जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

डिसी नेपाल
२४ चैत २०७९ ९:११

मोरङ। गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन्। पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ।

बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए। विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो। पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक÷एक गोल गरेका थिए।

यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलअन्तरले हरायो। आर्मीका लागि रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई तथा रञ्जित राउत र देवसिंह धामीले एक/एक गोल गरेका थिए।

यस्तै तेस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशले बराबरी खेलेका थिए। दुवै टोलीका तर्फबाट दुई/दुई गोल भएको थियो। कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेसका लागि पङ्कज दाहाल र राहुल साहले गोल गरेका थिए।

यही चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागिय टोली आर्मी र पुलिस क्लबका साथै कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। नेपाल हक्की सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *