छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ। विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
काठमाडौं, टोखा नगरपालिका-२ चण्डेश्वरीस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ०३७४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ८ वर्षीया स्वेच्छा गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु शिवमन्दिर नजिक प्र-३-०२-००६ प ४४१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार चितवन घर भई हाल काठमाडौं नयाँबजार सोह्रखुट्टे बस्ने ३० वर्षीय प्रदिप पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित १ नम्बर पुल नजिकै हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र.२-०३-०५प ९८६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-२१ अमलेखगञ्ज बस्ने ७० वर्षीय मनिस लामाको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको एल.एस.न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित डम्पिङ साईडमा पोखरा महानगरपालिकाको ग.१ ग १३४ नम्बरको बुलडोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अनियन्त्रित भई डोजर पल्टिँदा चालक सोही महानगरपालिका-१५ रामबजार बस्ने ६२ वर्षीय मुसाफिर दासको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment