रास्वपाको उदयले पुराना दलहरुको ‘निदहराम’

 कमिकमजोरी औंल्याउन आन्तरिक समीक्षासहित शक्ति सञ्चयको थालनी

शरद रिजाल
१३ वैशाख २०८० ७:४४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चस्व नेपालको राजनीतिमा जबरजस्त स्थापित हुँदै जाँदा पुराना पार्टीहरुको ‘निदहराम’ हुन थालेको छ।

गत मंसिर ४ को निर्वाचनपछि रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउँदा सशंकित बनेका पुराना दलहरुमा पछिल्लो उपनिर्वाचनको मतपरिणामले थप त्रासदी उत्पन्न गराएको छ।

यसअघि गत मंसिर ४ को निर्वाचनमा आएको मतउभार यसपाली पनि यथावत् रहनुले रास्वपाको उदय नेपाली राजनीतिमा जबरजस्त भइसकेको पुराना दलका शीर्ष नेताहरुले अन्तर्यबाट स्वीकार गरिसकेका छन्।

तथापि सार्वजनिक रुपमा उनीहरुले संगठित मत र शक्ति मान्न अझै तयार छैनन्। रास्वपाको उदयले नेपालको राजनीतिमा हालीमुहाली गरिरहेका पुराना पार्टीहरुमा पूर्ववत् विरासत आगामी दिनमा कायम गर्न नसकिने भयले शक्ति सञ्चय गर्दै पार्टी सुदृढ र मजबुद गराउन आन्तरिक रुपमा छलफल सुरु गरिसकेका छन्।

परम्परागत पार्टीहरुलाई ‘सक्किने या सच्चिने’ अन्तिम अवसरका रुपमा रास्वपाले उपनिर्वाचनको मतपरिणाम मार्फत सूचित गराइसकेको छ। यसले नेपालको राजनीतिमा विद्यमान दलहरुबीच निकट भविष्यमै नयाँ धु्रवीकरणको संकेत देखा परेको छ।

यही परिपेक्षमा वाम घटक सम्बद्ध दलहरु विचार मिल्ने पार्टीबीच संयुक्त मोर्चा हुँदै एकताको गुहकार्यबारे औपचारिक छलफलमा जुटेका छन्। नेकपा (माओवादी केन्द्र) लगायत अन्य वाम घटकहरुको समाजवादी मोर्चा हुँदै समाजवादी केन्द्र नामक पार्टी बनाउने अभियानमा जुटेका छन्।

सरकारमा रहेका वाम घटकले नयाँ समाजवादी केन्द्रको गठनमा तदारुकता देखाएका छन्। गत निर्वाचन अगावै आन्तरिक तयारी थालेका दलहरुले समाजवादी केन्द्र गठनलाई मूर्तरुप दिन सकेका थिएनन्।

नेपालको राजनीतिक व्यवस्थाको हिमायतिका रुपमा रहेका परम्परावादी तथा ठूला पार्टीहरुको साख भर्खरै सम्पन्न उपनिर्वाचनले गिराएको छ। यसको समीक्षा सबै दलले गम्भीरतापूर्वक गर्न थालेका छन्।

तर, पछिल्लो निर्वाचनको मतपरिणामले सशंकित हुँदै तत्कालै समाजवादी मोर्चादेखि पार्टी एकतासम्मको पहल थालेका छन्। केही दिनमै पूर्णता दिने उनीहरुले जनाएका छन्।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र बामदेव गौतमको नेकपा (एकता अभियान) बीच समाजवादी मोर्चा हुँदै पार्टी एकताको तयारी थालिएको हो।

यी वाम घटकहरुबीच पुरानै नेकपा ब्युँताउने सम्मको तयारी गरेका छन्। तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका अधिकांश नेताहरु आज एमाले इतरको पार्टीमा छन्।

तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाका नौ सदस्यीय सचिवालयमा रहेका बहुमत सदस्यको बलमा फेरि नेकपाको पुर्नगठनको सम्भावना रहेको बताइन्छ।

जसअनुसार पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसहित पाँचजना राजनीतिक रुपमा एकै ठाउँमा एमाले विरोधी कित्तामा छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल रहेका छन्।

यीनै नेकपाका बहुमत सचिवालय सदस्यहरुले फेरि नेकपा ब्युँताउने तयारीमा लागेको बताइएको छ। प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७४ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा ब्युँतिन सक्ने संकेत गरेका थिए।

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेकपा ब्युँताएर या पुर्नएकीकरण जे गरेरै भएपनि वामघटकहरु एक ठाउँमा आउने तयारीमा रहेको बताउँछन्। विभाजित कम्युनिष्टहरु एकीकृत हुने प्रयत्न जारी रहेको उनको स्वीकारोक्ति छ।

‘सबै वाम घटकले विभाजनको दुस्परिणाम भोगिसकेकाले चाँडो एकीकृत हुनुको विकल्प छैन’, महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको परिणाम पुराना दलहरुप्रतिको असन्तुष्टिको उपज भएको स्वीकार्दै भने, ‘पुराना दलको विभाजन र जनताको अपेक्षा अनुसार आशातित परिणाम दिन नसक्नुको उपज हो। यो सच्चिनका लागि उचित अवसर पनि हो।’

विगतका कमीकमजोरीलाई गम्भीरताका साथ औल्याएर सच्याउँदै अघि बढ्नुपर्ने चुनौती पुराना दलहरुमा उपनिर्वाचनको मतपरिणामले थपिएको उनले टिप्पणी गरे। उनले तत्काल समाजवादी मोर्चा बनाएर जानेबारे दलहरुमा सहमति भएको जानकारी दिए। केही दिनमै समाजवादी मोर्चालाई मूर्तरुप दिने महासचिव गुरुङको दाबी छ।

नेपालको राजनीतिक व्यवस्थाको हिमायतिका रुपमा रहेका परम्परावादी तथा ठूला पार्टीहरुको साख भर्खरै सम्पन्न उपनिर्वाचनले गिराएको छ। यसको समीक्षा सबै दलले गम्भीरतापूर्वक गर्न थालेका छन्।

रास्वपाको उदयलाई सत्तारुढ नेपाली कांग्रेसले आफ्नो पार्टीको विकल्पका रुपमा खडा भएको राजनीतिक शक्तिका रुपमा आन्तरिक रुपमा विश्लेषण गर्न थालेको छ। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा रास्वपाको उदयबारे गम्भीरतापवूर्वक छलफल भएको बताइएको छ।

आफ्नै उम्मेदवार निर्वाचित क्षेत्रमा कांग्रेसबाटै गएका उम्मेदवारहरुले रास्वपाको तर्फबाट अत्यधिक मतले विजयी हुनु गम्भीर समीक्षाको विषय भएको कांग्रेसका एक नेताले बताए।

नाम उल्लेख नगर्ने शर्तमा ती नेताले बताए अनुसार कांग्रेसमा रास्वपाको उदयलाई लिएर नेतृत्वको असक्षमताबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ। संस्थापन सभापति शेरबहादुर देउवा इतरका नेताहरुले कांग्रेसको विकल्पका रुपमा रास्वपा खडा भएको भन्दै यसलाई गम्भीरतापूर्वक  लिनुपर्ने बताइरहेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय राजनीतिमा योगदान दिएका नेताहरुको इतिहासबारे जानकार गराउनुपर्ने धारणा व्यक्त गरेका थिए। उनको आशय अनुसार राजनीतिक योगदान बारे अहिलेको पछिल्लो पुस्ता जानकार नभएर निर्वाचन परिणाम नयाँ दलको पक्षमा गएको हो।

उता, एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले उपनिर्वाचनको मतपरिणामले जनताको असन्तुष्टि ब्यक्त भएको तर विकल्पका रुपमा खडा हुन नसकेको टिप्पणी गरे। देशका विद्यमान दलहरुको विरुद्धमा सांकेतिक विद्रोह भएको उनको स्वीकारोक्ति छ।

‘केही असन्तुष्टि र केही अपेक्षासहितको मत हो। मूलतः पुराना दलहरु सच्चिउन भन्ने जनताको सन्देश हो’, उपनिर्वाचनको मत परिणामलाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले अगाडि भने, ‘यसले विद्यमान दलहरुलाई सुधारको आह्वान गरेको छ। त्यसतर्फ अग्रसरता बढाउनुपर्छ।’

एमालेलाई नै बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न लागिपरेको उपमहासचिव गुरुङ बताउँछन्। सोही कारणले जनतासँगको अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउन पार्टीले राष्ट्रब्यापी रुपमा‘मिसन ग्रासरुट अभियान’ सुरु गरेको उनको भनाइ छ।

तर, नयाँ दलको आगमनले पुराना पार्टीहरुमा साख र विगतको विगतको विरासत जोगाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। परम्परागत पार्टीका युवा नेताहरुले त सार्वजनिक रुपमा मूल नेतृत्वको विकल्पको बहस समेत छेड्न थालिसकेका छन्।

नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले मंगलबार सामाजिक सञ्जालमार्फत नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। उनले फेसबुकमार्फत सरकारको कार्यसम्पादन सन्तोषजन नभएकाले सरकार असफल हुँदा माओवादी सकिने उल्लेख गरेका छन्।

‘आदरणीय पार्टी अध्यक्ष–प्रधानमन्त्रीको ध्यानकर्षण होस्! सरकार असफल हुँदा माओवादी पनि सकिन्छ, जुन उचाइबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन’, उनले लेखेका छन्।

जनता, कार्यकर्ता र नेतालाई आफ्नो सरकार भएको महशुस भएमात्रै सरकार सफल हुने उनको भनाइ छ। ‘यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ। ढ्याउ गरेर डकाररिहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्दैनन् है’, सापकोटाले लेखेका छन्।

उपनिर्वाचनको मत परिणामले तीनवटै क्षेत्रमध्ये दुईवटामा अत्यधिक मतका साथ रास्वपाका उम्मेदवार विजयी भएपछि आफूहरुको खस्कँदो जनमतबाट पुराना दलहरुले कमीकमजोरीको गहिरो समीक्षा गर्न थालेको बताइएको छ। कतिपय पार्टीका युवा नेताहरुले नेतृत्वको खुलेरै आलोचना गर्न थालेका छन्।

चितवन- २ र तनहुँ-२को मतपरिणामले नयाँ दलको प्रभाव विस्तारै सबै क्षेत्रमा फैलन सक्ने र यसको जबर्जस्त आगमन अर्को निर्वाचनमा देखिने राजनीतिका जानकारहरुले औंल्याइरहेका छन्।

यसको प्रभाव आगामी आम निर्वाचनमा देखिने बताउँदै रास्वपाको आगमनलाई सच्चिने अन्तिम अवसरका रुपमा लिन पुराना पार्टीहरुका युवा नेताहरुले पार्टी नेतृत्वलाई सचेत बनाउने प्रयत्न थालेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *