उदयपुरमा हाटबजार पुनः सञ्चालन

डिसी नेपाल
३ वैशाख २०८० १५:२३

उदयपुर। उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन्।

लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्। लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्तौँदेखि सञ्चालित हाटबजार सञ्चालनमा ल्याउनु जरुरी भएको बताए।

“हाटबजार सञ्चालन हुँदा किसानको उत्पादन बिक्री गर्न सहज हुन्छ, बाहिरका अन्य वस्तु पनि हाटबजारमा नै किन्न सकिन्छ”, उनले भने। गाउँपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ।

यस्तै द्वन्द्वकालमै बन्द रौतामाई गाउँपालिका– १ माझखर्क डाडाँको हाटबजार यही वैशाख १ गतेदेखि सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए। व्यापारिक दृष्टिकोणले हाटबजार सञ्चालन आवश्यक भएको उल्लेख गर्दै उनले स्थानीयको सहजतालाई ध्यानमा राख्दै हाटबजार पुनःसञ्चालन गर्नुपरेको बताए।

बन्द भएका अन्य हाटबजार पनि पुनःसञ्चालनमा ल्याइने उनको भनाइ छ। रौतामाई–५ को सल्ले बजार तथा वडा नं ४ को रसुवाघाटको हाटबजार पनि चाँडै सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *