विकासको लहरमा पछि परेको नेपाल
बिकासको लहर एक परिवर्तनको लहर हो। यसको विकासको क्रम आदि अनादिकालदेखि नै चलिआएको कुरा वेद, पुराण, इतिहास र वर्तमानलाई हेर्दा राम्ररी थाहा हुन्छ।
बैदिक कालमा देवता ऋषिमुनिले आफ्नो दैवी शक्तिद्वारा अनेक वस्तुको उत्पत्ति गरी आफ्नो आवश्यकता पूर्ति गर्दथे। त्रेता युग र द्वापर युगमा भगवान श्री रामचन्द्र र भगवान श्रीकृष्णको दैवी अनुकम्पाले त्यस बेलाका दैवी प्रकृतिका मानवहरु मिलेर अनेक संरचना, दरबार, महल, पोखरी ताल तलैया बनाइ भविष्यका पिँडीलाई सुम्पेका थिए। यो कुरा आजको भारत देशमा हामी प्रशस्त पाउँछौं।
सत्य युगमा भगवान ब्रम्हा, विष्णु र महेशले आ-आफ्नो कर्म अनुसार कसैले सृष्टिको, कसैले स्थितिको विकास र कसैले विकासको लहरसँग अनेक परिवर्तन गराएका थिए।
तर समयको गतिको परिवर्तनले सत्य युगको परिवर्तन पछि त्रेतायुग, त्रेतायुगको परिवर्तन पछि द्वापर युग र द्वापर युगको परिवर्तन पछि कलियुगको आगमन भएको पाइन्छ।
कलियुगमा पनि लाखौँ लाख वर्षको विभिन्न प्रकृतिको विकासको परिवर्तन पछि ब्याक्टेरियाको प्रतिक्रियाबाट अनेक किसिमका जलचर र स्थलचर प्राणीको उत्पत्ति पश्चात प्राकृतिक विकासको क्रममा भयानक शरीर भएका डायनाशोर र म्यामोथ जस्ता जनावर र विशाल शरीर भएका काला डरलाग्दा मान्छेको आगमन भई समयकै परिवर्तनको क्रममा आखिर यी दुवै प्राणीहरुको लोप हुन गइ सभ्य मानिसको आगमन भएपछि मानिसको सँगै बस्ने बानी भएपछि मावन ढुंगे युगमा प्रवेश गरेको पाइन्छ।
प्रथमतः मानव पहिले सँगै बसेर सभ्य बन्ने लागे। बिस्तारै सबै कुराको विकास गर्न थाले। कर्मशील बन्दै गए। विकाशको लहरकै क्रममा सिन्ध घाँटीको सभ्यता ३९००-८०० इसापूर्व सम्म चल्यो।
१५००–८०० इसापूर्व सम्म वेद र ब्राम्मणको विकास रह्यो। त्यपछि ८००- ६०० सम्म उपनिषद्, १४००-८०० सम्म महाभारत लडाइँ, ६००-५०० सम्म महावीर र वुद्ध, ४००-३००० इसापूर्व सम्म चन्द्र गुप्त मौर्य, ६००-५०० सम्म गीतायुग, ४००-३०० इसापूर्व सम्म पतंजलि युग, १००-१५० इसापूर्व सम्म नागार्जुन युग, ४७०-४७५ सम्म एलिफान्टा केभ युग ९००-११०० इसापूर्व सम्म फेरि उपनिषद् युग, १०००-१२०० इसापूर्व सम्म खजु राओ मन्दिरको युग, ८००-१२०० सम्म गोरखनाथको युग, अनि १७८३ मा आएर राजा मानशिंहको युग हुँदै १७५७ मा भारतमा ब्रिटिश राज शाशनको बिकाश भयो।
यो शासन १८५७ हुँदै सन् १९४७ सम्म रह्यो। यो युगको फेरी लगाउने क्रममा संसारमा धेरै विकाशका संरचना निर्माण भैसकेका थिए। सारा बेलायत, ग्रीस, फ्रान्स जर्मन जस्ता देशरुमा धर्मको नाममा ठूला ठूला चर्च, मस्जिद र अनेकौं दरबार निर्माण भए। विकाशको लहरको काम टुंगिएन।
अनेकौं कारखानाहरु र उद्योग खोलिए। व्यापारको विकास बढ्यो। मानिसले आफ्नो आवस्यकता पूरा गर्न अनेकौं कुरा निर्माण गरे। करिव १५०० वर्ष त निर्माण मै लागे र आज बिश्वलाई नै चकित पार्ने विशाल दरबार, किल्ला, मन्दिर मस्जिद र गुम्बाहरु र धार्मिक केन्द्रहरु निर्माण भए।
विकासकै क्रममा र निर्माणकै क्रममा हजारौं लाखौँ मानिसले ज्यान गुमाए होलान्। तर, निर्माणको काममा कुनै कमी रहेन। लहर त्यो हो, जो घाम पानी, चीसो तातो र रोगको कुनै मतलब राख्दैन।
ठूल्ठूला लड़ाइँ प्रथम विश्व युद्ध र द्वितीय विश्व युद्ध भए होलान्। प्लेग रोगको माहामारी चल्यो होला। तर संसारभर विकासको लहर भने रोकिएन।
आज त्यो क्रमले गर्दा युरोप आज युरोपजस्तो भएर बाँचेको छ, अमेरिका त्यस्तै छ। अरु देशहरु जस्तै इटाली,फ्रान्स, जर्मनी, चीन, रुस, इरान, लेबनान, नर्वे, न्युजिल्याण्ड, स्वीडेन, हंगेरी, जापान आदि देश आज विकासको चुलीमा पुगिसकेका छन्।
विश्वका विकासका लहरलाई राम्ररी केलाएर हेर्ने हो भने विश्व भ्रमण गर्ने नेपालका पुष्कर शाहलाई नै थाहा होला जसले विश्वका २ ५४ वटा देशको भ्रमण गरी विश्वलाई ४/५ पटक परिक्रमा गरेका छन्। कि १५/२० वटा देशको भ्रमण गर्ने देशका नेताहरु वा बिज्ञलाई थाहा छ ती देशका विकास र विकासका लहरको बारेमा।
यसरी हजारौँ वर्षको मानिसको अथक परिश्रमले बनेको आजको विश्वमा झन् आजको बिज्ञान र प्रबिधि जोडेर हेर्ने हो भने पृथ्वी आज अचम्मको बस्ती भै सकेको छ। संसारले विकासको गति समातेको करिव ५ सय वर्ष मात्र होला।
त्यो बेलामा नेपाल पनि आफ्नै स्वाभालम्बनमा अडेको देश थियो। लिच्छवीकालको समय हेर्ने हो भने यसलाई नेपालको स्वर्ण युग भनिन्थ्यो। मल्लकाल पनि ठिकै थियो। राजा रजौटा र राष्ट्रप्रेमी व्यक्तिले नेपालमा धेरै कुराहरु बनाए।
लिच्छवी र मल्ल कालीन राजाले मठ मन्दिर निकै बनाएर देवपूजनमा विभिन्न जग्गा सुम्पेका थिए। तर राजनीतिमा धेरै खिचातानी भैरहेकोले देशले त्यत्ति खोजे जस्तो विकाशको लहर ल्याउन नसकेको इतिहासले बताउँदछ।
तर जे भएपनि लिच्छवी, मल्ल र शाहवंशका राजाले आफ्नो कालमा आफ्नो गच्छे अनुसारको विकास गरेकै मान्नु पर्दछ। छोटकरी भन्दा बिकासको लहर रोकिएको थिएन। पछी राणाहरुको पालामा पनि विकास नभएको होइन।
स्कूल, कलेज, धारापानी र खेतीपातीको जीवन सरल थियो। ठूला ठूला दरबार त्यही बेलामा बन्न पुगे अफिस अस्पताल पनि खुलिसकेका थिए। कुनै चिज पनि बिगारेर ध्वस्त पारेको सुन्नमा आएको थिएन।
आज त्यही राणाले बनाएको सबै दरबारमा आजका लोकतन्त्र र गणतन्त्रमा नायक निर्धक्क बसेर काम गरिरहेका छन्। एउटा देशको मूल प्रशासन चलाउने भव्यको महल बनाउन सक्ने सामथ्र्य २०४७ साल भन्दा पछाडिका सरकारमा हुनेले गर्न सकेनन्।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको डंका पिट्नेले हालसम्म नेपालमा के-के गरे त्यो हेर्न बाँकी नै छ। आज विश्वतिर नघुमी मात्र चीन र भारत मात्र हेरे हुन्छ। उनीहरुको विकासको लहर कति बेगले दौडिरहेको छ। नेपाल यो विकासको लहरमा एकदम शून्य जस्तै रहेको छ।
प्रजातन्त्र आएको यत्रो वर्षमा पनि देशमा खासै उन्नति हुन नसक्नु, जनताहरुको जीवनमा खासै उन्नति हुन नसक्नुमा कसको दोष छ भन्दा पहिला देश हाँक्ने नेता नै हुन्।
नेताको पछिपछि लागेर मादल बजाउने झोले कार्यकर्ता हुन्। यिनैका पछि लागेर पढेलेखेका विद्वान हो मा हो भनी आफ्नो योग्यताको मूल्य थाहा नपाउने नागरिक हुन्। अनि यसैमा झ्याली पिटीपिटी रमाई वर्षौंको जीवन बिताउने नेपाली जनातानै हुन् भन्दा अन्यथा नहोला।
देशमा जति बिगारे सपारे पनि त्यो भन्दा पनि बढी बिगार्ने काम भने २०४७ साल पछि आएका एमाले, कांग्रेस, माओबादी र अन्य तराइका लोभ र निजी स्वार्थमा चुर्लुम्ब डुबेका नेता नै बढी जिम्मेवार छन्। नेताको स्वार्थीपना, अदूरदर्शिता, अनभिज्ञता र केटाकेटीपनले देश आज संसारको अगाडि मुख देखाउन लायक भएको छैन।
देशको राजनीति स्वरूप हेर्दा, अर्थनीतिको कुरुपता देख्दा, शिक्षा नीतिको बिजोग देख्दा, चिकित्सा नीतिको दिशाहीनता देख्दा, सार्वजनिक सडक यातायातको हरिबिजोग देख्दा, सरकारी कामको संयन्त्रको अबलोकन गर्दा र समग्र देशलाई नियाली हेर्दा देश आज सांच्चिकै बेवारिसे अबस्थामा धकेलिँदै गएको देखिन्छ। आजको नेता के चाहन्छन्, देशले खोजेको साँच्चैको ब्यबस्था के हो यो कसैले पनि खुल्ला रुपमा खुलाएका छैनन्।
एकपछि अर्को जंगबहादुर बनी सत्ता सम्हाल्ने प्रबृत्ति बढ्दै गइरहेको छ। त्यही कारण यहाँ विकासको लहर आउने कुनै सम्भावना देखिँदैन। माओवादीको जनयुद्धले थिलोथिलो पारेको देशको सम्पूर्ण क्षेत्रमा बिकासको लहर पुनस्र्थापना गर्न अझै कम्तिमा २५ वर्ष विज्ञहरु बताउँछन्।
लोकतन्त्र आएको तीसौं बर्षसम्म पनि देशमा विकास, उन्नति र समृद्धिको घन्टी बजाई अहिलेका नेताले जनताहरुलाई भ्रममा पारेर ठगिरहेको देख्दा हालिमुहाली गरिरहहेका अहिलेका नेताबाट नेपालमा बिकासको लहर आउँछ भन्ने कुरा दिवास्वप्न जस्तै हो।
राजनीतिलाई व्यवसाय बनाउने नेताबाट देशको विकास असम्भव छ। देश विकासको लहर बोल्दैमा हुने होइन। यो कर्म, लगनशीलता, इमान्दारिता र दूरदर्शिताको परिणामको स्वरूप हो। आज विश्वको विकासको लहर हेर्दा अचम्म लाग्दो छ।
के छैन संसारमा त्यस्तो चजी जो मानिसले नखोजेको होस्। विकासको क्रममा वा लहरमा के बनेन संसारमा त्यस्तो अचम्म, जो मान्छेले न चिताएको होस्। आज बेलायत, अमेरिका, रुस, चीन, फ्रान्स, जापान, जर्मनी, भारत र अरु युरोपियन देशहरु र नोर्डिक देशको विकास हेर्दा नेपालले सबै कुरामा मुख लुकाएर हिँड्नु पर्ने बेला आएको छ।
यो देश नेपालमा को त्यस्तो नेता छ जसले विकासको लहरको रेखा कोर्न सकोस्। को त्यस्तो अर्थविद छ जसले आर्थिक विकासमा संसारलाई चुनौती दिन सकोस्। को त्यस्तो शिक्षविद् छ जसले नेपालको सम्पूर्ण शिक्षा प्रणालीलाई नयाँ प्रणालीमा ढाल्न सकोस्।
को त्यस्तो चिकित्साविद् छ जसले नेपालको चिकित्सा प्रणालीलाई आमुल परिवर्तन गर्न सकोस्। नेपाल अझै यस्ता व्यक्तिको खोजीमा निरन्तर लागिरहेको छ। हेरौं कहिले भेटिन्छ र कहिले नेपालमा विकासको लहर आउँछ।
Facebook Comment