प्रधानमन्त्रीको सचिवालयमा प्रचार गर्नका लागि पत्रकारको नियुक्ति

 परिणाम भन्दा प्रचारमा सरकारको अग्रसरता

शरद रिजाल
२८ चैत २०७९ १२:३०

काठमाडौं। प्रधानमन्त्री पुष्पककमल दाहाल प्रचण्डले सचिवालयमा भटाभट कार्यकर्ता नियुक्त गर्न थालेका छन्। उनले नेता कार्यकर्ताको लाभको पदीय ब्यवस्थापनका लागि सरकारी राजनीतिक नियुक्तिलाई बढावा दिएका हुन्।

गएको निर्वाचनमा टिकट नपाएका र पराजय ब्यहोरेकालाई यसपाली प्रचण्डले राजनीतिक नियुक्तिमा अवसर दिएका छन्। नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि माओवादीमा राजनीतिक नियुक्तिका आकांक्षीको चाङ लागेको छ।

प्रधानमन्त्री हुनुपूर्व नै प्रचण्डले सार्वजनिकरुपमा अन्तिम पटक सरकारको नेतृत्व गर्ने अवसरको पर्खाइमा रहेको बताएका थिए। उनको सोही लालसाले नै प्रधानमन्त्री बन्न दुइवटै चुनावको सहयात्री दल कांग्रेसलाई लत्याउँदै एमालेको शरणमा पुगेर प्रधानमन्त्री बनेका थिए।

जतिपटक सरकारमा पुगेपनि पार्टीको खस्किँदो ओज र सांगठनिक ओरालो बुझेरै उनले अहिलेको कार्यकाललाई अन्तिम भनेको बताइन्छ। प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्ति नै माओवादीको आगामी दिनमा शक्ति सञ्चयको दृष्टिले सरकारको नेतृत्व गर्ने उपयुक्त अवसर नआउने स्वीकारोक्ति हो।

यही अवसरलाई उपयोग गर्न माओवादीका नेता कार्यकर्ता राजनीतिक नियक्तिमा तछाडमछाड नै चलेको छ। माओवादीका नेता कार्यकर्ता राजनीतिक नियुक्तिमा हानथाप गर्दै हिँडेको स्वयम् माओवादीका नेता कार्यकर्ता बताउँछन्।

प्रधानमन्त्रीले सचिवालयमा समेत पछिल्लो समय नियुक्तिको क्रम चलिरहेको छ। उनले पार्टीमा असन्तुष्टलाई समेत सचिवालयमा जागीर दिलाएका छन्।

सोमबार मात्रै प्रधानमन्त्रीले प्रमुख प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्त गरेका छन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएका आचार्य माओवादीका लाभ पाउने पत्रकार मध्य अग्रपंक्तिमा पर्दछन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षसमेत भएका उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा समेत प्रेस सल्लाहकार रहेका थिए। माओवादीले सुरु गरेको जनयुद्धमा सामेल भएका उनी माओवादीको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक हुन्।

यस्तै यसअघि नै नियुक्त भएका सचिवालयका टिममा अधिकांश निकटतम व्यक्तिहरु नै रहेका छन्। कतिपय पद नपाएर असन्तुष्ट र कतिपय पारिवारिक नातेदारहरुको भर्ती केन्द्र बनाइएको छ।

यस अघि नै प्रधानमन्त्री प्रचण्डले सचिवालय टिममा प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेल नियुक्त भइसकेका छन्।

गएको निर्वाचनमा सिन्धुली- २ को आकांक्षी रहेका गजुरेल चुनावमा टिकट नपाएपछि असनतुष्ट बनेका थिए। उनैको असन्तुष्टि साम्य गर्न प्रचण्डले राजनीतिक सल्लाहकार बनाएका हुन्।

त्यस्तै परराष्ट्र सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त भएका छन्। उनी निवर्तमान सभामुख एवं माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा हुन्।

यसअघि प्रेस हेर्नेगरी सचिवालयमा प्रेस विज्ञका रुपमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भइसकेका छन्। यी दुबै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन्।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तु दराई नियुक्त भइसकेका छन्। उनी माओवादी शान्ति प्रक्रियामा आएयता नियमित रुपमा प्रचण्डको सचिवालमा रहेका छन्।

अर्को स्वकीय सचिवमा रमेश मल्ल रहेका छन्। उनी माओवादी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को पूर्वअध्यक्षसमेत हुन्।

यस्तै स्वकीय सचिवमै प्रधानमन्त्री प्रचण्डकै छोरी गंगा दाहाल समेत छिन्। उनी नै सचिवालको प्रमुख र निर्णायक भएको बताइन्छ। उनकै मनोमानी र हस्तक्षेपमा प्रधानमन्त्रीको कार्यसम्पादन हुने र समग्र सचिवालको परिचालन नै उनीमार्फत हुने स्रोत बताउँछ।

जनसम्पर्क विज्ञमा बुद्धि जिसी नियुक्त भएका छन्। उनी प्रचण्डका पारिवारिक नातेदार पर्दछन्। उनले प्रचण्डका सम्धी रेणु दाहालका ससुरा टिबी पाठककी छोरी बिहे गरेका छन्। रेणुको नन्दसँग बिहे गरेका उनीे यसपटक गुल्मी २ (ख) बाट लुम्बिनी प्रदेशसभामा उम्मेदवारी दिएका थिए। यद्यपि पराजित हुन पुगे।

राजनीतिक नियुक्तिमा आकांक्षीको लर्को, पदका लागि हानाथाप

माओवादीमा पछिल्लो समय लाभको पदप्राप्ति गर्ने हानाथाप नै चलेको छ। सरकारको नेतृत्व गर्ने अन्तिम अवसरको रुपमा लिइएको प्रधानमन्त्री प्रचण्डको कार्यकाललाई कार्यकर्ताले सरकारी राजनीतिक नियुक्तिमा तछाडमछाड नै गरेका छन्।

माओवादीका एक नेताका अनुसार प्रधानमन्त्रीको सचिवालय रहेर काम गर्न र सरकारी राजनीतिक नियुक्तिका इच्छुकको लर्कोले सिंहदरवार र बालुवाटार भरिभराउ हुने गरेको छ। आजभोलि पार्टी कार्यालय प्रायजसो सुनसान देखिन्छ।

ती नेताका अनुसार लाभको पद र राजनीतिक नियुक्तिका आकांक्षीको नामावली हालसम्म १३०० नाघिसकेको छ। यो क्रम अझै बढ्दो छ। पछिल्ला दिनमा माओवादीका नेताहरु पार्टी कार्यालयमा भन्दा बालुवाटारमा आकांक्षीको लर्को लागेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले सचिवालयमा ४५ जनासम्म नियुक्त गर्न पाउँछन्। उनले हल्का सवारी चालकदेखि सल्लाहकारसम्म नियुक्त गर्न पाउने ब्यवस्था छ। हाल प्रधानमन्त्रीको सचिवालयमा १६ जना नियुक्त भएका छन्।

स्वकीय सचिव र सहसचिव लगायत अन्य कर्मचारीहरु प्रधानमन्त्री स्वयमले नियुक्त गरेपनि सल्लाहकारको नियुक्ति भने मन्त्रिपरिषद् बैठकले गर्ने कानूनी प्रावधान रहेको छ।

याे पनि पढ्नुस्

‘जनयुद्ध’ लड्ने जनताका छोराछोरी, पदका हकदार प्रचण्डका नातेदार !




प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको सचिवालयमा प्रचार गर्नका लागि पत्रकारको नियुक्ति

  1. माओबादिको नीति नै ठिक छैन श्वेच्छाचारि नीति लागू गर्छ जनभाबना अनुरुप यौटामात्रै पनि काम गर्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *