रवि लामिछानेका चालक थापालाई थप उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका निजी चालक शम्भु भनिने दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
मंगलबार शम्भुको बारेमा फेसबुकमार्फत अवस्था सार्वजनिक गर्दै सभापति लामिछानेले थापाको अवस्था स्थिर तर सुधारोन्मुख रहेको र चिकित्सक, परिवारजन एवं साथीभाईको सल्लाहमा थप उपचारका लागि काठमाडौं पठाइएको उल्लेख गरेका छन् ।
चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा करिब ३६ घण्टा गरिएको उपचारपछि एयर लिफट् गरी थापालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा लगिएको पनि लामिछानेले जनाएका छन् ।
लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टोलीप्रति आभार व्यक्त गर्दै थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको घाँटीको हड्डी भाँचिएको जानकारी चिकित्सकहरुले दिएका छ्न । उनको अझै होस खुल्न सकेको छैन् ।
चितवन क्षेत्र नम्बर दुईमा बैशाख १० गते हुने उपनिर्वाचनमा लामिछाने उम्मेद्वार छन् । सोमबारको घटना हुन अघि उनीहरु तनहुँको उपनिर्वाचनमा पुगेका फर्किएका थिए ।
Facebook Comment