युद्धविरामको बाबजुद सुडानमा युद्ध जारी, पूर्वप्रधानमन्त्रीको चेतावनी
काठमाडौं । सुडानको सेनाले राजधानी खार्तुममा ठूलो मात्रामा आक्रमण गर्न ट्याङ्क र भारी तोपहरू तैनाथ गरेको छ।
७२ घण्टाको युद्धविरामको समयावधि बढे पनि हवाई र स्थल आक्रमण जारी छ । सेनाले सर्वसाधारणलाई घरभित्रै बस्न र झ्यालबाट टाढा बस्न अपिल गरेको छ ।
सेनाले राजधानी खार्तूम वरपरबाट आक्रमण गरिरहेको जनाएको छ । युद्धविरामको बावजुद सेनाले प्रतिद्वन्द्वी अर्धसैनिक र्यापिड सपोर्ट फोर्सले कब्जा गरेको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ।
छिमेकी दक्षिण सुडान सरकारले दुवै पक्षका प्रतिनिधिहरूबीच शान्ति वार्ता गर्ने प्रयास गरिरहेको बताएको छ ।
सुडानका पूर्वप्रधानमन्त्री अब्दुल्लाह हाम्डोकले दुई पक्षबीच वार्ताका लागि अन्तर्राष्ट्रिय स्तरमा एकताबद्ध प्रयास गर्न अपिल गरेका छन् ।
हाम्डोकले भनेका छन् कि यो एक अर्थहीन लडाई हो, जुन कुनै पनि पक्षले जित्न सक्दैन। उनले यो युद्धका कारण आफ्नो देशको अवस्था सिरिया र लिबियाभन्दा पनि खराब हुन सक्ने बताए ।
उनका अनुसार यो लडाई अझै जारी रह्यो भने विश्वका लागि दुःस्वप्न साबित हुनेछ । सुडानमा विगत दुई सातादेखि जारी यो लडाइँमा सयौंको मृत्यु भइसकेको छ भने दशौं हजारले देश छोडेका छन् ।
Facebook Comment