भारतको चौथो ठूलो एयरलाइन्स टाट पल्टियो, हवाइ भाडा बढ्न सक्ने

डिसी नेपाल
२० वैशाख २०८० १४:४७

काठमाडौं । भारतको ट्राभल एजेन्टहरूको संस्था टीएएएआइले भारतको चौथो ठूलो घरेलु एयरलाइन गोफर्स्टले टाट पल्टिएको घोषणा गर्ने प्रक्रिया सुरु गरेपछि हवाई यात्रा भाडा बढ्ने आशंका व्यक्त गरेको छ।

गोफर्स्टले मे ३ देखि ५ सम्मका सबै पूर्व निर्धारित उडानहरू रद्द गरेको छ। गोफर्स्ट एयरलाइन्सले आफ्ना आधाभन्दा बढी विमान इन्जिन फेल र मर्मत नहुँदा उडान गर्न नसकेको र ठूलो नोक्सानी बेहोर्नुपरेको जनाएको छ ।

यसैबीच, वाडिया समूहको स्वामित्वमा रहेको यो एयरलाइन्सले आफूलाई टाट पल्टिएको घोषणा गर्ने प्रक्रिया सुरु गरेको छ। ट्राभल एजेन्ट निकाय टीएएएआइले पछिल्लो घटनाक्रम वायुसेवा उद्योगका लागि नराम्रो संकेत भएको बताएको छ ।

टीएएएआइले भन्यो, “यो नाजुक उद्योग हो, किंगफिसर एयरलाइन्सको कारणले हामीले करोडौं रुपैयाँ गुमायौं, त्यसपछि जेट एयरवेजको समयमा घाटा भयो र अहिले अर्को एयरलाइन टाट पल्टिँदैछ।”

गोफर्स्ट एयरलाइन्सले विगत १७ वर्षदेखि आन्तरिक रुटमा उडान सेवा प्रदान गर्दै आएको छ । यो एयरलाइन्स बन्द भएपछि टिकटको मूल्य पनि बढ्ने सम्भावना रहेको छ ।

यसैबीच एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत कौशिक खोनाले अहिलेको संकटबाट बाहिर निस्कनका लागि वायुसेवा कम्पनीले हरसम्भव प्रयास गरिरहेको र कर्मचारीको पूर्ण ख्याल राख्न कम्पनीले प्रयास गर्ने बताए ।

मंगलबार कर्मचारीहरूलाई लेखेको पत्रमा सीईओले अमेरिकी कम्पनी प्राट एन्ड ह्विटनीले इन्जिन आपूर्ति गर्न नसक्दा हालको संकट उत्पन्न भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *