जनै र सिन्दुर नदेखिँदा आदिपुरुष विवादमा

डिसी नेपाल
२२ चैत २०७९ १२:१८

मुम्बई, २२ चैत । बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फँसेको छ। हालैमात्र फिल्मको नयाँ पोस्टर रिलिज भएको थियो, जुन पोस्टरलाई लिएर विवाद सुरु भएको हो।

फिल्मका निर्देशक ओम राउत, निर्माता भुषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकीनाका पुलिस स्टेसनमा उजुरी परेको छ । यो उजुरी सञ्जय दीनानाथ तिवारीले दिएका हुन्। जो आफूलाई सनातन धर्मको प्रचारक मान्छन्। उजुरीमा फिल्मको पोस्टरले हिन्दु धर्मको भावनामाथि ठेस पु¥याएको आरोप लगाइएको छ।

फिल्मको नयाँ पोस्टरविरुद्ध मुम्बई उच्च अदालतका अधिवक्ता आशीष राय र पंकज मिश्राको माध्यमबाट सञ्जयले उजुरी दर्ता गराएका हुन्। ‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।

फिल्मको नयाँ पोस्टरले हिन्दु धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यसकारण भारतीय दण्ड संहिताको धारा २९५(ए), २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ।

फिल्म हिन्दु धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट प्रभावित भएर बनाइए पनि पोस्टरमा पुरुष कलाकारले जनै नलगाएकोमा उजुरीकर्ताको विरोध छ।

त्यस्तै फिल्मको पोस्टरमा अभिनेता कृति सेननलाई सीताको रुपमा प्रस्तुत गरे पनि उनलाई अविवाहित महिलाजस्तै बिना सिन्दुरमा देखाइएको आरोप छ। उजुरीकर्ताले फिल्मको पोस्टरले सनातन धर्मको अपमान गरेकाले यसले भविष्यमा भारतका विभिन्न राज्यको नीति तथा कानूनका लागि खतरा हुनसक्ने चेतावनी दिएका छन्।

हालै सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *