बारा- २ को उपनिर्वाचन

उपेन्द्र यादवको उपप्रधानमन्त्री हुने सपना र शक्ति राष्ट्रकाे भूमिका

विजयप्रसाद मिश्र
१९ चैत २०७९ ७:१६

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भए। मतदाताले यादवलाई चुनाव हराएर पाँच वर्षका लागि ‘पावर होलिडे’ मा बस्नुपर्ने सन्देश दिए।

तर, सत्ता बाहिर धेरैबेर बस्नै नसक्ने स्वभावका उपेन्द्र यादवले बारा २ बाट विजयी भएका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर आफ्नो लागि उक्त सिट खाली गराए। कुनै भवितव्य नपरेसम्म उपेन्द्र यादव बैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गर्नेछन्। उनलाई उक्त निर्वाचन फलामको च्यूरा सावित हुँदैछ।

गत निर्वाचनको अंकगणितलाई विश्लेषण गर्दा बारा-२ बाट जसपाका रामसहायप्रसाद यादवले १३ हजार ८२२ मत ल्याएर विजयी भएका थिए। उनलाई एमालेले समर्थन गरेको थियो।

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा १३ हजार ४६८ मत ल्याई ३५४ मतको अन्तरले मात्र हारेका थिए। त्यसवेला उनलाई नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धनले समर्थन गरेको थियो।

जसपाकै रामकिशोरप्रसाद यादवले बागी उम्मेदवार बनेर ११ हजार ४३ मत ल्याएका थिए। नेपाली कांग्रेसका रवीन्द्रप्रसाद यादव बागी उम्मेदवार बनेर १० हजार ७५० मत ल्याउन सफल भएका थिए।

अरुण ज्ञवाली बागी उम्मेदवार बनेर ७ हजार ६९८ मत ल्याएका थिए भने जनमत पार्टीबाट उठेका राजेश साहले २ हजार ७२५ मत ल्याएका थिए। स्थानीय तहको निर्वाचन परिणाम हेर्दा पाँचमध्ये दुई वटामा नेपाली कांग्रेस, दुई वटामा जसपा एउटामा एमालेका उम्मेदवार निर्वाचित छन्।

अहिले अवस्था फेरिएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेर उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्दैछन्।

उपेन्द्र यादवले सुरक्षित बंकर ठानेको बारा-२ बाटै उनलाई फ्याल्न पाइयो भने जनमत पार्टीमात्र होइन नागरिक उन्मुक्ति, लोसपाका लागि पनि हाइसन्चो हुने स्थिति भएकोले यसको फाइदा सिके राउतले थप लिन सक्ने अवस्था छ।

लोकतान्त्रिक समाजवादी पार्टीले राजेन्द्र महतोलाई उम्मेदवार बनाउने रणनीति लिएको छ। यस्तो अवस्थामा स्थानीय धर्तीपुत्रहरुमध्ये बाटै प्रतिस्पर्धा हुनुपर्दछ भन्ने स्थानीय मान्यतालाई यसपटकको बारा-२ को निर्वाचनले तोडेको छ।

राजेन्द्र महतो र शिवचन्द्रप्रसाद कुशवाहा दुबै निर्वाचनमा प्रतिस्पर्धा गरेमा उपेन्द्र यादवको जीत सुनिश्चित हुन्छ। तर मनोनयन दर्ता गर्ने र उम्मेदवारी फिर्ता लिने बेलासम्ममा कुश्वाहा समाजले दुई मध्ये एकमात्र उम्मेदवार बन्न दवाव दिन सक्दछ। राजेन्द्र महतो र शिवचन्द्रप्रसाद कुशवाहमध्ये एकमात्र प्रतिस्पर्धामा रहँदा उपेन्द्र यादवलाई उपनिर्वाचन फलामको च्यूरा नै हुनेछ।

हुन त जतिजति उपेन्द्र यादवको चुनाव प्रचार बारा-२ मा तिब्र रुपमा अघि बढी रहेको छ त्यति त्यति बाराका धर्तिपुत्रहरुले भोजपुरी भाषामा‘उपेन्द्र यादवलाई ‘यी नैखे भोजपुरिया आ है बहरिया’ भन्दैछन्।

अर्थात उनी भोजपुरिया होइनन्। मैथली भाषी हुन्। भोजपुरी भाषावाल होइनन् भन्ने आरोप लगाएका छन्। त्यसैगरी उनलाई बाराको धर्तिपुत्र नभएर सप्तरी मोरङ बासी हुन्, के बाराका धर्ती पुत्र महिला र पुरुष कोही पनि सांसद बन्न योग्य छैनन् र भन्ने आवाज उठाई रहेका छन्।

सप्तरी-२ मा उपेन्द्र यादव हार्नुको एउटा कारण उनलाई पचपनिया जाति र ओविसी समुदायले समर्थन गरेनन्। दलितहरु पनि उपेन्द्र यादवको सामन्ति प्रबृत्तिलाई नजिकबाट नियालेर दिक्दार भएका थिए।

सबै समुदायले सहयोग नगर्नु र यादव समुदायबाटै प्रदेश सांसदमा जनमतले उम्मेदवार उठाएर विजयी गराउनुले डा. सि.के. राउतलाई सबैतिरबाट फाइदा भएको तर उपेन्द्र यादवलाई अरु जातिले त विश्वास गरेनन् गरेनन् आफ्नै यादव जातिले पनि वास्ता नगरेकोले सर्वनाक हार व्यहोर्नु परेको थियो।

यही परिस्थिति बारा-२ मा पनि दोहोरिने बाला छ। किनकी त्यहाँ पचपनिया, ओविसी भित्रका कुश्वाहा र दलितहरुले पनि भोट नदिने स्थिति छ। रामसहाय प्रसाद यादव स्थानीय भएकाले पो उनको सामाजिक लगावका कारणले भोट पाएका थिए।

तर उपेन्द्र यादवको बारा-२ मा सामाजिक लगाव जीरो छ। अर्को तर्फ यादव समुदायकै जनमत पार्टीका नेता डा. शरदसिंह यादव जसरी पनि बारा-२ मा यसपटक आफ्नो पार्टीलाई जिताउने पक्षमा नयाँ डिजाइन बनाइरहेका छन्।

त्यसैले सबै यादव समुदाय उपेन्द्र यादवको पक्षमा छैनन्। यसकारण पनि उपनिर्वाचन उपेन्द्र यादवको लागि फलिफाप नहुने देखिएको छ। बारा-२ मा जनमत पार्टीबाट उम्मेदवार बलियो छन्। उनले यस अघि पनि गठबन्दनका विद्रोहीहरु हुँदा हुँदै पनि ३५४ मतको अन्तरले मात्र हार्नु परेको थियो।

त्यसबेला उनलाई नेपाली कांग्रेसले सहयोग गरेको भनेपनि दुई दुईजना बागी कांग्रेसबाटै उठेका थिए। अहिले पनि नेपाली कांग्रेस र माओवादी केन्द्र दुबैले उपेन्द्र यादवलाई समर्थन गर्ने भनेपनि दुबैको स्थानीय कार्यकर्ता र नेताहरु उपेन्द्र यादवलाई बारामा जिताएर आफ्नो खुट्टामा आफै बञ्चरो हान्नेवाला छैनन्।

उनीहरु यसपटक बहरिया र नन भोजपुरिया हराऊ अभियानमा आन्तरिक रुपमा जनमत पार्टीका उम्मेदवारलाई सहयोग गर्नेछन् या त पहिलेजस्तै कुनै नयाँ व्यक्तिलाई उम्मेदवार बनाएर मित्रवत् प्रतिस्पर्धा गर्नेछन्। यसले पनि उपेन्द्र यादवले माथिबाट अन्य पार्टीलाई जारी गर्न लगाएको ‘हुकुम’ बारा २ मा पुग्नेवेलासम्ममा उल्टै ‘हरकम’ मा परिवर्तन हुन सक्छ।

हुन त उपेन्द्र यादवले जसपा पार्टीबाटै विद्रोही उठेका रामकिशोर प्रसाद यादवलाई आफ्नो पार्टीमा फर्काइसकेका छन्। उनले करिव ११ हजार मत ल्याएका थिए। तर रामसहायप्रसाद यादवलाई एमालेले मत दिएर विजयी बनाएकाले यसपटक एमालेको भोट उनीहरुलाई आउनेवाला छैन।

एमालेको मत जनमत पार्टीको उम्मेदवार वा राजेन्द्र महतोलाई पर्ने सम्भावना छ। वा आफैं उम्मेदवार उठाएर आफ्नो मत आफैं तर्फ सुरक्षित राख्न सक्दछ। यसले उपेन्द्र यादवको लागि बारा २ को निर्वाचन नयाँ खालमा खेलिएको जुवा सरह हुनेसक्छ।

बारा २ को निर्वाचनलाई उपेन्द्र भरसेस सिके बनाइँदैछ। जनमतबाट जो उठेपनि सिके राउत यसरी प्रस्तुत भइरहेका छन् कि त्यहाँका मतदातामा यो लडाई डा. सिके राउत र उपेन्द्र यादवबीच कै हो।

एउटा म्यानमा दुई तरबार अट्न सक्दैन भनेजस्तै मधेस रुपी म्यानमा उपेन्द्र र सिके रुपी दुई तलवार अट्न सक्दैन। सिके राउतले उपेन्द्रलाई सप्तरीबाट त पराजित गरे तर अब उनी मधेसको कुनै पनि कुनामा उपेन्द्रलाई पराजित गराउने रणनीतिमा छन्।

उपेन्द्रले आफूलाई सुरक्षित क्षेत्रको खोजीगर्ने क्रममा सप्तरी-१ वा बारा-२ मध्ये कुन क्षेत्रकालाई उपराष्ट्रपति बनाउने भनेर विश्लेषण धेरै गरेका थिए। तर अन्त्यमा उनले आफ्नो लागि सुरक्षित बंकर बारा-२ लाई नै ठाने।

उपेन्द्र यादवले सुरक्षित बंकर ठानेको बारा-२ बाटै उनलाई फ्याल्न पाइयो भने जनमत पार्टीमात्र होइन नागरिक उन्मुक्ति, लोसपाका लागि पनि हाइसन्चो हुने स्थिति भएकोले यसको फाइदा सिके राउतले थप लिन सक्ने अवस्था छ।

हुन त सिके राउतले लेखेका पुस्तकहरु र उपेन्द्र यादवले लेखेका पुस्तकहरुलाई तुलना गर्दा पनि कहाँ सिके राउत र कहाँ उपेन्द्र यादव देखिन्छन्। उपेन्द्र यादवले मधेसको बारेमा लेखेका एउटा पुस्तकमा आधाभन्दा बढी मधेसकै बारेमा विद्यावारिधि गरेका फेडरिक गेजको पुस्तकबाट मिल्न जान्छ।

पुस्तकको विषयसूचीको बनौटमात्र होइन भित्रका धेरै सन्दर्भहरु हुवहू मिलेको देख्दा गेजको पुस्तक मैले मात्र पढेको हुनेछु। मधेसका अन्यले पढेका हुनेछैनन् भनेर चिटिङ् गरिएको हो भने भन्नु केही छैन।

तर जब डा. सीके राउत र उपेन्द्र यादव आमने सामने पर्दछन् तब पुस्तकको चर्चा समेत गर्नु पर्दछ। यसमानेमा पनि उपेन्द्र यादव अब मधेसका लागि आउटडेटेड भइसके।

हो, पहिलो मधेस आन्दोलनका बेला उपेन्द्र यादवलाई बाराको दक्षिणी भेगका बासिन्दाले कृष्ण भगवानकै अवतारको रुपमा लिएका थिए। मधेसीको अधिकारको लागि कृष्ण भगवानले उपेन्द्र यादवको रुपमा मधेसमा अवतार लिएको प्रचार गरे।

तर उहिलेका असली कृष्ण भगवानले द्रौपतीलाई चीरहरण हुनबाट जोगाएका थिए। तर उपेन्द्र यादवले आफू जावो सांसद पदमा जानका लागि उपराष्ट्रपतिमा महिलाले जान पाउने अवसर गुमाइदिए भन्ने आरोप लागेको छ।

उपेन्द्र यादवको केही अन्य कथाहरुले पनि उनले बारा जिल्लाबासीको कृष्ण भगवानको अवतारको विश्वासलाई ध्वस्त बनाइदिए। महिलाहरु अब उपेन्द्र यादवलाई महिला विरोधी नेता भनेर उपमा दिन थालिसकेका छन्। यसले पनि उनलाई उपनिर्वाचनमा अप्ठेरो पार्ने देखिएको छ।

पछिल्लो पटक प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दा अशोक राईलेमात्र जसपाबाट मन्त्री हुने अवसर पाए। उपेन्द्र यादवले उपप्रधानमन्त्री सहित एउटा मन्त्रीको सिट आफ्नो लागि जोगाई राखेका छन्। आफू बैशाख १० गते निर्वाचन जित्ने वित्तिकै मन्त्रीबन्नका लागि यो पदलाई होल्डमा राखेका छन्।

यसले मन्त्री खाने चाहना गर्ने अरु धेरै जसपामा छन्। उनीहरुले केही दिनका लागि भएपनि मन्त्री बन्न त पाँउथे भनेर भित्र भित्रै उपेन्द्र यादवको हैकमवादी प्रबृत्ति प्रति रोष प्रकट गर्दैछन्। यो रोष बारा-२ को निर्वाचनमा थोरबहुत भएपनि प्रकट हुने देखिन्छ।

उपेन्द्र यादवलाई बारा जिल्लामा जसपा पार्टी भित्रैका केहीले र सम्पूर्ण अन्य पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुले जरो गाड्न नदिने रणनीति अन्तर्गत सबैले उपेन्द्र यादव जित्दै हुनुहुन्छ भनेर हल्ला पिटाउने, खर्च गर्न लगाउने र अन्त्यमा सक्दो माछा माछा भ्यागुतो बनाइदिने ग्राइनडिजाइन बनाएको देखिन्छ।

हेरौं, चुनाव भनेको जुवा नै हो। सप्तरीमा भारतीय पक्ष सिके राउतको दाहिना भएको भनेर मतगणनाको अन्तिम चरणमा हुँदा उपेन्द्र यादवका समर्थनहरुले भारत विरोधी नारा नै लगाएका थिए। यसपाली बारा नजिकै बीरजञ्जमा रहेको भारतीय दुतावास कसको दाहिना हुन्छ?

माथिका जतिसुकै तर्कहरु भएपनि उपेन्द्र यादवले भारतलाई दाहिना पार्न सक्दछन् कि सक्दैनन् भन्नेमा नै धेरैको चाँसो छ।

सप्तरीमा भारतीय दूतावासले खेलेको भूमिकालाई नै बारा-२ मा पनि निरन्तरता दिएमा उपेन्द्र यादवको बारा- २ को सांसद हुँदै उपप्रधानमन्त्री हुने चाहना भारतकै डिजाइनमा चैट् हुनेछ। यसबारेमा कित भारतीय दूतावासलाई थाहा होला कि त उपेन्द्र यादवलाई नै।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *