दोधारमा रास्वपा, सरकारबारे निर्णय लिन सकस

शरद रिजाल
२० वैशाख २०८० १४:२२

काठमाडौं। सरकारलाई दिएको समर्थन कायम राखेको रास्वपामा सरकारमा सहभागीताको विषय पछिल्लो समय पेचिलो बन्दै गएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन यथावत् राखिरहेको रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ।

यद्यपि सरकारमा सहभागिताको विषय रास्वपामा सकसपूर्ण बनेको बेला शुक्रबार बस्ने संसदीय दलको बैठकले निक्र्योल गर्ने बताएको छ। एक राज्यमन्त्रीसहित तीन मन्त्रालय लिएर प्रचण्ड सरकारमा सामेल भएर बाहिरिएको रास्वपा अहिले सरकारमा सहभागिताबारे अनिर्णीत बन्दै गएको छ।

रास्वपाका सभापति रवि लामिछानको नेतृत्वमा उपप्रधानसहित गृह, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा सामेल भएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले माघ १३ गते सभापति लामिछानको नागरिकता अवैध ठहर गरेपछि उपप्रधानमन्त्रीसहित सबै पदबाट मुक्त भएका थिए।

उनको संसद लगायत सम्पूर्ण पद गुमेको केही समयपछि गत माघ २२ गते रास्वपा सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको हो। सरकारमा सहभागी हुने या समर्थन फिर्ता गर्नेबारे आधिकारिक धारणा तय गर्न नसकिरहेको रास्वपाले सरकारबारे ठोस निर्णय तय गर्ने बताएको छ।

रास्वपामा सरकारमा सहभागीताबारे मतैक्यता हुन नसकेको रास्वपा स्रोत बताउँछ। स्रोतका अनुसार सरकारमा सहभागीताका लागि रास्वपामा फरक फरक मत रहेको छ।

पूर्व शर्त मान्न तयार भए सरकारमा गएर उल्लेख्य काम गर्नुपर्ने मत एकपक्षको रहेको छ। तथापि कतिपयले सरकारमा सहभागी नभएरै प्रतिपक्ष बस्नुपर्ने मतसमेत पार्टीमा रहेको छ। सोही कारणले सरकारबारे निर्णय गर्न रास्वपालाई असहज भएको हो।

बैशाख १० गतेको उपनिर्वाचनबाट निर्वाचित सभापति लामिछानेले सरकारको समर्थन बारे पुर्नविचार गर्ने बताएका थिए। तर गएको आइतबार प्रधानमन्त्रीसँगको भेटवार्तामा सरकारको समर्थनलाई निरन्तरता दिँदै सरकारमा सहभागी हुने आशय प्रकट गरेको बताइन्छ।

रास्वपाले सरकारमा सहभागीताका लागि प्रधानमन्त्री समक्ष आफ्ना शर्तहरु राखिसकेको छ। सरकारको नीति तथा कार्यक्रमबाट हटाइएको बुँदा समावेश गरिनुपर्ने र पहिलेका मन्त्रालय दिए सरकारमा सहभागी हुन लचक रहेको बताइएको छ।

प्रधानमन्त्री रास्वपाको मागप्रति सकारात्मक रहेको बालुवाटार स्रोतको दाबी छ। तर, सरकारमा सहभागीताका लागि निर्णय गर्न रास्वपा ‘पर्ख र हेर’ को नीतिमा छ।

सरकारले पूर्णता नपाइसकेको अवस्थामा रास्वपालाई सरकारमा सामेल गराउँदा साविकको मन्त्रालय दिने प्रधानमन्त्री राजी भएको बताइएपनि रास्वपाले नै सरकारमा सहभागीताबारे यकिन गर्न सकिरहेको छैन।

सरकारमा सहभागी हुने या बाहिरै रहने भन्ने विषयमा पार्टीमा एकमत नहुँदा शुक्रबारको संसदीय दलको बैठकले टुंगो लगाउने तयारीमा छन्। रास्वपाका प्रवक्ता मुकुल ढकालले शुक्रबार बस्ने संसदीय दलको बैठकले टुंगो लगाउने बताउँछन्। उनले सरकारमा सहभागी हुने या समर्थन फिर्ता गरेरै प्रतिपक्षमा बस्ने शुक्रबार टुंगो लाग्ने बताए।

उनले डिसी नेपालसँग भने, ‘पार्टीमा सरकारबारे ठोस निर्णय गर्नुपर्ने आवाज उठिरहेको छ ।तर संस्थागत धारणा अझै निक्र्योल गर्न सकिएको छैन। अहिले केही समय हाम्रा माग सम्बोधनबारे सरकारको तदारुकता हेरिरहेका छौं।’

उनले सरकारबारे यथोचित निर्णय शुक्रबारको बैठकले गर्ने बताए। अब सरकारलाई दिएको समर्थन र सहभागीताबारे टुंगो लगाउँदै एक भूमिकामा रास्वपा देखिने उनको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *