पोखराबाट सुरु भयो कान्तिपुरको ब्रह्माण्ड

डिसी नेपाल
५ वैशाख २०८० १४:४६

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज(मंगलबार) पोखरास्थित गुप्तेश्वर महादेवमा मुहूर्त गरी छायांकन शुरु गरिएको छ।

फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ । ओटीटी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नाम चलेका कलाकारहरूको अभिनय रहनेछ।

रियाज नाटक्कारको निर्देशन र सागरराज आचार्यको कार्यकारी निर्माण रहने सिरिजको फूल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिनेछ।

सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको अभिनय रहनेछ। सिरिजमा सुप्रज्ञा र सञ्जयको डेब्यू अभिनय हो।

सिरिजमा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ। प्रधानले ‘लुट’, ‘कबड्डी’, ‘छक्का पन्जा’, ‘दासढुंगा’, ‘उमा’, ‘नाई नभन्नु ल’लगायत ६० वटा भन्दा बढी व्यावसायिकसफल र अवार्ड विजेता फिल्मको छायांकन गरेका छन्। पुरुषोत्तम नयाँ कथा, नयाँ निर्देशक र नयाँ प्रस्तुतीकरणका फिल्ममा काम गर्न रुचाउँछन्।

एकेडेमीका सिइओ र सिरिजका क्रिएटिभ प्रोड्युसर प्रकाश पुरीले कलाकार अर्पण थापाले यही सिरिजबाट ओटीटी डेब्यू गर्न लागेको खुलाए। सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्मसँगै भारतको एक ठूलो ओटीटी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको छ।

एकेडेमीले केही समयअघि वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो। साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *