उपनिर्वाचनमा माओवादीले किन दिएन उम्मेदवारी ?

शरद रिजाल
२२ चैत २०७९ १४:३७

काठमाडौं। आसन्न बैशाख १० गते हुन लागेको देशका तीनवटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा माओवादी उम्मेदवारविहीन भएको छ।

दश दलीय गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरेको माओवादीले उपनिर्वाचनमा उम्मेदवार नहुँदा अन्य दलका उम्मेदवारलाई समर्थन गर्ने हैसियत मात्रै कायम भएको छ।

देशभरका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुल लागेको उपनिर्वाचन अन्तर्गत माओवादीले कतै पनि उम्मेदवारी दिन सकेन। तनहुँ- १, चितवन- २ र बारा- २ मा यही बैशाख १० मा उपनिर्वाचन हुँदैछ।

गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु विविध कारणले संसद सदस्य नरहेपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

तनहुँ- १ बाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा माओवादीले कांग्रेसका गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। कांग्रेसकै गोविन्द भट्टराईलाई माओवादीले सघाउने भएको छ।

चितवन २ मा गएको निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गर्दै सम्पूर्ण पदबाट मुक्त गरेसँगै सो क्षेत्र रिक्त भएको थियो।

चितवन- २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। गएको निर्वाचनको मतपरिणाम अनुसार रास्वपाका सभापति लामिछानेको बलियो जनाधार मानिएको उक्त क्षेत्रमा माओवादीले कांग्रेसका श्रेष्ठलाई समर्थन गर्ने जनाएको छ।

यस्तै बारा- २ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीलाई गठबन्धनका कांग्रेस माओवादीले समर्थन गरेको छ।

सरकारको नेतृत्व गरेको पार्टीले गठबन्धनका घटकलाई सघाउने भन्दै उम्मेदवारी नदिने निष्कर्षमा पुगेको माओवादीले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन नसक्नुलाई माओवादीको राजनीतिक कमजोरीका रुपमा समेत औंल्याउन थालिएको छ।

माओवादीका सचिव डिलाराम आचार्यले यस अगावैको निर्वाचनमा माओवादीले तीनवटै क्षेत्रमा उम्मेवारी नदिएका क्षेत्र भएकाले यस पटक गठबन्धनको भावना अनुरुप उम्मेदवारी नदिएको बताउँछन्।

उनी भन्छन्, ‘यसअघिको निर्वाचनमा माओवादीले यी कुनै पनि क्षेत्र लडेको होइन त्यसैले गठबन्धनको मर्म अनुरुप उम्मेदवारी नदिइएको हो।’
एक आपसमा भिड्दा सत्ता सहकार्य गरिरहेका दलहरुका बीचमा तिक्तता बढ्ने भएकाले उम्मेदवारी नदिने निष्कर्षमा माओवादी पुगेको उनले बताए।

उनले भने, ‘हामीले जितेको निर्वाचन क्षेत्र पनि होइन फेरि यस अगावै पनि हामीले उम्मेदवारी नदिएरै गठबन्धनलाई नै सहयोग गरेकाले यसपाली सोही सहकार्यलाई नै निरन्तरता दिइएको हो।’

उनका अनुसार गएको निर्वाचनमा हाल रिक्त भएका उक्त क्षेत्रमा माओवादीका उम्मेदवारले उम्मेदवारी नदिएकाले यसपाली उम्मेदवारी नदिइएको हो।

तीनवटै निर्वाचन क्षेत्रमा दलगत उपस्थिति नरहेको माओवादीले तनहुँ- १ मा स्थानीय माओवादी कार्यकर्ताले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उम्मेदवारी दिनुपर्ने दबाव दिएका थिए। तर, कार्यकर्ताको भावनालाई लत्याउँदै प्रचण्डले कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गर्न पुगेका थिए।

तनहुँबाट काठमाडौं आएर पार्टी अध्यक्षलाई भेटेका नेताहरुले उक्त निर्वाचन क्षेत्रमा माओवादीको उल्लेख्य मत रहेको बताउँदै गठबन्धनमा उम्मेदवारीको अडान कायम राख्न आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *