कति बेला उठ्ने ?
चराचुरुङ्गीको आवाज पहिले वा कुकुरा बास्नुपूर्व उठेर आफ्नो कर्म गर्ने चलन प्रजातन्त्रसँगै सती गयो। रुढीवादभित्र विज्ञान छ, परम्पराभित्र जीवन छ, संस्कृतिमा संसार छ भन्ने तथ्यलाई हामीले राम्रोसँग भुल्न र छोड्न थालेका छौँ।
सूर्योदय पहिले उठ्नै पर्ने सर्वव्यापी नियम थियो। व्यस्तता, युग, परिबन्ध, समयको मागलाई तेसारेर बिहानभरी सुत्न रमाउनेको जमात बढ्न थालेको छ।
पौरस्त्य दर्शनहरूले जाग्रत्, स्वप्न र सुषुप्ति गरी तीन अवस्थाबारे चर्चा गरेका छन्। इन्द्रीयहरूले पूर्णरूपमा काम गरेको वा जागेको अवस्थालाई जाग्रत् भनिन्छ। जाग्रत् अवस्थामा देखेर, भोगेर, सुनेर बासना बनेका घटनालाई निद्रामा देख्नु स्वप्न हो।
निदाएको अवस्थामा केही नदेख्नु, अनुभव नगर्नुलाई सुषुप्ति भनिन्छ। जाग्रत् अवस्थाका चिन्तन र कार्यले जीवनलाई सार्थक बनाउँछ। ऋग्वेद (१।११३।१६)ले अन्धकार गएर शरीरमा प्राणको सञ्चार गराउनेवाला आएकाले ओछ्यान छोडेर उठ्न भनेको छ।
जाग्ने, जगाउने र जोगाउने हाम्रो परम्परा हो। ज्ञान, ध्यान र चिन्तनले मानिसलाई उठाउँछ, उभ्याउँछ, हिँडाउँछ। बस्ने मानिसको भाग्य बस्दछ, सुत्नेको भाग्य सुत्दछ, खोज-अनुसन्धान गर्नेको भाग्यले प्रगतिको मार्ग प्रदान गर्दछ।
बिहानै उठ्नु व्यावहारिक र आध्यात्मिक, शारीरिक र मानसिक, वैज्ञानिक र स्वास्थ्य सबै दृष्टिले सर्वोत्तम भनियो। जागेकाले नै जगाउँछ र जोगाउँछ। त्यसैले जब जागे तब सबेरा भनिन्छ। ऋग्वेद (३।४१।२)मा बिहानै उठेर कुशको आसनमा बसी सोम कुट्न ढुंगाहरू जोडिएको एवं ऋतुअनुसार यज्ञ गरेको चर्चा छ।
घरमा नियमित पूजापाठ, तुलसीको मठ, देवीदेवता र गाईको दर्शन, बुबाआमाको चरणस्पर्शबाट दिनको प्रारम्भ गर्नु हिन्दूको पहिचान हो। बिहानभरि सुत्ने, रातभरि चित्र-विचित्रका तस्बिर एवं घटनाहरूलाई हेर्ने, पुर्खा र पूजनीयलाई छोडेर कुकुर र बिरालोको सेवा गर्ने क्रम बढ्दै गएका छन्।
सेवा सबैको गर्नुपर्छ तर धर्म, इतिहास, परम्परा, संस्कार र संस्कृतिको पनि ख्याल गर्नुपर्छ। वैदिक नियमअनुसार तीर्थस्थल, देवीदेवता, ऋषिमुनि आदिको स्मरण र स्तुति गर्दै मन्त्र जप्दै ओछ्यान छोड्नुपर्छ। अ
हिले यी नियमहरू एकादेशका कथा भएका छन्। आनन्दरामायणमा भगवान् राम बिहान उठेर नित्यनियमले शिव, देवी, गुरु, बुबा, आमा, देवीदेवता, पुण्य र तीर्थस्थल आदिको स्मरण गरेको चर्चा छ।
आध्यात्मिक लाभका लागि मात्र होइन आर्थिक उन्नति, मानसिक प्रगति र शारीरिकरूपले सबल, सक्षम हुन ब्रम्हमुहूर्तमा (सूर्योदय हुनुभन्दा दुई घण्टाअघि) उठ्नु आवश्यक छ। ‘रातको तेस्रो प्रहरलाई ब्रम्हमुहूर्त भनिन्छ, यस समयमा उठ्नुपर्छ।
ब्रम्हमुहूर्तको समयमा वातावरण शान्त, मन आनन्द, शरीर ऊर्जामय हुन्छ। वृद्धवृद्धा, बच्चा र रोगीहरूले पनि एकैछिन ओछ्यान छोडेर हिँडडुल र साधना गर्नुपर्छ। पाश्चात्य वैज्ञानिकहरूले बिहान गरेका हरेक कार्य र योजना महत्वपूर्ण हुने बताएका छन्।
यसलाई अमृतबेला, देवीदेवताको दर्शन र ईश्वर साक्षात्कार गर्ने समय भनिन्छ । ब्रम्हको अर्थ परमात्मा (ज्ञान) र मुहूर्तको अर्थ समय हुन्छ अर्थात् परमात्मालाई दर्शन वा ज्ञान प्राप्त गर्ने समय नै ब्रम्हमुहूर्त हो ।
ब्रम्हले ब्रम्हमुहूर्तमा ब्रम्हा, विष्णु र महेश्वरको उत्पत्ति गरी क्रमशः जन्म, पालन र मृत्यु कार्यहरूको जिम्मेवारी दिए। ब्रम्हमुहूर्तमा दैवीशक्तिको उच्च प्रवाह हुन्छ।
देवीदेवता भ्रमणका लागि, ऋषिमुनिहरू साधनाका लागि, सिद्धहरू तीर्थाटनका लागि आउने हुनाले अध्ययन तथा आध्यात्मिक कार्य यही समयमा गर्नुपर्छ। निद्रा, भूत, थकान, अवरोध आदि भागिसकेका हुनाले ब्रम्हमुहूर्तमा परमात्मालाई साक्षात्कार गर्न सकिन्छ।
ब्रम्हमुहूर्तको समयमा वातावरण शान्त, मन आनन्द, शरीर ऊर्जामय हुन्छ। वृद्धवृद्धा, बच्चा र रोगीहरूले पनि एकैछिन ओछ्यान छोडेर हिँड्डुल र साधना गर्नुपर्छ। पाश्चात्य वैज्ञानिकहरूले बिहान गरेका हरेक कार्य र योजना महत्वपूर्ण हुने बताएका छन्।
विश्वविख्यात व्यक्तिहरू हरेक दिन बिहानै उठेर पुस्तक पढ्दछन् भन्ने तथ्यलाई वारेण्ड बफेट, बिल गेटस्को जीवनीबाट बुझ्न सकिन्छ। राजा महेन्द्र, योगी नरहरिनाथ, खप्तड स्वामी, डा. स्वामी प्रपन्नाचार्य सबेरै उठ्नुहुन्थ्यो।
बिहानै काम प्रारम्भ गर्दा सक्नका लागि हतार गर्नुपर्दैन, जसले तनाब र दबाब घटाई स्वाथ्यलाई फाइदा गर्छ। बिहानै फेसबुक होइन बुक (धार्मिक ग्रन्थहरू) हेर्न, युुटुब होइन योग गर्न, च्याट होइन च्यान्ट (मन्त्र जप) गर्न आवश्यक छ।
गुरुकुल र आश्रममा बिहानै जप-तप-होम गर्ने, मन्त्र कण्ठस्थ गर्ने, गुरुको दर्शन एवं ईश्वरको पूजा गर्ने नियम छ। आयुर्वेदले प्रातर्भ्रमणं पथ्यम् बिहानको भ्रमण अमृतसमान हुने बताउँछ। मन्दिर दर्शनको बाहनामा होस् वा घुम्ने प्रयोजनले होस् बिहानै डुल्न निस्कनेको संख्या बढेको छ।
ब्रम्हमुहूर्तमा उठ्नेको सौन्दर्य, लक्ष्मी, बुद्धि, स्वास्थ्य, आयु आदिको वृद्धि भई शरीर कमलको फूलजस्तै सुन्दर हुन्छ। दिनभरिको थकाई, व्यस्तता, चिन्तालगायतका समस्याहरू बिहान उठ्दा शिथिल भइसकेका हुन्छन्।
बिहान ध्यान बाँडिँदैन, मन तरंगित हुँदैन, पढे–लेखेका विषयहरू लामो समयसम्म याद रहन्छन्। कर्मठ एवं धर्मानुरागीहरू बिहानै योग, मन्त्रोच्चारण, गायनलगायतका साधनामा लीन हुन्छन्। यसैले हाम्रा पुर्खाहरू निरोगी, विद्वान्, बलवान् एवं लामो आयुका भए।
अथक प्रयासद्वारा मन्त्रहरूको संकलन, तन्त्रहरूको प्रयोग र यन्त्रहरूको सदुपयोग गर्न सके। अन्य भूगोलका मानिसहरू सुतिरहँदा हाम्रा पुर्खाले वेद, उपनिषद्, पुराण, रामायण, महाभारत आदिको सङ्कलन र रचना गरे।
बिहानै उठ्ने मानिस धन, धर्म, ज्ञान, बुद्धि र आचरणले सम्पन्न हुन्छन्। शास्त्रले आचरणलाई प्राथमिकता दिन्छ, जसबाट धर्म उत्पन्न हुन्छ। धर्मले सद्भाव, सम्पत्ति, शान्ति र शक्ति दिन्छ। बिहानका धार्मिक कर्मले दुर्भाग्य र दुर्घटनाबाट बचाउँछ। शकुनशास्त्रमा भनिएको छ–
श्रोत्रियं सुभगां गाञ्च अग्निमग्निचितं तथा।
प्रातरुत्थाय यः पश्येदापद्भ्यः स विमुच्यते।।
अर्थात् ‘बिहानै उठेर वेद पाठ गर्ने विद्वान्, असल चरित्रकी महिला, गाई, आगो, यज्ञ गर्नेवालालाई दर्शन गर्नाले विभिन्न आपत्तिहरूबाट मुक्ति मिल्दछ”।
विद्वान्को प्रवचन, साधुसन्तको संगत, अग्रजको आशीर्वाद, प्रकृतिको दर्शन र देवीदेवताको पूजाले सकारात्मक भाव एवं शक्तिको उदय हुन्छ। बिहानी शुभ भए दिन राम्रो हुन्छ, काम बन्छ, मनमा प्रशन्नता आउँछ।
उखानै छ- ‘दिन कस्तो हुन्छ भनेर बिहानीले देखाउँछ । नराम्रा सपनाहरूको प्रभाव घटाउन, खराब सोच हटाउन, शारीरिक र मानसिक रूपले तन्दुरुस्त रहन बिहानका अनुष्ठान आवश्यक छ। बिहानभरि सुत्नेहरूले जीवनमा धेरै कुराहरू गुमाउँछन्।
अतिदुर्लभ मानिसको जीवन सर्वोत्कृष्ट बनाउन बिहानीलाई उचितरूपमा सदुपयोग गर्नुपर्छ। बिहानै पंक्षीहरू चिर्बिराउँदै उठ्छन्, पशुहरू आ-आफ्नै भाषामा कराउँछन्, कमलका फूल फक्रन्छन्, मनै लोभ्याउने गरी हिमाल उठ्छन्, पानी कल्कलाउँछन्। अन्य प्राणी, प्रकृति,वनस्पतिहरू बिहानै जागेर आफ्ना कर्महरू गर्दछन्।
अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरण च रात्रौ षड्भिर्नराणां प्रवहन्ति रोगाः।।
अर्थात् ‘अत्यधिक पानी पिउनाले, अपाच्य खानाले, धातुक्षय (वीर्य पतन) हुनाले, दिसा–पिसाब रोक्नाले, दिनमा सुत्ने, रातमा नसुत्ने बानी यी ६ कारणले मानिसमा रोग ल्याउँछ।”
दिउँसो घाममा सुत्यो भने बुद्धि नाश हुँदै जान्छ, रोगले ग्रस्त हुन्छ तर बिहानको हावा र घामले मानिसलाई रोगमुक्त बनाउँछ। शरीरं व्याधि मन्दिरम् शरीर रोगको घर हो। सानो हेलचेक्र्याँईले पनि जीवन बर्बाद हुन सक्छ।
पाश्चात्य डाक्टहरूले Early to bed early to rise भन्न थालेका छन्। हाम्रा पुर्खा र शास्त्रहरूले पूजा गर्न सिकाएर, बिहान उठाई मन्त्र जप्न लगाए। पाश्चात्यले पालना र प्रमाणित गरेपछि स्वीकार गर्ने परम्पराले विशेष गरी हिन्दूहरू आफ्नो ज्ञान र विज्ञानबाट विमुख भएका छन्। पश्चिमाको पछाडि दौड्नेहरूले वैदिकग्रन्थहरू पढ्न, ऋषिमुनिहरूको मार्गदर्शनलाई पालन गर्न, इतिहासलाई बुझ्न अत्यावश्यक छ।
वर्णं कीर्तिं मतिं लक्ष्मीं स्वास्थ्यमायुश्च विन्दति।
ब्रम्हा मुहूर्ते संजाग्रच्छियं वा पंकजं यथा ।।
अर्थात् ‘ब्रम्हामुहूर्तमा उठ्ने व्यक्तिको रूप, कीर्ति, बुद्धि, धन, स्वास्थ्य, आयु यसरी बढ्छ जसरी बिहान उदाउँदो सूर्यको समयमा कमलको शोभा फक्रिएको हुन्छ।” शरीर स्वस्थ्य रहेन भने जीवन जीवनजस्तो नभएर आफूलाई बोझ र अरूका लागि झर्को लाग्ने साधन बन्दछ ।
जीवनको अमूल्य सम्पत्ति भनेकै शारीरिक शक्ति एवं मानसिक स्वास्थ्य हो। बाँचुञ्जेल यश, कीर्ति, स्वास्थ्य र मृत्युपछि मुक्तिका लागि प्रातःकालको जागृति, साधना, भ्रमण र प्रार्थना अनिवार्य छ।
बिहानै प्रकृति रमाउँछ, हिमाल हाँस्छ, वनस्पति कलिला र रसिला हुन्छन्, शरीरमा जोश र जाँगर आउँछ। सूर्य उदाउनुपूर्व उठ्नुपर्छ भनेर शास्त्रले मात्र होइन प्रकृतिले नै बताउँछ।
डा. जगदीशचन्द्र वसुले बिहानै बोटबिरुवाले विभिन्न गतिविधि देखाउने भएकाले उनीहरूमा प्राण छ भनेका थिए। संसारमा जति आविस्कार भए अधिकांश वैज्ञानिकलाई त्यो ज्ञान बिहानकै समयमा स्फुरण भएको थियो।
दैनिक सूर्योदयभन्दा दुई घण्टाअगाडि उठ्नाले एक वर्षमा ७३० घण्टा अर्थात् लगभग एक महिना आयु बढ्छ। साठी वर्ष बाँच्दा साठी महिना (पाँच वर्ष) नाफा हुन्छ। हरेक दिन एउटामात्र मन्त्र कण्ठस्थ गरेमा १९७५ मन्त्र भएको शुक्लयजुर्वेदलाई यादस्थ गर्न ५ वर्ष लाग्छ।
किसान, विद्यार्थी, कर्मचारी, नेताहरूले बिहानै उठेर आआफ्ना कर्मप्रति निष्ठासहित लाग्ने हो भने नेपालको मुहार फेर्न समय लाग्दैन। जति धेरै जागिन्छ उति बढी काम हुन्छ, जीवन लामो बनाउन सकिन्छ। यसकारण धर्म, प्राचीन र आधुनिक विज्ञानका दृष्टिले बिहानै उठ्नु लाभप्रद, स्वस्थप्रद हुन्छ।
Facebook Comment