बेलायती गायक फ्रेडीका संग्रह लिलामीमा
लण्डन। प्रख्यात बेलायती गायक र गीतकार फ्रेडी मक्र्युरीका करिब १५ सय वस्तुको संग्रह, हस्तलिखित गीत र स्टेजमा गीत गाउँदा लगाएका पहिरन लिलामीमा बिक्री हुने भएको छ।
लोकप्रिय पप व्याण्ड ‘क्वीन’का प्रमुख गायक फ्रेडीको वेस्ट लण्डनस्थित निवासमा रहेका ३० वर्ष यताका संग्रहको लिलामी हुन लागेको हो। गायकको सन् १९९१ मा निधन भएको थियो। उनले निधन अघि घर र आफ्ना सम्पूर्ण सामाग्री पुरानो साथी मेरी अस्टीनलाई छोडेका थिए।
फ्रेडीको घरमा उनको निधन हुनु एक महिना अघि उनले किनेको अन्तिम चित्र पनि छ। यो चित्र सोफा नजिकै छ। जसको मूल्य चार लाखदेखि ६ लाख युरोसम्म राखिएको छ। फ्रेडीको हस्तलिखित नौ पृष्ठको गीत ‘वी आर द च्याम्पियन्स’सँगै हार्मोनी, कर्डलाई पनि लिलामी गरिनेछ। यसको मूल्य २ लाख यूरोदेखि ३ लाख यूरोसम्म तोकिएको छ।
अस्टिन १९ वर्षको छँदा व्याण्ड ‘क्वीन’का गितारिष्ट ब्रायन मेसँग डेटमा थिइन्। उनले सन् १९७० मा फ्रेडीलाई पहिलोपटक भेटेकी थिइन् फ्रेडीसँग नजिकको सम्बन्ध बनाएपछि मात्र फ्रेडीले अस्टिनलाई आफू ‘समलिंगी’ भएको बताएका थिए। फ्रेडीलाई एड्ससँग सम्बन्धित रोग लागेपछि उनको स्याहार अस्टिनले नै गरेकी थिइन्। अस्टिन अहिले ७२ वर्षकी भइन्।
अस्टिनका अनुसार फ्रेडीले स्टेज प्रस्तुतीमा लगाएका क्याटसुट, चम्किलो जुत्ता, रातो मखलर र स्फटिक मुकुटसँगै सन् १९८० को दशकमा व्याण्डसँग गरेको अन्तिम यात्रका पहिरन पनि लिलामीमा राखिनेछ।
फ्रेडीका १५ सय बढी सामानहरु सेप्टेम्बरमा लिलामीमा बेचिनु अघि लण्डनको सोथेबेमा प्रदर्शनका लागि राखिनेछन्। अस्टिनले लिलामीबाट करिब ६ लाख यूरो जम्मा हुने र केही रकम परोपकारका लागि दान दिइने बताइन्।
Facebook Comment