‘सडक २’की बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा

डिसी नेपाल
४ वैशाख २०८० १३:१४

मुम्बई। बलिउड अभिनेत्री क्रिसन परेरा लागुऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन्। ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन्।

करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागुऔषधको आरोपमा पक्राउ गरेको थियो। परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन। त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दुतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो।

छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन्। उनीहरुले छोरीलाई फँसाइएको आरोप लगाएका छन्। ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौं। मेरो बहिनी निर्दोष छिन् र उनलाई लागुऔषध मामलामा फँसाइएको छ। थाहा छैन मानिसहरु उनीबाट के चाहन्छन्। अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन्।

उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन्। ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो। एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिइन्। त्यसपछि रविले अप्रिल १ मा मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी शपमा भेट्न बोलाएको थियो। त्यसपछि अडिसनको हिस्सा भनेर एक ट्रफी दिएको थियो। उसले त्यो ट्रफी घरमा ल्याई, जहाँबाट लागुऔषधको गन्ध आइरहेको थियो’, उनले भनेकी छन्।

क्रिसनको परिवार छोरीलाई जेलबाट छुटाउन जतिसुकै रकम दिन तयार छन्। उनीहरुले दुबईको एक स्थानीय वकिल भाडामा लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *