कथाः सिंगल मदर

खेमराज पोखरेल
९ वैशाख २०८० ६:४६

टेरीसँग हिजो निकै भित्रिया कुराहरू गरेको थिएँ। रातभरि निद लागेन। तन्द्रामा पुगेको थिएँ सायद, अचानक डल्लीको आकृति अगाडि आयो। कहाँ होली डल्ली? के गर्दै होली डल्ली? डल्लीलाई सम्झिन थालेँ। टेरी र डल्लीलाई तुलना गर्न थालेँ। दिमागमा निकै ठूलो दबाब परेछ कि क्याहो, तन्द्रामा पनि बेचैन भएँ छु।

त्यो दिन डल्लीको दोकान अगाडि भिड थियो। एकाएक गाउँमा हल्ला चलेको थियो कि ‘डल्लीले भुँडी बोकी।’ यो खवर त्यो गाउँमा मात्र सीमित रहेको थिएन। पल्लो गाउँ, उपल्लो गाउँ, तल्लो गाउँभरि चैतको बेकामे हुरीझैँ फैलिएको थियो।

सुकेको सन्ठीमा दन्दनाएर आगो लागेझैँ भएको थियो। पँधेरे, गोठाला, खेताला, हाटबजारे यो समाचारका सम्वाहक बनेथे। झोस्तै हिँडेथे। मानौ उसले भुँडी बोक्नु हुँदैनथ्यो। मानौ बोकेर उसले ठूलै पाप गरेकी थी। मानौ त्यो गाउँमा कसैले बोक्दैनथे। मानौँ त्यो भुँडी कुनै साइँदुवा बाबुसाहेबबिना उसले एक्लै बोकेको हो।

त्यसबेला म निकै फुच्चे थिएँ। तर म सिनेमाको पर्दामाझैँ सम्झिरहेको छु। मेरो गाउँको ठुटे बजारको छेउमा चियाचमेना दोकान र रक्सी भट्टी चलाउँथी डल्ली। बजार भन्नु उसको चिया चमेना उर्फ रक्सी भट्टी थियो। एउटा ठाकुरको सैलुन पनि थियो।

पान दोकान भट्टीसँगै जोडिएको थियो। एउटा सानो किराना दोकान थियो लगनलाल साहुको। त्यो दोकान सानो थियो, तर औषधि र चलानी रक्सी, कालीबाबाको बुटी, र चलानी कपडा त्यही किराना दोकानमा पाइन्थ्यो। चलानी रक्सी त्यही दोकानबाट किन्थी डल्ली।

सहर थिएन त्यो, साधारण आम गाउँझैँ थियो। रक्सी भट्टी पनि आम तीनपाने थियो। होची होची थिई। गोरी थिई। मिजासिली थिई। फरासिली थिई। उसको गोरो अनुहार तराइको घामले डढाएर टाटे पारिदिएको थियो।

उसले गधा पच्चीसे काटेको दश वर्ष भइसकेको थियो होला। तर पनि ऊ सुन्दर देखिन्थी। बिहानदेखि दिन ढलुञ्जेल चिया चमेना बेच्थी। साँझ परेपछि भुटनसँग तीनपाने बेच्थी। लोकल भाषामा ‘स्यान्टाराम’ भन्थे त्यसलाई।

ऊ कताबाट त्यो गाउँमा आएकी थिई कसैलाई थाहा थिएन। कोही भन्थे कि ऊ रामेछापबाट आएकी हो रे। लोग्नेले सौता ल्यायो रे अनि सौताले कुटेर लघारी रे। ऊ आएको पनि बर्सौँ भइसकेको थियो। एक्लै बस्थी। उसलाई दोकानको काममा सघाउने मान्छे थिए।

गाउँको एउटा जक्सन भएको थियो उसको दोकान। गाउँकी अङ्ग भएकी थिई ऊ। पन्चेती कचहरी बस्नु पर्यो भने डल्लीकै दोकान अगाडिको चौरमा बस्थ्यो। मित्रमिलनदेखि लिएर शत्रुदमनसम्म त्यही डल्लीको दोकानमा हुन्थ्यो।

जबसम्म सामाजिक जीवनमा आमरूपमा प्रेम, मैथुन, विवाह, सन्तानलाई अलगअलग तरिकाले अथ्र्याइँदैन त्यति बेलासम्म सामाजिक स्वतन्त्रता एकादेशको अनाम चराको नाम हो । तिमीहरूले भेउ पाउँदैनौ।

डल्लीले भुँडी बोकेको विषयमा पन्चेती बसेको रहेछ त्यो भिड। चार गाउँका गन्यमान्य उपस्थित भएथे। पुलिस, प्रशासन पनि बोलाइएथे। प्रधानले डल्लीलाई सोधेथे, ‘कसको भुँडी बोकिस् ए डल्ली, लु भन् त, उसैलाई जिम्मा लाउनु पर्‍याे।’

ऊ बोलिन। ऊमाथि स्थानीय महिला अगुवाबाट सिमालीका सिर्कना बर्सिए। उसलाई कसैले पाता फर्काए। ऊ रुन थाली। फेरि कसैले फकायो। उसले फेरि भनिन।

फेरि सिर्कना बर्सियो। ऊ बाध्य भएर बोली, ‘पर्धान बा, म कसरी भनूँ कसको हो?’ ‘सुत्ने बेलामा आँखा देखिनस्। अहिले कसरी भनूँ? जसरी सुतेकी थिइस्, त्यसैगरी भन्।’ पुलिस हवल्दार करायो।

ऊ डरले काम्दै थिई। उसका पिँडुलाबाट छरछरी रगत बगिरहेको थियो। कपाल भुतालिएको थियो। शरीरका कपडा भताभुङ्ग थियो। असहाय थिई। उसको पुस्टिएको भुँडीको सेता छाला उदाङ्गो थियो। ऊ लाचार थिई। र बाध्य भएर भनी, ‘डिट्ठा काजीको, दीर्घप्रसादको, थानेदारको, मन्त्रीको, ठेकेदारको, जयरामेको, … , …, …।’

ठूलै हल्लखल्ल भएथ्यो। र गण्यमान्य एउटा निष्कर्षमा पुगेथे कि डल्ली फुस्की। बहुलाई। जे पनि बोल्न थाली अब त। कर्चीका डामका बिचमा पनि डल्ली त्यही कुरा दोहोराइरहेकी थिई।

अनि सबैले खर्च हालेर अर्धो निम्छरो गरिव तोरणे कान्छालाई जिम्मा लाए। अलिकति सम्पत्ति पाएकोले तोरणे खुसी नै भयो र पन्चेतीमा हाकाहाकी भन्यो, ‘हो, म डल्लीसँग सुतेको हुँ। यो भुँडी मेरो हो।’

हुनत त्यहाँ उपस्थित सबै मान्छेलाई त्यो भुँडी तोरणेको हो भन्ने पत्यार थिएन। किनभने मान्छेले रातको अबेरसम्म रमाकान्त डिट्ठा काजीलाई डल्लीको भट्टीमा बसेको देखेका थिए। हिमचिम थाहा पाएका थिए। घरमा बूढी हुँदाहुँदै पातकी बूढो भन्थे।

प्रधानका छोरा दीर्घप्रसादले डल्लीलाई सहर लगेको पनि थाहा पाएका थिए। गाउँमा हल्ला चलेको थियो कि पूर्व सहायक मन्त्री चौरसियाले त डल्लीलाई रखौटी बस् पनि भनेथे रे। ठेकेदार इद्रिस महमदको त रासोबासो नै त्यही रक्सी भट्टी थियो।

खास भन्ने हो भने उसको यो ठेकेदारीको अड्डा नै थियो। गाउँका पण्डितका छोरा जयराम पाध्ये त बाउसँग जजमानी गरेर आएको पैसा डल्लीलाई नै दिएर सक्यो भन्थे मान्छे।

‘खली थानादारले त्यसै रक्सी भट्टी खोल्न दिएको छ र?’ भन्थे मान्छे। ‘आइमाई नभै त यो थानादार बस्नै सक्दैन’ भनी पिठ्यूँपछाडि गाइँगुइँ गर्थे गाउँले। तर पन्चेतीमा सबै तैँ चुप मै चुप भएका थिए। त्यहाँ त्यो गाउँका शिक्षक भेला भएका थिए।

महिला कार्यकर्ता भेला भएका थिए। समाज परिवर्तन गर्नु पर्छ भन्ने मान्छे पनि थिए। सबका सब चुप थिए। अन्यायको साक्षी थिए। उसको सम्वेदनामा प्रकृतिले एउटा रुवाइ निकालिरहेको थियो। साँझ परेको हुनाले स्याल कराएका आवाजहरू आइरहेथे। डगरका सिमालीका झ्याङहरू पनि सायद रुँदै थिए।

अनि डल्ली भने आफ्ना रगताम्य पिँडुला घिसार्दै उक्सिएको पेटलाई धुलाम्य मजेत्रोले छोप्दै कहिल्यै नछोइएको तोरणेका पछि स्वास्नी भएर लागेकी थिई। उसले कसैको बिगार गरेकी थिइन। उसको बैँस थियो।

त्यो बैँस नआइज भने पनि आइहाल्थ्यो। बैँस भोग्न तयार सुकिला ब्वाँसाहरू थिए। ब्वाँसाहरूले छ्याप्छ्याप्ती सिकार खेलेको त्यो मान्छे नामक जनावर बस्ने जङ्गलमा ऊ नै पो कसरी जोगिन सक्थी र?

यो न्याय होइन भन्ने परिरह्यो पछिसम्म मलाई। किन पो डल्लीलाई त्यसरी कुटे होलान् भन्ने लागिरह्यो। त्यो बेला मेरो बाल मष्तिष्कमा लागेको थियो कि ‘कान्छी काकीले भुँडी बोक्दा कुटाइ खानु नपर्ने अनि डल्लीले किन कुटाइ खानु पर्ने?’

समय बित्यो। म सहर पसेँ। पढेँ। जागिर खाएँ। मेरो सम्पर्क समाज परिवर्तन गर्नुपर्छ भन्नेहरूसँग पनि भयो। यथास्थितिवादीसँग पनि भयो। पुरुषगामीसँग पनि भयो।

महिलागामीसँग पनि भयो। ढोँगीसँग पनि भयो। समाज निकै परिवर्तन भएको पनि थियो। महिला अधिकारकर्मीको बाक्लो उपस्थिति थियो। ती पार्टीका आधारमा पनि विभाजित थिए।

डल्लीलाई सम्झन्थेँ। तत्क्षण म मेरै वरिपरिको समाजमा घटनाहरूमा सिङ्गल मदरको दर्शन खोज्दै थिएँ।

मेरो एउटा अधिकृत साथीकी श्रीमती पार्टीको नेता थिइन्। दुवै पढेलेखेका थिए। एउटा छोरो थियो। आगोपानी बाराबार भयो। मुद्दामामिला चल्यो। ऊ स्वास्नीलाई राजनीतिक नेतासँग सल्केकी चरित्रहीन भन्थ्यो। स्वास्नी उसलाई संकुचित परस्त्रीगामी भन्थी।

मैले एकदिन भाउजूलाई सोधेको थिएँ, ‘कति लडाईँ गरिरहनु हुन्छ? बरु पारपाचुके गरेर एकल महिला हुुनु नि।’

जवाफ आएको थियो, ‘हाम्रो परिवारमा अहिलेसम्म कसैले गरेको छैन यो पारपाचुके। हामी महिलामाथि समाज झन् क्रुर बनेर आउँछ, पारपाचुके गर्‍याे  भने।’

अनि मैले भनेँथेँ, ‘तपाईँको पार्टीले त सिङ्गल मदरको कुरो गर्छ त।’

जवाफ आएथ्यो, ‘कुरा गर्नु एउटा कुरा हो तर भोग्नु अलग कुरा हो नि।’

म एकदम चुप लागेको थिएँ।

यस्तै मेरी अर्की साथी जागिरे पनि थिइन्, महिला आन्दोलनकी अगुवा पनि थिइन्। बहुदल आएकै थियो । राजनीतिक पार्टीमा लागेकी हुनाले जागिर मिलाएर तलब खान्थिन्। र नेतासँग देश दौडाहामा जान्थिन्। गइरहन्थिन्।

घरमा काम गर्ने १८ वर्षे एउटी सहयोगी केटीसँग उनका श्रीमान् सल्के छन्। घरमा उधुम भयो। लोग्ने त्यही केटीलाई लिएर बाहिरियो।

एकदिन मैले उनलाई भनेको थिएँ, ‘पारपाचुके दिनुस्। नमुना बन्नुस्। अग्रगामी बन्नुस्।’

अनि उनले मलाई जबाफ दिएकी थिइन्, ‘सम्पत सर, भन्न पो भएन। पारपाचुके गरेर यो सिँदुरपोते के गर्नु? समाजले के भन्छ? एकल महिला भनेपछि फेरि लोग्ने मान्छेका गिद्धे नजर। बरु होस्।’

उनी एकल महिला पनि बन्न सकिनन्। सिङ्गल आमाको त के कुरो भयो र?

अर्को घटना सम्झिएको छु। एउटा जोईपोइ दुवै मेरा साथी थिए। श्रीमती राजनीतिमा पूर्णकालीन थिइन्। श्रीमान् चाहिँ राम्रा जागिरे। एकदम मिलेका थिए। उनीहरू समाजका लागि नमुना मन मिलेका जोडी ठानिन्थे। बाहिर बजारमा भनेँ श्रीमतीलाई जेपायो त्यही भन्थे मान्छे।

एकदिन उसले र मैले टन्न रक्सी खायौँ। रक्सी लागेथ्यो। मैले उसलाई भनेँथे, ‘अरे यार, तेरी श्रीमती त बबाल सोर्सवाल छिन्। यसपल्ट त टिकट पाउने हल्ला छ त।’

उसले लामो निश्वास फेरेथ्यो। चुरोटको धुवाँ आकाशतिर गोलाकार पार्दै फ्याँकेथ्यो र भनेथ्यो,

‘सम्पत सर, तपाईँ भाग्यमानी हो। कम्तीमा स्वास्नी त अँगालाभरि छे। मान्छे मेरी श्रीमतीलाई जिल्ला अध्यक्षसँग सल्केकी भन्छन्।

म सुन्छु, बुझ पचाउँछु र पनि बाँचेकै छु। रातको १० बजे आफ्ना अँगालाबाट उछिट्टिएर परपुरुषसँग मोटरसाइकलमा टाँसिएर हिँडेकी श्रीमती देख्दा कस्तो पीडा हुँदो हो मलाई। तपाईँलाई खोइ थाहा छ र?’

ऊभित्रको हीन पुरुषग्रन्थी एकदम चिच्याएको थियो। ऊ फेरि भन्न थालेथ्यो, ‘म पारपाचुके गर्न सक्दिनँ। सन्तान छन्। जहर पिएर पनि हाँस्दै हुन्छु। कसलाई के भन्नु?’

तर एकपल्ट रणसङ्ग्राम मच्चिए छ दुवैको।

मैले दुवैलाई एकैठाउँमा राखेर सम्झाउने प्रयास गरेको थिएँ, ‘हेर तिमीहरू दुबै मेरो साथी। यस्तो रडाको पाराले जीवन कसरी चल्छ? अन्डरस्ट्यान्डिङ मिलाऊ, मिल्दैनौ भने बरु पारपाचुके गरेर आआफ्नो बाटो लाग।’

अनि तत्काल श्रीमती बोलेकी थिइन्, ‘तपाईँ पनि पुरुष त हो नि, साथीलाई अर्को बिहे गराउँला भन्ने ठान्दै हुनु होला। म त्यो कदापि हुन दिन्न।’

म चुप लागेको थिएँ। तर मेरा मनमनमा एउटा प्रश्न भने आइरह्यो कि पढेलेखेका चेतनशील महिला त अन्याय सहन्छन् बरु, तर एकल महिला हुन तयार हुँदैनन् भने सिङ्गल मदरको कल्पना कसरी गर्नु र मेरो समाजमा।

डिभी पर्यो। परिवारसहित अमेरिका हान्निएँ । ग्यास स्टोरमा काम गर्न थालेँ। टेरी स्टोरमा प्राय सधैँ आउँथी। बियर किन्थी। चुरोट किन्थी। केही चिप्स किन्थी। बच्चालाई एउटा ठूलो डोनट किन्थी। मलाई कसिलो ‘हग’ गर्थी। त्यो ‘हग’ले मेरो शरीर, मन र इच्छा तरङ्गित हुन्थ्यो। रोमाञ्चित हुन्थ्यो।

एकदिन मैले उसलाई सोधेँथेँ, ‘टेरी, तिमी विवाहित हौ?’

‘होइन, म सिङ्गल हुँ ।’ उसको जवाफ थियो।

ऊसँग एउटा छोरो थियो। मैले त्यही छोरालाई देखाएर भनेँथेँ, ‘अनि छोरो?’

उसले जवाफ दिएकी थिई, ‘म सिङ्गल मदर हुँ। ऊ मेरो छोरो हो।’

‘अनि लोग्ने ?’ मैले आश्चर्य व्यक्त गरेको थिएँ।

ऊ मजाले हाँसेकी थिई। र भनेकी थिई, ‘लोग्ने भनेको बीऊ त हो नि स्याम्पत। बीऊ त जति पाइन्छ। बीऊ दिन लाम लागेर बसेका हुन्छन् लोग्नेमान्छे। तर बुझ्यौ, लोग्ने डिक्लियर गर्यो भने मेरो छोराको वंश उसकै नामथरबाट चल्छ। त्यो मलाई सैह्य छैन। नौ महिना भारी बोक्नु मैले, छाद्नुछेर्नु मैले, लाम्टा चुसाउनु मैले, रूप बिगार्नु मैले, स्याहार गर्नु मैले, अनि उसको छोरो?’

अनि मैले तुरुन्त सोधेँथेँ, ‘बाउको त टुङ्गो होला नि?’

ऊ अट्टहास पाराले हाँसीथी र भनिथी, ‘त्यो गर्भ रहेको बेलाका शारीरिक सम्पर्कहरू एकएक सम्झिएर डिएनए टेस्ट गर्यो भने यसको बाउ पनि पत्ता लाग्ला। पालन खर्च पनि पाइएला। तर त्यसो गर्यो भने मेरो छोरो त हुन्न नि।’

म अचम्मित भएर उसलाई हेरिरहेथेँ। अनि त्यो बेला मैले डल्लीलाई सम्झेको थिएँ। उफ डल्ली कहाँ जन्मी। कुन परिवेशमा जन्मी। कठै डल्ली। कठै नेपाली समाज। कठै नियति। चुस्ने पुरुष, सजाय भोग्ने डल्ली? उफ! कस्तो सामाजिक न्याय हो यो?

म एकोहोरिएको देखेर टेरीले सोधीथी, ‘के भयो स्याम्पत? चुप लाग्यौ त?’

मैले अनि हठात टेरीलाई सोधेँ, ‘अनि सेक्सुअल नेसेसिटी छैन?’

उसले तत्काल भनी, ‘छ नि, सेक्सुअल नेसेसिटी पनि नहुने प्रश्न हुन्छ।’

‘अनि कसरी परिपूर्ति हुन्छ त?’ मैले तुरुन्त प्रश्न गरेको थिएँ।

मेरो प्रश्न सुनेर ऊ मजाले हाँसेकी थिई। र भनेकी थिई, ‘यो के ठूलो कुरो भयो र?, मेरा दस बाह्रजना केटा साथीहरू छन्। मेरो आवश्यकता र उनीहरूको फुर्सदअनुसार बोलाउँछु। काम सक्छु। उनीहरू आफ्नै घर जान्छन्। न हरहर न कचकच। नत्र त लोग्ने नामको मान्छेसँग सुत्दा ऊ घुर्छ, त्यो सहनु पर्छ। उसले विकार डकार्छ, अधोवायु छोड्छ। मैले सहनु पर्छ। उसको स्वभावसँग, उसको जिउबाट निस्कने गन्धसँग कम्प्रोमाइज गर्नुपर्छ। को सकोस् त्यो झन्झट। सिङ्गल मदर नै ठिक। सरकारले पनि भत्ता दिन्छ, यसो गर्‍याे  भने।’

म स्तब्ध भएर उसलाई हेरिरहेको थिएँ। उसैले भनी, ‘किन यसरी हेरेको स्याम्पत?’

म कृत्रिम हासेँ। तर म डल्लीको पिडुलाबाट निक्लेको रगत सम्झिरहेको थिएँ। र पनि भने, ‘केही भएको छैन टेरी, त्यसै तिम्रो रोचक कथा सुन्दैछु।’

ऊ त झन् मजाले हाँसी र भनी, ‘यी कुरा कथा होइनन्। मान्छेको स्वतन्त्रताको वास्तविकता हो। जसरी धर्ममा मानवता हुन्न। मानवता पाउन मान्छे पूर्ण रूपले स्वतन्त्र हुनु पर्छ।’

‘के कुरा गरेको टेरी?, धर्म नै मानवताको स्रोत हो नि।’ मैले हतारहतार भनेँथेँ।

‘गलत। सवै धर्मका मान्छेले भन्ने बेलामा यो संसारको सृजना एउटै भगवान्ले गरेको हो भन्छन्। तर आफ्नो धर्मको भगवान्ले गरेको भन्छन्। तर एउटा धर्म र अर्को धर्मका बिचमा भएका लडाइँहरू त तिमीलाई थाहा छ नि। अलगअलग धर्मको त कुरै छाड, एउटै धर्मका विविध शाखामा भएको तनाब र झगडालाई हेर न। धर्म कहाँनजिक मानवतावादी भएको देखेका छौ र?’
अनि मैले भनेँ, ‘भयो यो कुरा छोड। अब बरु तिम्रै रोचक कुरा सुनाऊ।’

‘सुन्छौ मेरो अझ रोचक कुरा? हप्ता दिन पहिले एउटा इन्डियन केटो एउटा रकम्युजिकको कार्यक्रममा फेला पर्यो। केटो के भन्नु, अधबैँसे भनूँ न। ऊ शरीरले गठिलो थियो। हामीले खुव इन्जोय गर्‍याैं। अनि त ऊ मलाई ‘आइ लभ युृ’ भन्न थाल्यो। मैले उसलाई बेस्सरी हकारेँ, ‘वाइह्यात छौ तिमीहरू। के लभ यसरी एकै सर्कामा हुन्छ? तिमीहरू जेलाई पनि लभ भन्छौ। मैले तिमीसँग लभ चाहेको होइन। सेक्स चाहेकी हुँ। त्यो भयो, सकियो। तिमीले भन्ने गरेको प्रेम स्वार्थ हो। बस्। अनि ऊ हडबडाएर गयो। आत्तिएर गयो। बेवकुफ र मुर्ख रहेछ त्यो।’

म हाँसेँ। टेरी पनि हाँसी। अनि मैले टेरीलाई जिस्क्याउने पारामा भनेँ, ‘ठिकै त हो नि प्रेम नभै कसरी सहवास हुन्छ? कसरी मैथुन हुन्छ? त्यो बुँदासम्म पुग्न त फेरि एकअर्कामा आकर्षित त हुनैपर्छ नि।’

उसले मलाई भनी, ‘मैले तिमीजस्ता धेरै एसियाली मान्छेहरूसँग संगत गरेकी छु। न्यायअन्याय, आचारअत्याचार, मेलबेमेल जेजसरी भए पनि पारिवारिक ग्ल्यु चाहिँ बलियो हुन्छ तिमीहरूको। तर व्यक्तिगत स्वतन्त्रता भने तिमीहरूको लागि आकाशको फल हो। जबसम्म सामाजिक जीवनमा आमरूपमा प्रेम, मैथुन, विवाह, सन्तानलाई अलगअलग तरिकाले अथ्र्याइँदैन त्यति बेलासम्म सामाजिक स्वतन्त्रता एकादेशको अनाम चराको नाम हो । तिमीहरूले भेउ पाउँदैनौ।’

यति भनेर ऊ बाहिरिएकी थिई।

सायद सपना देख्न थालेँ जस्तो छ। सपना भन्नु पनि विपनाको तर्कना हो भन्छन्। घटना घरी सपनाको जस्तो लाग्छ, घरी विपनाको जस्तो लाग्छ । डल्ली र टेरी मेरासमिपमा उभिएका छन्। डल्ली उस्तै देखिएकी छे। डल्ली मलाई भन्दैछे, ‘सम्पत बाबु! त्यो मेरो भुँडी डिट्ठा काजीको, दीर्घप्रसादको, थानेदारको, मन्त्रीको, ठेकेदारको, जयरामेको मात्र थिएन; तिम्रा बाबुको पनि थियो।’

यति भनेर डल्ली टेरीमा रूपान्तर भई। टेरी डल्लीमा रूपान्तरण भई। उनीहरूको एकल अनुहार लाखौँका सङ्ख्या देखा पर्यो। त्यो सङ्ख्या सिंहदरवारका अगाडि जुलुस प्रदर्शन गर्न थाल्यो। डल्ली सिंगल मदरहरूको जुलुसको नेतृत्व गरेर टुँडिखेलमा नारा लगाउँदै थिई। मैले सुटुक्क डल्लीलाई सोधेँ, ‘केको जुलुस निकालेको डल्ली?’

उसले उत्तर दिएकी छे, ‘यो सिंगल मदरहरूको जुलुस हो।’

‘यो जुलुसको के आवश्यकता?’ मैले प्रतिपश्न गरेँ।

उसले भनी, ‘ल भन त सम्पत बाबु! संसारका सबै प्राणीले लोग्नेको टुङ्गो नलागी भुँडी बोक्न हुने, हामी महिलाले किन नहुने?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *