ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै एमालेले गरायो सरकारको ध्यानाकर्षण

डिसी नेपाल
१४ वैशाख २०८० १६:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सिंहदरबारमा एमाले नेताहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चूतौति देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कारवाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

उनले यस्ता प्रवृतिहरुलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको बताए । त्यस्तै काठमाडौं महानगर वडा नंवर ६ सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटो भन्दा छिटो घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको उनले बताए । उनले नागरिकले सुरक्षाको महसुस गर्न नसकेकाले सरकार रहेको महशुस हुन नसकेको र सरकार असफल हुँदै गएको आरोप लगाए ।

एमालेका नेताहरुको भेटमा मन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटो भन्दा छिटो दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको भट्टराइले बताए । भट्टराइले आफ्नो नेताहरुको सुरक्षाका लागि एमालेका पंक्ति लाग्नुपर्ने स्थिती आए दुर्भाग्य हुने चेतावनी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *