बसन्त ऋतु राग
ऋतु राज बसन्त नेपाललाई झलमल्ल पार्ने गरी बल्ल आएको छ। शिशिर यामको कठाग्रिँदो चिसो र उजाड प्रकृतिलाई बल्ल पछाडि पार्दै बसन्त आगमनको लहरमा मौसमको सुनौलो याममा समस्त माधुर्य लिएर पदार्पण गरेको यो समय आफैंमा एउटा सौन्दर्यको उदय हो।
सारा नेपालमा नविनता छाएर हरेक पुष्प बाटिकामा फूलका कोपिलापनि फक्रिन थालेका छन्। हिमालमा हिउँ पग्लिन थालेको छ। पाहडका घना रुखहरुमा नयाँ पालुवा लाग्न थालेका छन्। तराइका सम्म भूमैदानमा धान, गहुँ र तोरीका लटरम्म बाला र फूलहरु फुल्न थालेका छन्।
सारा प्रकृतिमा आमोद प्रमोद छाएको छ। बसन्त ऋतुको सुन्दर सजावटले सम्पूर्ण प्रकृति आज सिंगारिएकी दुलही जस्तै भएकी छिन्। सम्पूर्ण प्रकृति आज मधुशाला बनेको छ।
यही मधुशालामा रमाउँदै आज एक लेखक आफैं बसन्त ऋतुको मधु प्यालाको रस पिएर सानन्दमा दुई आँखाहरु घुमाउँदै प्रकृतिको महालयमा सहर्ष सुरिलो भाखा हाली बनको बीचमा वनै घन्काउँदै कोइलीका मिठा र सुरिला ‘काफल पाक्यो’ का स्वरमा नादहरुलाई कुन चाहिँले नरुचाउलान् र। भनिन्छ, प्रकृतिमा आज आमोद प्रमोदको वर्षा भैरहेको छ। यसो हेर्दा सिंगो प्रकृति नै संगीतमय बनेको छ।
यो बसन्त ऋतुको सुहानी सफरमा आज विश्वका पूर्वकालका कवि, दार्शनिक, क्यानभासमा चित्र कोर्ने कलाकार, राजनीतिज्ञ, चिकित्सक, धर्मकावेत्ता,अर्थवेत्ता, समाज सुधारक सबै मिलेर यो धर्ती नेपालमा आएर आआफ्ना विधाहरुलाई पुनर्जीवित गरी नेपालाई झन् सुन्दर सुशील र रमणीय भूमि बनाउन दत्तचित्त भएर लागेका छन्।
यही बसन्त ऋतुमा प्रकृति कवि विल्लियम वोर्ड्स वोर्थ डाफोडील्स फूलहरुको माथि माथि फन्कामारी अर्को ‘सोलीटरी रिपैर’ कविता कोरिरहेका होलान्।
महाकवि लक्ष्मीप्रसाद देबकोटा फेरि आएर अर्को ‘मुना मदन’ लेखिरहेका होलान्। भारतका प्रसिद्ध संविधानविद पी.अम्बेडकर आएर नेपालको लागि अत्यन्त हितकर संविधान बनाइरहेका होलान्।
पृथ्वीनारायण शाह आएर फेरि सात टुक्रामा टुक्र्याइएको देशलाई एक बनाउन लागी परेका होलान्। सारा बन्द गरेका र बेचेका उद्योग कलकारखाना पुनर्जीवित गराउन फेरि राजा महेन्द्र आफ्नो पुरानो सोच बनाउन लागेका होलान्।
राजनीतिको बेथितिलाई पुन थितिमा ल्याउन लोह पुरुष गणेशमान सिंह, बिपी कोइराला र कृष्णप्रसाद भट्टराइ फेरी आएर आन्दोलनको तयारीमा रहेका होलान्।
धरासाही बनेको अर्थतन्त्रलाई सुधार्न विश्वका प्रसिद्ध अर्थशास्त्री किन्स र भारतका प्रख्यात अर्थशास्त्री नानाभाइ पालकेवाला, बिमल जलन, अम्रित्य सेन र कौशिक बसु जस्ता व्यक्ति जुटेका होलान्।
फेरि यही बसन्त ऋतुको मौका छोपेर हिन्दू संस्कृतिलाई छिन्नभिन्न पारेको सहन नसकी शिव दुर्गा माताहरु त्रिशुल र तरबार उठाई पुन फर्काउन लागिपरेका होलान्।
यसरी साराका सारा पूर्वजहरु यो असरल्ल नेपालको परिस्थितिलाई यही बसन्त ऋतुको मौका पारेर सुधार्न सबै लागेका होलान्। तसर्थ यो बसन्त ऋतुको नेपालमा आफ्नै किसिमको महत्व र महिमा छ।
औंसीको कालो रातमा पनि कोहिला हीराजस्तो टल्किने यो देश प्रजातन्त्र आएको ७२ बर्षको बसन्त ऋतु पछि पनि जस्ताको तस्तै रहनु यो देशको दुर्भाग्य हो।
नेपालका शासकलाई चौबिसै घण्टा बसन्त ऋतु आइरहने तर देशलाई प्रकृतिले दिएको बसन्त ऋतुमा पनि शिशिर यामको जाडोमा झैं कठाँगिएर पचासौं बर्षसम्म रहनु पर्ने जस्ता असमानतालाई जनताले कहिलेसम्म सहेर बस्नु पर्ने हो थाहा छैन।
संसारको अगाडि यो देश नेपाल भूलोकमा रहे पनि भूबर्लोकमा रहेको जस्तो भान हुने यो देशमा सधैं बसन्त ऋतुको आगमन रहोस्। कसैको जीवनमा पनि शिशिर यामको तुसारापात नाओस्। देशको आर्थिक जगतमा बसन्त छाओस्। राजनीतिमा बसन्त आओस्।
उद्योग कलकारखाना मकैको फूल उठेजस्तो जुरुक्क उठ्न र सारा नेपालीको जनजीवनमा यही बसन्त ऋतु आओस् जहाँ सबै कुरा फक्रिन सकुन् र फूल्न सकुन्।
समस्त बसन्तको माधुर्य लिएर साथमा
हेर ,सौन्दर्य नेपाल विश्वमा,
बसन्त मेरो निमग्न भयो फूल सुबासमा।
चल्यो हावा सुगन्धको, वनैभरी सुवासको
तरंग रंग फैलियो, बसन्त कोकिला कण्ठको।
बासना छरियो सबैतिर, वनफूल रम्यो दिलमा
ईश्वर छमछम नाच्न थाले, स्वर भाका मृदंगमा।
न सित बाधा छ, न त घामको तप
न बाग नांगा छन्, न त बृटिशको पिर।।
आयो प्रकृतिनै उर्लेर, अब मेरो समिपमा
झरी वर्षा झुली घाम, चिसो तातो नगिचमा।।
बसन्त ऋतुको नाच, चारैतर्फ सबैतिर
कहीं यो पनि त्यस्तै जाने होइन? कतैतिर।
यही नै हो बसन्त ऋतु रागको महिमा।।
Facebook Comment