एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बने सन्दीप लामिछाने
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले ऐतिहासिक विश्वरेकर्ड बनाएका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् । ४२ औं खेलमा १०० विकेट लिँदै लामिछानेले अफगानिस्तानका बलर राशिद खानको विश्वरेकर्ड तोडेका हुन् ।
यसअघि सबैभन्दा छिटो एकदिवसीय क्रिकेटमा १०० विकेट लिने खेलाडीको रेकर्ड अफगानिस्तानका राशिद खानको नाममा थियो । उनले ४४ एकदिवसीय खेलमा १०० विकेट लिएका थिए । राशिदले २५ मार्च २०१८ मा वेष्ट इण्डिजविरुद्ध ४४ औं एकदिवसीय खेल्दै १०० औं विकेट लिएका थिए । राशिद खानले अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको रेकर्ड तोडेका थिए । स्टार्कले ५२ औं एकदिवसीयमा १०० विकेट लिएका थिए ।
एकदिवसीय क्रिकेटमा सन्दीपको १०० औं शिकार ओमनका आदिल शफीक बने । सन्दीपले आज आफ्नो पहिलो ओभरकै तेस्रो बलमा शफिकको विकेट लिएका हुन् । सन्दीपले शफीकलाई एलबीडब्लु आउट गरे । पहिलो ओभरमै सन्दीपले शफीक र जीसन मकसूद गरी २ विकेट लिए । उनले आफ्नो दोस्रो ओभरमा पनि कश्यप प्रजापतिलाई आउट गरे ।
आजको खेलमा नेपालले पहिले ब्याटिङ गरेर ३१० रनको स्कोर बनाएको छ । ३११ को लक्ष्य पच्छ्याएको ओमनले १५ ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ ।
Facebook Comment