कथा : लामिछाने बा का सात भाइ छोरा

ईश्वर अर्याल
२८ चैत २०७९ ७:४०

लामिछाने बा का सात भाइ छोरा। उमेर छँदै उनको निधन भयो। परम्परा अनुसार जेठो (वीरबहादुर) ले गृहस्थ सम्हाल्नु पर्ने भयो। जेठो छोरो निकै चलाख, हाँको-डाँको ठूलै थियो।

समाजमा कुरा राम्रै बिक्थ्यो उसको। टोल-छिमेकमा कसैलाई दुःख पर्दा, देखावटी नै सही, उपस्थिति जनाउँथे। नयाँ-नयाँ कुरा ल्याउँथे, नयाँ काम गर्नु पर्छ भन्थे। काम हुने नहुने फरक कुरा हो, सहमति सबैलाई जुटाउँथे, मख्ख सबैलाई पार्थे।

एकदिन उनले सदा झैं नयाँ जुक्ती निकाले। तराईबाट नयाँ मुर्रा रांगो ल्याउने, ब्याडको लागि र आफ्नो गाउँ भरी निःशुल्क सेवा दिने, छिमेकमा भने शुल्क लिने।

यसरी सेवा पनि हुने भयो र व्यापार पनि। गाउँ भरी हल्ला फिजाए, निःशुल्क सेवा पाउने भएपछि गाउँले खुशी भए। यातायतको साधन थिएन गाउँसम्म ल्याउन। केही परबाट रांगो बोकेर ल्याउनु पर्ने थियो। सोझा गाउँले सहमत नहुने कुरै भएन, सबै मन्जुर भए, रांगो बोकेर गाउसम्म ल्याउन।

फाल्गुन–चैतको महिना थियो। ब्याडे रांगो, पर पोखरीथोक सम्म गाडीमा आयो। गाउँलेहरुलाई लिन खबर पठाइयो। सबै जम्मा भए। डोलीमा दुलही भित्र्याए झैं गरी लामिछाने बाकोमा मुर्रा रांगो धुमधामसँग भित्र्याइयो।

वीरबहादुर सबै कुरा थाहा पाएर पनि केही बोलिरहेका थिएन। सायद मनमनै भन्दै थियो होला-मेरै योजना, मेरै लगानी, मैले नै फाइदा नपाएपछि, तिमीहरुलाई दिनु त!’

साँझ पर्‍यो, सबैलाई थकाई लाग्यो, गाउँले सित्तैमा सेवा पाउने आशमा मख्ख पर्दै घरतिर लागे।लामिछाने दाजुभाइ भोलिदेखि आफ्नो आम्दानी बढ्नेमा हिसाब गर्दै, मख्ख पर्दै आ-आफ्ना घरतिर लागे।

जेठो छोरा निकै चलाख। उनी लगानी गर्ने बित्तिकै फलको आश गर्ने खालका थिए। धैर्य गर्नै नसक्ने, समय कुर्नै नसक्ने, फाइदा चाँडो हुनुपर्छ भन्ने स्वभाव थियो उनको। घरमा पुगे। सदा झैं खाना खाए। बिस्तारामा पल्टिए। मनमा अनेक कुरा खेल्न थाले उनका।

रांगो त ल्याइयो, पाल्ने कसरी? सात भाइले घाँस कसले काट्ने, स्याहार कसले गर्ने, आम्दानी कसरी भाग लगाउने। यी धेरै कुरा सम्झदै अबेरसम्म निद्रा लागेन। अन्त्यमा एउटा जुक्ति निकाले।

सबै भाइले एक-एक महिना पालो गर्ने। चैतको महिना छ, यो बेला रांगोको सिजन हो। यो पहिलो महिना मेरो पालो। भोलि भाइहरुलाई यो कुरा भन्ने र यो महिना आफूले पाल्ने र मनग्य आम्दानी लिने।

रांगोको चिन्ता सबैलाई थियो, त्यसैले बिहान सबै सबेरै उठे। मुलघरमा जम्मा भए। कसरी पाल्ने आम्दानी कसरी लिने, यो सबैको मनमा थियो। यो बिषयमा छलफल हुनु पर्ने थियो। जेठाले नै कुरा सुरु गरे, हतार जो उनैलाई थियो।

“रांगो एक-एक महिना सबैले पालौ, यसो भएपछि स्याहार गर्नेदेखि आम्दानी लिनेसम्म सबैलाई सजिलो, हुँदैन त?,’ जेठाले भने। सबैले मुन्टो हल्लाएर सहमति जनाए। सबैको मनमा यो चैत्र महिना सिजनको बेला, आफूले पाल्न पाए हुन्थ्यो भन्ने लागेको थियो।

फेरि जेठाले भने, ‘राजाको पनि जेठो छोरा नै राजा हुन्छ, म पनि जेठो परेँ, पहिलो महिना म पाल्छु, अर्को महिना माहिला त पाल, यसरी क्रमशः पालो गरौं हुन्न?’ एकछिन सन्नाटा छायो। कोही बोलेन।

एकछिन पछि कान्छाले भन्यो, ‘अंश लिँदा कान्छाले रोज्ने चलन छ नि हाम्रो समाजमा। त्यसैले म पाल्छु। फेरि श्रीमतीको पनी यस्तै इच्छा छ।’ एकैछिनमा फेरि माइलाले भन्यो, ‘सबैलाई थाहा छ, ब्यबहारमा अलिक निम्सरो म छु, पहिलो महिना मै पाल्छु।’ सबैलाई राम्रोसँग थाहा थियो कि यो सिजन हो भन्ने। त्यसैले सबैले पहिला आफूले पाल्नेमा जोड गरे।

पिँढीको डिलमा बसिरहेकी बुढी आमाले दिक्क मान्दै भनिन्, ‘यति जाबो सानो कुरामा पनि मन मिलेन है तिमीहरुको।’ झर्किँदै भनिन्, ‘ठूलो छोरा! त के भा को? तँ दाइ होस नि! भाइहरुलाई पो पहिला पालो दिनु पर्ने हैन र?’ जेठो चुपचाप बस्यो। केही बोलेन।

फेरि बुढी आमाले भन्नुभयो, ‘मेरो लागि सबै बराबर। त्यसो हो भने चिठ्ठा हाल।’ यतिबेलासम्म छिमेकीहरु पनि जम्मा भै सकेका थिए। ‘हो–हो आमाले ठिक भन्नु भयो’ छिमेकीले एकै स्वरमा भने।

सबै सहमत भए चिठ्ठा हाल्न। चिठ्ठा तयार गरियो। थुत्ने काम जेठालेनै गरे, उनैलाई हतार थियो। सबैले आ–आफ्नो चिठ्ठा निकाले र हेरे। १ नं माहिलालाई पर्‍याे, २ नं कान्छालाई, ‘यसरी ७ नं जेठालाई।

जम्मा भएका मध्ये एकजनाले प्वाक्क बोले ‘हतार गरेर कहाँ हुन्छ, भाग्यमा जे छ कही जादैन।’ यो सुनेर जेठा रातोपिरो भए र भन्न थाले, ‘रांगो पाल्ने जुक्ती मेरो, मै अन्तिम, कसरी हुन्छ?’

आमाले बीचैमा भन्नुभयो, ‘बाबु नियम कानुन सबैले मान्नुपर्छ, यसमा ठूलो सानो कोही हुन्न, भाइहरुलाई चित्त बुझाउन सकिस् भने मेरो भन्नु केही छैन।’
जेठाले भन्यो, ‘भाइहरु, के गर्ने कसरी मिलाउने।’

माहिलाले भन्यो, ‘भाग्यले जे दियो, त्यसैमा मन बुझाउँ।’ सबैले हो मा हो मिलाए। छलफल टुंगियो। सबै आआफ्ना घरतिर लागे।

दिनभर जेठालाई छटपटी भयो। मनमा धेरै कुरा खेलाउन थाले। उनको स्वभाब अनुसार नतिजा आएन, सोचे जस्तो भएन। यसो हिसाब गरे, चैतमा माहिलो भाइ, बैशाखमा कान्छो गर्दै आफ्नो पालो असोज–कार्तिकमा पर्ने भयो। यो जाडोको समय हो, सिजन हैन। जाडो समय हुनाले त्यति ब्यापार चल्दैन। उनलाई निकै छटपटी भयो। के गरौं कसो गरौं भै रह्यो।

साँझ खान खाए, सदा झै अबेर स्तिारामा पल्टिए। निन्द्रा पटक्कै लागेन। श्रीमती खुशी हुँदै नयाँ व्यापारको कुरा झिक्थिन्, उनी अनेक बहाना गर्दै पन्छाउथे।

‘रांगो कस्तो छ, कति आम्दानी हुन्छ, कसरी पाल्ने हो, म त मज्जाले कुडो पकाएर खुवाउछु’, आदि कुरा गर्दै श्रीमती खुशी हुन्थिन् तर उनी चासो दिइरहेका थिएनन्। श्रीमती दंग परिन्। केही भन्न सकिनन्। मनमनै सोच्छिन्,’ योजना उनैको हो, फेरि किन खुशी छैनन्’ तै पनि सोध्ने आँट गरिनन् र कोल्टे फर्केर सुतिन्।

उता जेठा (वीबहादुर) निकै सोच्न थाले। मनमा अनेक कुरा खेलाउन थाले। निकै बेर सोचेपछि जुरुक्क उठे र बाहिर निस्किए। श्रीमतीले, शौचालय जानु भएको होला भन्ठानेर वास्ता गरिनन्, सुतिरहिन र बाटो हेरिरहिन।

निक्कै बेरपछि ढोकाको आग्लो बजेको सुनिन् र भनिन्, “हैन कहाँ जानु भएको यतिका बेरसम्म, सन्चो छैन कि कसो हजुरलाई’। ‘सन्चै छु,’ छोट्टो जवाफ दिए र सुते वीरबहादुर।

राति अबेरसम्मको अनिदोले होला वीरबहादुर कि श्रीमती ढिला उठिन्। उनी उठ्दा गाउँमा ठूलै हल्ला खल्ला भइसकेको थियो। के रहेछ बुझ्नुपर्‍याे  भन्दै मुलघर तिर के लागेकी थिइन्, माइली देउरानी नजिकै आएर रुँदै भनिन् ‘दिदी बर्बादै भयो नि, रांगो त भिरबाट लडेर मर्‍याे , कुन असत्तीले यस्तो गर्‍याे।’ हत्त न पत्त गोठमा गएर हेर्छिन् दाम्लो मात्रै। उनी पनि छक्क परिन्। केही बोल्नै सकिनन् र घरतिर लागिन्।

गाउँले सबै जम्मा हुँदै थिए। एकैछिनमा वीरबहादुर पनि आए। उनलाई देख्ने बित्तिकै आमा भन्दै हुनुहुन्थ्यो, ‘हेर न जेठा यो के देख्नु पर्यो, यस्तो के आइलाग्यो हामीलाई।’

सिँत्तैमा सेवा पाउने आशमा बसेका गाउले एक स्वरले भन्दै थिए, ‘ए वीरबहादुर दाइ, यो के भयो, यस्तो कसरी भयो?’

वीरबहादुर सबै कुरा थाहा पाएर पनि केही बोलिरहेका थिएन। सायद मनमनै भन्दै थियो होला-मेरै योजना, मेरै लगानी, मैले नै फाइदा नपाएपछि, तिमीहरुलाई दिनु त!’

लेखकः ईश्वर अर्याल, त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *