मनमा यो कुरा पहिलेदेखि नै थियो । तर तिमी मेरा बारेमा के सोच्छौ होला भन्ने दुबिधामा थिएँ। तिम्रो प्रस्ताव स्वागत योग्य छ। तर यो प्रस्ताव मान्नका लागि एउटा सर्त छ।’

मैले भनेँथेँ, ‘तिमीलाई पाउन त म जेजस्तो सर्त पनि मान्छु नि। भन त पहिला।’
मेरो प्रस्तावमा उसले लामो व्याख्या गर्न थाली –

-डेटिङ, सम्भोग, प्रेम तथा राग ज्यादै महत्त्वपूर्ण कुरा हुन् जिन्दगीका। तीबिना जिन्दगी शून्यशून्य हुन्छ। अपूर्ण हुन्छ। निरस हुन्छ। ती मानवीय उद्वेगले ल्याएका स्वर्णिम कुरा हुन्। ती कुरा सहज पाउनु पनि जिन्दगीको ठूलो उपलब्धि हो। नत्र त यो संसारमा यौनकै लागि पनि करोडौँ मान्छे तडपिएका छन्। गुम्सिएका छन्। मरेका छन्। मारिएका छन्।

-प्राकृतिक यौनका लागि अप्राकृतिक बन्धेज लगाएर समाज पिरलोमा रुमलिएको छ। तडपनमा छ। कम्तीमा हामी अमेरिकामा भएकाले हामीलाई ती पीडा भोग्नु परेको छैन। यस अर्थमा हामी भाग्यमानी छौँ।

उसले बिहेको कुरा उठाइन। हँ या नाँ भनिन। अनि मैले नै भनेँ, ‘मैले त तिमीसँग बिहेको प्रस्ताव राखेको हुँ नि लिली।’
उसले शान्त भएर बिहेको अन्तर्य बताउन थाली-

– हो तिमीले मसँग बिहेको प्रस्ताव नै राखेका हौं। योभन्दा पहिले हामीले बिहेको अन्तर्यका बारेमा केही कुरा बुझ्नु जरुरी हुन्छ।

– भर्जिनिटी गुमाउनु मात्र त झन् होइन। हरेक बिहे र पुनरबिहेपछि गरिने सुहागरातको महत्त्व बराबर हुन्छ। अघिपछि गरिने यौनक्रिया जस्तो होइन बिहेपछिको सुहागरात।

– बिहे भन्नु र मैथुन भन्नु अलगअलग कुरा हुन्। किनभने बिहे भन्ने सभ्यता पनि विशिष्ट छ। जीवनमा त्यसको महत्त्वलाई नकार्न सकिन्न। बिहे भन्नु यौनक्रीडाको वैधानिकता मात्र होइन; बरm प्रणय हो । त्याग हो । समर्पण हो । वलिदान हो । एकअर्कामा विलिन हुनु हो । त्यसपछि न तिम्रो स्वतन्त्र अस्तित्व हुन्छ । न मेरो ।

– पहिले गरिएका यौनक्रियामा तिमी स्वतन्त्र थियौ । म स्वतन्त्र थिएँ । हामीले स्वतन्त्र रूपमा चाहँदा मात्र यौनक्रिया हुन्थ्यो। चित्त बुझेन भने अर्को बाटो लाग्न पनि कसैले छेक्दैनथ्यो । तर बिहेपछि यदि सँगै जीवन चलाउने हो भने पत्नीव्रत तथा पतिव्रतको दर्शनलाई मान्नै पर्छ हामीले।

– खासमा बिहे भन्नु एउटा परिवार तथा आफन्त पाउनु हो ।

लिलीले धेरै भूमिका बाँधेकी थिई त्यो दिन। अनि मैले नै उसको जबाफको लागि थप जिज्ञासा राखेको थिएँ, ‘त्यो त हो लिली । तर मलाई अधैर्य भइसक्यो। भनन तिमीले मेरो प्रस्तावलाई मान्यौ ?’

उसले पनि भनी, ‘हो त्यही कुरा त भन्दैछु नि । त्यस कारण पारिवारिक मान्यताका लागि तिम्रा बाबुआमा नेपाली परम्पराअनुसार कन्यार्थुमा मेरी आमासमक्ष आउनु पर्छ । बस सर्त यत्ति नै हो ।

अनि मैले भनेँथेँ, ‘त्यो त भइहाल्छ नि लिली । म मेरा बुबाआमालाई लिएर तिम्री आमासमक्ष कन्यार्थुको लागि आउँछु । यो मेरो वाचा भयो । तर तिमी त मान्छौ नि ?’

उसले थपीथी, ‘नमान्ने कुरै छैन । तिमीजस्तो सौर्यवान पुरुषसँग कसले पो बिहे गर्न नमान्ला र?

मैले भनेँथेँ, ‘त्यो सर्त त मैले मानिसकेँ । कथंकदाचित बुबाआमा कन्यार्थुका लागि तयार हुनुभएन भने के हाम्रो बिहे हुन्न र ?’

अनि उसले मलाई सहजताका साथ भनेकी थिई —

– हेर देव ! यौन, लिभिङ टुगेदर, सम्भोग, रमाइलो भन्ने कुरा हाम्रा निजी जीवनका अपरिहार्य र विशिष्ट कुरा हुन्। अविकसित देशमा त्यो कर्म लुकेर गर्छन्। अमेरिका जस्ता विकसित तथा खुला देशमा उद्घोष गरेर गर्छन्। फरक त्यत्ति हो।

-तर बिहे र परिवार भन्ने कुरा त्योभन्दा माथिको र महत्त्वको विषय हो। म तिमीलाई चाहन्छु। तिमी सँगसँगै परिवार पनि चाहन्छु। सासूससुरा तथा समग्र आफन्तसहितको परिवार चाहन्छु। तिम्रा मावली मेरा हुनेछन्। समग्र तिम्रो परिवारमा म घुलित हुनु पर्छ बिहे भनेको ।

मेरा परिवारमा तिमी पनि घुलित हुनुपर्छ। दुई परिवारले एकअर्कालाई आदर र सम्मान गर्नुपर्छ । त्यस कारण तिम्रा बाबुआमाले मलाई हृदयदेखिनै स्वीकार्नु पर्छ । मेरी आमाले तिमीलाई स्वीकार्नु पर्छ।

यसरी घुलित भएमा मात्र श्रीमान्श्रीमती भनेको अर्धाङ्गअर्धाङ्गिनी हुन्छन् । नत्र त ‘ओखर र पाङ्ग्रा’ भएर कसरी जीवन चल्छ ? म सुटुक्क बिहे गरेर अलग घरजम गरेर र परिवारबाट साइनो चुँडाएर बहिर्गमन हुने केटी होइन । त्यसैले यो सर्तसहित तिमी आयौ भने तिम्रो प्रस्ताव मञ्जुर छ।

मैले भनथेँ, ‘लिली ! तिमीमा यो शंशय किन उत्पन्न भयो ?’

उसले भनीथी, ‘किन भने तिमीलाई थाहा नै छ मेरो आफ्नो कुनै परिवार छैन। बाबु त टुङ्गो नै लागेन। तर आमापट्टिकाले पनि आमासँगको सम्बन्ध बहिस्कार गरेकाले परिवार र आफन्तबिहीन भएकी छु म । नेपालमै मेरा कोही छैनन्। मेरा कुनै दाजुभाइ तथा मावली छैनन् । म एक्ली महसुुस गर्छु। झन् त्यसमाथि तिम्रो परिवारले मलाई र मेरी आमालाई हेला र घृणा गरेको म सहन सक्दिनँ ’

मैले निन्याउरो अनुहार लाएँ सायद। यो कुरा लिलीले चाल पाई र भनीथी, ‘तिमी चिन्ता नलेऊ देव ! बिहे भयो भने हाम्रो सम्बन्ध उचाईमा पुग्छ । यदि हुन सकेन भने पनि हाम्रो सम्बन्ध समयले साथ दिउन्जेलसम्म चलिरहने छ । समय वलशाली छ । समयले नै सबै कुरा निर्धारण गर्छ।’

यसपछि म खुसी भएर घर आएको थिएँ । मेरो अनुहारमा खुसीले आभा छरेको थियो सायद । आमाले थाहा पाउनु भयो र मलाई सोध्नु भएथ्यो, ‘आज निकै खुसी देखिन्छस् छोरा। के भयो त्यस्तो ? तेरो अनुहार निकै बलेको देख्छु ।’

आमाले यति भनेको सुनेर बुबा पनि आउनु भयो। अनि दुवैका सामू खुसी प्रकट गर्दै भनेँथेँ, ‘आमा ! आज म तपाईँहरूलाई खुसीको खवर सुनाउँछु। तपाईँहरू मलाई सधैँ बिहे गर गर भन्नु हुन्थ्यो नि। आज मैले केटी फाइनल गरेर आएको छु । उसको सर्त छ कि हजुरहरू कन्यार्थु जानुपर्छ।’

बुबाले भन्नु भएथ्यो, ‘तेरो बिहेको लागि कन्यार्थु नजाने कुरा आउँछ र ? त्यो कत्रो कुरा भयो र ? अमेरिकामा भए पनि लवेदासुरुवाल लगाएर ठाँटिएर कन्यार्थु जाऊँला नि । तर पहिले भन् त । केटी को हो?’

अनि मैले भनेँथेँ, ‘त्यो केटी तपाईँहरूले चिनेकै लिली हुन्।’

मेरो कुरा सुनेर बाबुआमाको अनुहारमा औँशीको रात देखा पर्‍याे । एक छिन चुप लाग्नु भयो । आमाको अनुहार स्तब्ध भयो । तर बुबा एकाएक उफ्रिनु भयो र भन्नु भयो, त्यो केटीलाई म चिन्छु नि। अम्याजोनमा सफ्टवेयर इन्जिनियर छे । तैँले पहिले पनि त लिएर आएको थिइस् नि । त्यो केटीकी आमालाई पनि चिन्छु । तर त्यो केटीसँग तेरो बिहे हुनसक्दैन।’

म दस सन्तान मध्येको कान्छो छोरा थिएँ। मेरा सबै खुसीहरूमा बाबुआमा रमाएको देखेको थिएँ । तर आज बाबुआमाको कुरा सुनेर म अचम्मित भएँ। अनि भनेँ, ‘किन हुनसक्दैन मेरो बिहे लिलीसँग ? के कारण छ ? के कमी छ उसमा ? राम्री छे । पढेकी छे । सुशील छे। मृदुभाषी छे। इन्जिनियर छे। मुख्य कुरो त मलाई ऊ चौपट्ट मन पर्छे । हामी बसौँदेखि सम्बन्धमा छौँ । मलाई भएको छ भने तपाईँहरूलाई किन हुँदैन ? पहिले कारण त बताउनु होस्।’

आमाले लामै फलाक्नु भयो-

– हेर तँ आफैँलाई । श्वेत स्फटिक जस्तो छस् । त्यो औँसीको मध्यरात जस्तै छे । त्यस्ताले पाउने सन्तान पनि त्यस्तै हुन्छन् ।

-गोरी केटी पाउँदा पाउँदै तँ किन त्यसका पछि लागेको होस् ?

– उसको बाबुको पनि टुङ्गो छैन ।

– उसकी आमाले अमेरिकामा तरक्की गरे पनि उसकी आमा स्याङ्जाको काले लोहारकी छोरी हो ।

– हेर्दाहेर्दै कमिनीकी छोरीलाई कसरी बुहारी भनेर भित्र्याउनु ए !

– हामी अझै सन्जे जप गर्दैछौँ । घरमा पूजा कोठा पनि छ । पूजा पनि गर्दैैछौँ । देवता पितृ पनि पुज्दै छौँ ।

बुबा कड्किनु भयो –

– के हेछौँ हौ तिमीहरू ? न रूप छ, न चरित्र ।

– त्यसकी आमाले कसको पेट बोकेर त्यो केटीलाई पाएकी हो अहिलेसम्म थाहा छैन ।

– आमा नै त्यस्ती पातकी छे भने छोरी कस्ती होली ?

– हामीलाई थाहा छ तँ उसको पाँचौ ब्वाइफ्रेन्ड होस् ।

– लु तँ लोग्ने मान्छे होस्, रमाइलो गर्न त ठिकै छ । तर त्यस्तालाई बुहारी भनेर कसरी घरमा भित्र्याउनु ए ?

मलाई साह्रै धेरै रिस उठिसकेको थियो । मेरी लिलीलाई जेपायो त्यही भनेको म सहने अवस्थामा थिइनँ । अनि मैले भनेथेँ,

‘ए आमा ! ए बुबा ! तपार्इँहरूलाई थाहा भएकै कुरा हो । लिली एकल आमाकी छोरी हो । उसकी आमा नेपाली हुन् । कुन जातकी हुन् तपाईँहरूको चासोको विषय हो । उसकी आमाले अमेरिका आएपछि कसरी गर्भधारण गर्नुभयो भन्ने विषय तपाईँहरूको लागि पहाड होला। तर मेरा लागि सामान्य हो। यौन मान्छेको अधिकार हो ।उसको बाबु पत्ता लागेन भन्दैमा उसकी आमालाई अमानवीय तरिकाले भन्नु तपाईँहरूको कहाँसम्मको धार्मिक र खान्दानी विचार हो। तपाईँहरू कहाँसम्मको ईश्वरवादी हो ? मानवतावादी हो ? तपाईँहरूको ईश्वरवाद र मानवतावाद ढोँग हो। खोल हो । तपाईँहरूलाई किन चाहियो उसको बाउ ? ऊ आमाकी मात्र छोरी हो । उसकी आमाले एभोर्सन नगरेकीले आज ऊ बाँचेकी हो । आमा भएर यति मातृत्वको कुरा पनि बुझ्नु हुन्न हगि आमा ?’

अनि आमाले भन्नु भएथ्यो, ‘बिन्ती छ देव ! तँ यो बिहे नगर । हामीले कसरी समाजमा मुख देखाउनु ? सात पुस्ता नर्कमा पार्नु छैन हामीलाई ।’

अनि मैले भनेँथेँ,

‘आमा ! तपाईँको बिहे १५ वर्षमा भयो । उमेर ३० वर्ष हुँदा १० सन्तान पाउनु भयो । तपाईँले थाहा नै पाउनु भएन कि योवन कहिले आयो र कहिले गयो । लिली अहिले ३२ वर्षकी छे । उसले किन यौनराग दबाउनु पर्यो ? किन भर्जिन बस्नु पर्‍याे ? मेरो बारेमा पनि तपाईँहरूलाई थाहा छ त । के म भर्जिन हुँ ? मैले रमाइलो गर्न हुने उसले रमाइलो गर्न किन नहुने ? किन यस्तो वाइह्यात कुरा गर्नु हुन्छ तपार्इँहरू ? अप्राकृतिक कुरा गर्नु हुन्छ किन ? बिहे गर्ने उमेर अचेल ३० वर्ष नाघेपछि मात्र हुन्छ । सेटल हुनु पर्‍याे । पढिसक्नु पर्‍याे । जागिर खानु पर्यो । करिअर बनाउनु पर्‍याे । अनि पो बिहे गर्ने त । १२ वर्षपछि मान्छेमा यौनचाहना र आवेग हुन्छ भन्छ मनोविज्ञान । अनि ऊ कसरी ३० वर्षसम्म भर्जिन बस्न सक्छे । यो अप्राकृतिक कुरा किन गर्छ यो समाज ? किन गर्नुहुन्छ तपाईँहरू ?’

बुबा एक दम स्तब्ध हुनुभयो र भन्नु भएथ्यो, ‘तँ त्यसलाई छोड्न सक्तैनस् भने बिहे गर र अलग्गै बस् । भैहाल्यो नि त । हामी कन्यार्थुको लागि भने जाँदैनौँ।

अनि मैले भनेँथेँ,

‘कस्तो कुरा गर्नुहुन्छ बुबा ? उसका र मेरा बीचमा सम्बन्ध त त्यसै भइरहेकै छ नि। म लिलीसँग बिहे गर्न पाइनँ भने आजन्म बिहे गर्दिनँ । यो मेरो निर्णय हो। मान्छेमान्छेका बीचमा यो विभेद किन खडा गर्नु हुन्छ ? तपाईँ नै भन्नु हुन्छ कि भगवानको सृष्टि हो यो। भगवानका नजरमा सबै प्राणी बराबर भन्नु हुन्छ। अनि फेरि यो विभेद किन गर्नु हुन्छ। यो जात, रङ, खान्दानको धङधङी कतिन्जेल बोक्नु हुन्छ बुबा ?’

बुबाले भन्नु भएथ्यो, ‘तँ जे भन। जे गर्। हामी कुनै हालतमा कन्यार्थु जाँदैनौँ। सम्झन्छौँ तेरी आमा र मेरा जिन्दगीमा एउटा फुल फुट्यो।’

त्यसपछि म एउटा झोलामा आफ्ना सामान हालेर घरबाट निस्केको थिएँ। म निस्केको र गएको आमाबुबाले टुलुटुलु हेर्नु भयो। आमाका आँखामा आँशु थिएँ । बुबा क्रोधिलो र स्तब्ध हुनुहुन्थ्यो । घरबाट निस्केर म सरासर होटलमा पुगेँ । लिलीलाई त्यही होटलमा बोलाएँ।

उसलाई देखेपछि मैले भनेँ,

‘लिली म घर छोडेर आएको छु। त्यागेर आएको छु। तिमीले गरेको शंशय सही निस्क्यो । मेरा बुबाआमा कन्यार्थुमा आउन मान्नु भएन । बरm मलाई नै एउटा फुल फुट्यो भनेर त्याग्नु भयो। अब म के गरूँ लिली ? म तिमीबिना यो जीवन हाँक्न सक्दिनँ।

उसले तत्काल कुनै प्रतिक्रिया दिइन । मेरो अवस्था देखेर पहिले पानी खुवाई । मनजिक आई । मेरो कपाल खेलाउन थाली । म रोइरहेको थिएँ । आँशु पुछिदिई । म्वाइँ खाई ।

म स्थिर भएपछि उसले भनी,

‘तिमी कस्तो कमजोर रहेछौ देव ! एउटै झट्कामा सकिने । आत्तिने र भाग्ने । हेर तिम्रा आमाबाबुले नेपालको परम्परागत कुचलन र अन्धविश्वास बोकेर आउनुभएको छ । त्यो विश्वास कुहिएको छ । कुहिएको वस्तुको समग्र नास हुन पनि केही समय लाग्छ नि।

जीवनमा धेरै घटना भोगेर, देखेर, सुनेर, पढेर मात्र मान्छे परिवर्तन हुन्छ । आज तिमीले तिम्रा बाबुआमाको त्यो पुरातनपन्थी सोचमाथि प्रहार गरेका छौ । तिमीलाई गुमाउन उहाँहरू पनि चाहनुहुन्न। सन्तानको फुल त्यति सजिलै फुट्दैन देव। मातृत्व त्यति छिट्टै मर्दैन । तिमी धैर्य गर । एक दिन तिम्रा आमाबाबुको त्यो पुरातनपन्थी विचार परिवर्तन हुन्छ । त्यो परिवर्तनको दह्रो कारण तिमी नै हुन्छौं।

लिलीका कुरा सुनेर त म झन् अचम्ममा परेँ । कस्ती केटी होली ऊ ? बाबुआमाको हृदय परिवर्तन हुन्छ भन्छे । ढुङ्गो टुसाउला तर उहाँहरूको मन किन पो फर्किन्थ्यो होला र ?

अनि मैले उसलाई भनेँ, ‘लिली तिमी मेरो आमाबुबालाई चिन्दिनौ । उहाँहरू आफ्ना मान्यतामा अटल हुनुहुन्छ ।

उसले भनी,

‘हो मलाई थाहा छ । तर तिमी फर्केर घर जाऊ । आमाबुबासँग उही पुरानो सम्बन्ध स्थापना गर । केबल तिमी बिहे नगरी बस । बिहेको कुरा आयो भने मौन बस । इग्नोर गर । आमाबुबालाई मुख पनि नलाग । एकदम नर्मल जीवन यापन गर । हेर्दै जाऊ एकदिन उहाँहरूले तिमीलाई भन्नु हुनेछ कि छोरा लिलीको कन्यार्थु हामी जान्छौँ ।’

मैले भनेँ, ‘खोइ मलाई पत्यार चाहिँ छैन ।’

उसले भनीथी,

‘उहाँहरूले संसार फेरिइसकेको भेउ त पाउनुभएको छ । तर आत्मसात गर्न गाह्रो भएको मात्र हो । मानी लेऊ तिम्रो र मेरो बिहे भएन रे । के फरक पर्छ र ? तिमी छौ । तिमी मलाई माया गछौँ । म तिमीलाई माया र विश्वास गर्छु । तिम्रा र मेरा बीचमा फेरि पनि सम्बन्धहरू भइरहने छन् । त्यो कसैले रोक्न सक्तैन। यदि मायाले यौनक्रीडा भयो भने त्यो जत्तिको अनुपम कुरा संसारमा केही छैन। जीवनमा जस्तासुकै व्यवधान आए भने पनि प्रेमले गर्दा सहज हुन्छन्। मुख्य कुरा त प्रेम हो । यौन प्रेमको सर्वोत्तम रूप हो । जिन्दगीको जहाजलाई सहज तरिकाले हाँक्न सकिन्छ । उमेर गएका कारणले सन्तान भएनन् भने पनि चिन्ताको विषय होइन । सन्तान कुनै अनाथालयबाट ल्याएर पनि हुनसक्छ । आफ्नै रजवीर्य मिसिएको मात्र सन्तान मानिने युग गइसक्यो अब।

म ट्वाल्ल परेर उसैलाई हेरिरहेको थिएँ । उसले भने भनीथी, ‘देव ! हेरि राख एक दिन तिम्रा आमाबुबा मेरो कन्यार्थुमा आउनु हुनेछ । त्यसै पनि चिन्ता गरेर यो संसारमा केही पनि पाइन्न ।

उसले मलाई आफूतिर तानीथी । र, हामी नागबेली मुद्रामा बेष्ठित भएका थियौँ ।
०००००
समयको अन्तरालमा आजै मात्र बुबाले भन्नु भयो, ‘हिँड् । म तेरो कन्यार्थु जान्छु ।’

न्युयोर्क अमेरिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *