अफगानिस्तानमा महिलाहरूको प्रदर्शन, अन्तर्राष्ट्रिय समुदायसँग यस्तो अपील

डिसी नेपाल
१७ वैशाख २०८० १३:२९

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा केही महिलाले र्‍याली निकालेका छन् । उनीहरूले तालिबान सरकारलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उक्त पदयात्रामा करिब २५ जना महिलाको सहभागिता रहेको थियो ।

अफगानिस्तानमा यस्ता मार्चमा प्रतिबन्ध छ। अर्को साता दोहामा संयुक्त राष्ट्र संघको बैठक बस्दैछ र उक्त बैठकमा तालिबानलाई मान्यता दिने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाको अवस्था नाजुक भएको छ। उनीहरूलाई उच्च शिक्षा लिनबाट वञ्चित गरिएको छ र धेरै कामबाट वञ्चित गरिएको छ।

हालसम्म कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएको छैन। बीबीसी पश्तोको समाचार अनुसार संयुक्त राष्ट्र संघले तालिवान सरकारका कुनै पनि प्रतिनिधिलाई यस बैठकमा निम्तो दिएको छैन । यसबारे तालिबानले भनेको छ, ‘यस्ता बैठकमा सहभागी हुन नदिँदा समस्या समाधान हुँदैन।’

यो बैठक मे १ र २ मा बस्नेछ । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा भने, “संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेर्रेसले तालिबान प्रतिनिधिहरूलाई दोहा बैठकमा निमन्त्रणा गरेका छैनन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *