अघिल्लो वर्ष सुल्झन नसकेको लाल मोहम्मद हत्याकाण्ड
काठमाडौं। गत ३ असोजमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
नेपालमा भारतीय अपराधीहरुले उतैबाट सुटर ल्याएर उनको हत्या भएको भन्ने निष्कर्ष बाहेक प्रहरीले हत्यारालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
२०७९ सालको एउटा ‘हाइ प्रोफाइल’ बनाइएको यो हत्याकाण्ड सबैभन्दा बढी चर्चामा आएको थियो। उनी आफैँ शंकास्पद हुनु र उनीमाथि पटक पटक आक्रमण हुनुले हत्यापछि उनको बढी चर्चा भएको थियो।
प्रहरीले दिएको जानकारी अनुसार पाँच वर्षअघि लालको हत्या गर्न ‘सुपारी’ लिएर आएका दुई भारतीय ‘सार्पसुटर’लाई प्रहरीले जोरपाटी नारायणटारबाट पक्राउ गरेको थियो।
प्रहरीको विशेष ब्युरो (एबी)ले २१ असोज ०७४ मा रक्सोलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई नारायणटारबाट पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले हतियारसमेत बरामद गरेको थियो भने प्रहरी वृत्त बौद्धमा मुद्दा चलेको थियो।
उनीहरुले त्यतिबेला पनि लाल मोहम्मदमाथि आक्रमण प्रयास गरेका थिए। प्रहरीले लामो समयसम्म उनको हत्याको विषयमा खोजी गर्यो हत्याराहरु भारत प्रवेश गरेको भन्दै उनीहरुलाई ल्याउन भारतीय सुरक्षा अधिकारीहरुसँग पहल पनि गरेको थियो।
गत माघमा भारतीय सुरक्षा अधिकारीहरुले खोजेर पठाइदिने आश्वसन पनि दिएका थिए। तर अहिलेसम्म ल्याउन वा पठाउन सकेको छैन।
अन्य अपराध भन्दा पनि यो अन्तरदेशीय अपराध भएकै कारण बढी चासो हुने भएकाले भारत र नेपाल दुवै पक्षका सुरक्षाकर्मीले समान चासो दिनुपर्नेमा अहिलेसम्म यसलाई त्यतिकै राख्न लागेको आभाष हुन थालेको छ।
प्रहरीका अनुसार लाललाई ०७४ को असोज दोस्रो साता नारायणटारस्थित उनको गार्मेन्ट कारखानामै हत्या गर्ने प्रयास भएको थियो। उनको गार्मेन्ट कारखाना त्यसबेला नारायणटारमा थियो। भारतबाट हत्या गर्न आएका दीपककुमार र रञ्जन जबर्जस्ती गार्मेन्टमा छिरेका थिए।
त्यसक्रममा लालकी छोरीसँग उनीहरूको घम्साघम्सी परेको थियो उनीहरूले हतियारसमेत निकालेका थिए। तर, मोहम्मद नभेट्टाएपछि उनीहरू फर्किएका थिए। २०७९ साल असोज ३ मा त्यही समूह आएर उनीमाथि आक्रमण गरी हत्या गरेको प्रहरीको दाबी छ।
त्यसअघि लाललाई भारतीय सुटरले नक्खुस्थित कारागारभित्रै गोली प्रहार गरी हत्या गर्ने योजना बनेको थियो। प्रहरीका अनुसार विशेष ब्युरोका एक पूर्वअधिकृतका अनुसार केन्द्रीय कारागार सुन्धरामा रहेका युनुश अन्सारीको हत्या प्रयासकै बखत उनको हत्या गर्ने योजना थियो।
युनुशमाथि २६ फागुन ०६७ मा केन्द्रीय कारागारभित्रै छिरेर हत्या प्रयास भएको थियो। त्यतिबेला अनामनगरमा भएको एक हत्या अभियोगमा पक्राउ परेका लाललाई ललितपुरस्थित नक्खु कारागारमा राखिएको थियो।
प्रहरीले योजनाको सुराकी पाएपछि उनलाई कारागार व्यवस्थापन विभागले रसुवास्थित कारागारमा गोप्य तबरले सरुवा गरेपछि उनी बचेका थिए।
लाल मोहम्मद २० असार ०६४ मा अनामनगरस्थित पुलमा नक्कली भारतीय नोटका कारोबारी बलराम पटुवारको हत्यामा संलग्न थिए। ‘सार्पसुटर’को भूमिकामा रहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो।
सोही अभियोगमा उनी पुर्पक्षका लागि नक्खु कारागार पुगेका थिए। काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध नौ वर्ष कैद सजाय सुनुवाइ गरेको थियो। सजाय भुक्तानपछि उनी २५ जेठ ०७३ मा जेलमुक्त भएका थिए।
उनी जेलबाट छुटेदेखिनै भारतीय अपराधीको निगरानीमा परिसकेका थिए। त्यसैको परिणाम गत असोज ३ मा उनीमाथि गोली प्रहार भएको थियो। तत्कालिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तत्कालिन एसएसपी जनकराज भट्टराई नेतृत्वमा अनुसन्धान समिति बनेको थियो।
सो समितिले उनीमाथि भारतीय अपराधीले गोली प्रहार गरेको निष्कर्ष निकालेको थियो। त्यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले असोज १४ मा लाल मोहम्मद हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूबारे जानकारी दिइएको थियो।
प्रहरीको दाबी अनुसार‚ २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँ घटनाका योजनाकार एवं हतियार व्यवस्थापनको भूमिकामा देखिएका थिए। दुवै जना वीरगञ्जका भएपनि उनीहरुको खास ठूलो भूमिका देखिएको थिएन।
मकवानपुरको बकैया गाउँपालिकाकी २१ वर्षकी सुमी भनिने सुस्मिता स्याङ्तानले चाहिं मोहम्मदको गतिविधि निगरानी गर्ने जिम्मा पाएकी थिइन्। उनीहरुलाई पक्राउ गरेर नेपाल प्रहरी अहिले चुपचाप बसिरहेको छ।
Facebook Comment