‘बिहे पास’ हेर्न दर्शकको घुँइचो
काठमाडौँ। नयाँ वर्षको अवसरमा वैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।
श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ।
संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको फिल्ममा अभिनेता दयाहाङ राई सरकारी जागिर खान प्रयत्न गर्ने पतिको भूमिकामा छन् भने उनकी पत्नीको भूमिकामा अभिनेत्री प्रकृति श्रेष्ठ र ससुरो बनेका बिशाल पहाडी सरकारी अधिकृत छन्। फिल्मले सरकारी जागिरको कुरा मात्र होइन,नेपाली जनजीवनका बिबिध आयामलाई पनि रोचकताका साथ प्रस्तुत गरेको छ।
नेपाल–भारत सीमामा चोरी बाटोबाट हुने तस्करी,कर्मचारीको घुस्याहा मनोबृति,लोकसेवा पास गर्न आर्थिक चलखेल,प्रहरी तथा कर्मचारी प्रशासनलाई प्रभावमा पार्न बिबिध हतकन्डा अप्नाउने डनगिरीलगायतका बिबिध बिषयलाई समेटेको छ।
हाँसो,रोमान्स,यथार्थता तथा सेन्टिमेन्टस्को समेत समुचीत संयोजन रहेको फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन्। उनले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘अमेरिका ब्बाइज’ ले पनि तारिफ पाएको थियो।
नयाँ बर्षको पहिलो र दोश्रो दिन ‘बिहे पास’ ले देशभर हाउसफूलको ब्यापार गरेको थियो भने त्यसपछिका दिनमा पनि दर्शकको राम्रो साथ पाइरहेको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन्। उनले आइतबारसम्मको ब्यापारबाट आफूहरु नाफामा गइसकेको बताएका छन्।
फिल्ममा दयाहाङ र प्रकृतिका साथमा सुभाष गजुरेल,श्याम राई,बिशाल पहाडी,बुद्धि तामाङ,हिउँवाला गौतम,नवीन शेरचन,उमा बानियाँ,प्रकाश भुजेल,रुषा न्यौपानेलगायतका कलाकारले अभिनय गरेका छन्।
आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने रत्न श्रेष्ठ कार्यकारी निर्माता छन्। शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन्। रामजी लामीछानकोको कोरियोग्राफी रहेको फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन्।
Facebook Comment