वेष्ट इण्डिज विश्वकपमा सिधै प्रवेश गर्न सकेन, छनोट खेल्ने ७ टिम तय

डिसी नेपाल
२० चैत २०७९ ११:१५

काठमाडौं । क्यारेबियन टिम वेष्ट इण्डिज २०२३ को एकदिवसीय विश्वकपमा सिधै छनोट हुन असफल भएको छ । आइतबार भएको नेदरल्याण्ड र दक्षिण अफ्रिकाको खेलमा दक्षिण अफ्रिकाले जितेसँगै वेष्ट इण्डिज सिधै विश्वकप पुग्न असफल भएको हो ।

आइतबार जोहानेसबर्गमा भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई १४६ रनले पराजित गरेको हो । यससँगै दक्षिण अफ्रिका विश्वकप सुपर लिगको आठौं स्थानमा उक्लिएको छ । यसअघि आठौं स्थानमा रहेको वेष्ट इण्डिज नवौं स्थानमा झरेको छ । वेष्ट इण्डिजले अब सुपर लिगका कुनै खेल खेल्न बाँकी नभएकोले उसको अंक थपिने सम्भावना छैन । र अरुको खेलले पनि यसलाई आठौं स्थानमा लैजान सक्ने सम्भावना बाँकी छैन ।

तर, दक्षिण अफ्रिकाले पनि विश्वकपमा सिधै प्रवेश पाइसकेको भने छैन । सुपर लिगको तालिकामा ११ औं स्थानमा रहेको आयरल्याण्डले अझै ३ खेल खेल्न बाँकी छ । यी खेलहरु आयरल्याण्डले बंगलादेशविरुद्ध खेल्नेछ । यी तीनवटै खेल जितेको अवस्थामा आयरल्याण्ड पनि दक्षिण अफ्रिकालाई उछिन्दै आठौं स्थानमा पुग्ने सम्भावना रहन्छ । त्यसैले अब आयरल्याण्ड र दक्षिण अफ्रिकामध्ये कुन टिम सिधै विश्वकप पुग्ने र कुन छनोट खेल्ने भन्ने छिनोफानो हुन बाँकी छ ।

यद्यपि आयरल्याण्डलाई आठौं स्थानमा पुग्न सजिलो भने छैन । एक त उसले बंगलादेशविरुद्ध सबै खेल जित्नुपर्छ । त्यसपछि उसले यी तीन खेलमा राम्रो रनरेट पनि कायम गर्न सक्नुपर्छ । किनकि सबै खेल जिते पनि आयरल्याण्डको अंक ९८ हुनेछ । दक्षिण अफ्रिकाको पहिल्यै ९८ अंक छ । त्यसैले आयरल्याण्डले सबै खेल जित्दा दुवैको अंक बराबरी हुनेछ र रनरेटको आधारमा निर्णय गर्नुपर्नेछ ।

यसबाहेक वेष्ट इण्डिज, श्रीलंका, जिम्बाब्बे र नेदरल्याण्डले सबै खेल खेलिसकेका छन् र उनीहरु कसैको पनि सुपर लिगको अंक तालिकामा आठौं वा सोभन्दा माथि उक्लिने सम्भावना बाँकी छैन । त्यसैले यी ४ टिमले विश्वकप छनोट खेल्ने तय भइसकेको छ ।

अब सुपर लिगबाट झरेका ४ टिमहरु वेष्ट इण्डिज, श्रीलंका, जिम्बाब्बे र नेदरल्याण्डसहित सहित विश्वकप लिग २ बाट शीर्ष ३ टिम स्कटल्याण्ड, ओमन र नेपाल गरी ७ टिमले विश्वकप छनोट खेल्ने तय भइसकेको छ ।

विश्वकप छनोटमा कूल १० टिमले खेल्नेछन् । यीमध्ये एउटा टिम सुपर लिगबाट घटुवा हुने आयरल्याण्ड वा दक्षिण अफ्रिकामध्ये एक हुनेछ । अन्य दुई टिमहरु विश्वकप क्वालिफायर प्लेअफबाट आउनेछन् ।

प्लेअफ क्वालिफायरमा लिग २ बाट घटुवा भएका नामिबिया, युएइ, अमेरिका र पपुआ न्यूगिनी तथा च्यालेञ्ज लिगका विजेताहरु क्यानडा र जर्सी खेलिरहेका छन् । यो प्लेअफका अन्तिम खेलहरु बुधबार हुनेछन् । ती खेल सकिएसँगै छनोट खेल्ने बाँकी २ टिमको पनि छिनोफानो हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *