मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

डिसी नेपाल
५ वैशाख २०८० १२:४१

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए । विरन्दिप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद आमिरले १७, मुहम्मद स्याहादतले १५, सइद अजीजले १३, विजय उन्नीले १२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३–३ विकेट लिए । ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए ।

यो प्रतियोगिता एसिया कपको छनोट प्रतियोगिता हो । नेपालसहित मलेसिया, सिंगापुर, हङकङ, कुवेत, युएइ, ओमन, कतार, बहराइन र साउदी अरेबिया गरी १० टिम सहभागी यो प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा सहभागी हुन पाउनेछन् ।

एसिया कपमा ६ टिम सहभागी हुनेछन् । एउटा समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । अर्को समूहमा भारत र पाकिस्तान छन् । यो समूहको तेस्रो टिम छनोट हुन बाँकी छ । नेपालमा अहिले जारी प्रतियोगिताको विजेता भारत र पाकिस्तान भएको समूहमा तेस्रो टिमको रुपमा छानिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *