निगुरो बेचेर मनग्य आम्दानी

डिसी नेपाल
३ वैशाख २०८० १०:५९

कावासोती। पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन्। उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो ६ जना परिवारको खर्च चलाउँदै आएकी छन्। दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने उनी बताउँछिन्।

मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन्। पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जङ्गलमा निगुरो पाइन्छ। शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने गरेको छ।

चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेशगरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ। बिहान झिसमिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन्। स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन्।

वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन्। विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन्। दुई दशकदेखि नारायणी नदी आसपासका जङ्गलको निगुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएकी  कावासोती–१२ गैरीकी माया नेपाली बताउँछिन्।

गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक तीन–चार सय जनाले निगुरो टिप्दै आएका छन्। धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन्। यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउउँछन्।

यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन्। स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझी बताउँछिन्। माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन्।

निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो सङ्कलन गर्ने गरेका छन्। वनमा भेटिने एकसिङ्गे गैँडा, बाघको डर मात्रै होइन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउँछन्।

विषेशगरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा सङ्कलन गर्दै आएका छ्न्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *