मधेसवादी दुई दलबीचको लडाईंको फाइदा लिने दाउमा एमाले
![मधेसवादी दुई दलबीचको लडाईंको फाइदा लिने दाउमा एमाले](https://www.dcnepal.com/wp-content/uploads/2023/04/bara-e1681903610979.jpg)
बारा। तराई जिल्ला बाराको साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्ने क्रममा छ। उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन्।
केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन्। अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलोमै व्यस्त छन्। बाराको चर्को घामको प्रवाह नगरी उम्मेदवार घरदैलो गरिरहेका छन्।
देशभर उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेका बेला बाराको निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ। सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन्। चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन्।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौती दिएका छन्।
चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ। मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ।
बारामा एमालेका पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेका छन्। एमालेका पौडेल बलिया उमोदवार समेत हुन। पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेताका रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेका हुन्।
पौडेललाई अन्य उम्मेदवारझै चिनाउदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्याएका छन्। २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धता समेत राखिरहेका छन्। जनताको जनलहरसमेत एमालेका पौडेल प्रतिनै देखिन्छ।
यता जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रत्येकको घरमा गएर मतदातालाई रुझाउन पर्ने बाध्यता छ। जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका यादवका लागि बारा २ पनि भनेजस्तो सजिलो छैन्।
बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडि आएका छन्। राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन्।
नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा. राउतले उम्मेदवार मात्रै बनाएनन् आफै चुनावी कमाण्ड सम्हालिरहेका छन्। मनोनयन दर्तापछि बारामै बसिरहेका डा. राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ।
त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धीनै नभेटेको बताइरहेका छन्। मैदानमा प्रतिस्पर्धी नै नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको यादव बताउछन्। बारा २ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ।
तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दाबी गरिरहेका छन्। उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउने भन्दै प्रश्न तेर्स्याउँछन्? राउतको भनाइ अनुसार बारा २ का जनताले धर्तीपुत्रलाई जिताउनेछन्। अर्थात आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दाबी छ।
‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन्। धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ।’
राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन्। आफ्नो उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेको यादवले बताए।
‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो। फर्जी काम गर्न राउत बारामा समेत आएका छन्।’ आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन्। ‘उपेन्द्र यादव हार्छ भन्दै बोली राउतको होइन अरुको हो। मुख उहाँको तर भनाई अरुको हो। राउतले त जागिर खाइरहनुभएको छ।’
चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन्। चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ।
यादवको चुनावी प्रचारमा प्रदेशका अर्थमन्त्री संजीवकुमार यादव, सामाजिक विकासमन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन्।
यता जनमत पार्टीका अध्यक्ष राउत आफै मतदाताको घरघरमा पुगिरहेका छन्। उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताईरहेका छन्। बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउदै राउत घरदैलोमा डुलिरहेका छन्। राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ।
यता मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ। एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन्। बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन्।
‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ। काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु।’
एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन्। त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन्।
दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउदै लगेको छ। त्यसबाहेक मधेसबादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन्। काठमाडौंमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन्। उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन्।
यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन्। मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन्। उनको चुनावी अभियानमा अध्यक्ष साह आफै सक्रिय भएका लागेका छन् े।
राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आममतदाता भने अन्यौलमा देखिन्छन्। विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन्। चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ।
बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन्। यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग पर्छ।
Facebook Comment