क्रिमिया नजिकैको तेल डिपोमा आगलागी, दुई दिनमा दुईवटा रेल पटरीबाट खसे

डिसी नेपाल
२० वैशाख २०८० १६:४४

काठमाडौं । दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा रहेको इन्धन भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । यो आगलागी भएको स्थान रुस नियन्त्रित क्रिमियालाई रुससँग जोड्ने महत्वपूर्ण पुल नजिकै रहेको छ ।

केर्च ब्रिज नजिकै तेल ट्याङ्करमा आगलागी भएको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

रुसले अहिलेसम्म आगलागीको कारणबारे जानकारी दिएको छैन । केही दिनअघि रुसले क्रिमियाको सेभास्टोपोल बन्दरगाहमा भएको आगलागीको लागि युक्रेनको ड्रोन आक्रमणलाई दोष दिएको थियो।

यसैबीच, युक्रेनमा लगातार तेस्रो रात मिसाइल आक्रमण भएको छ। युक्रेनी सुरक्षा अधिकारीहरूले राजधानी कीभमा प्रहार गरिएका सबै रुसी ड्रोनहरू खसालेको दाबी गरेका छन्।

यसैबीच, मंगलबार रुसको सीमा क्षेत्र ब्रायान्स्कमा एउटा मालगाडी पटरीबाट खसेको थियो । क्षेत्रीय गभर्नरले विस्फोटपछि मालगाडीका धेरै डिब्बा पटरीबाट खसेको बताएका छन्।

रेल मन्त्रालयले यस घटनाको बीचमा अवैध हस्तक्षेपलाई कारण मानेको छ। यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

सोमबार बिहान पनि युक्रेन सीमानजिकै सोही रेलवे ट्र्याकमा अर्को मालवाहक रेल पटरीबाट खसेको थियो ।

रुसले युक्रेनमा आक्रमण गरेदेखि बेलारुसको सिमानामा रहेको यस क्षेत्रमा रुसी पूर्वाधारमा क्षति पु¥याउने धेरै घटना भएका छन् ।

यसैबीच, एक अमेरिकी रिपोर्टले डिसेम्बरदेखि युक्रेन युद्धमा मारिएका रुसी सैनिकको संख्या २० हजार नाघेको दाबी गरेको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले मंगलबार उक्त अवधिमा मारिएका सैनिकबाहेक ८० हजार रुसी सैनिक घाइते भएको दाबी गरेका छन् ।

अमेरिकाले आफ्नो ज्यान गुमाउने रुसी सैनिकमध्ये आधाभन्दा बढी वाग्नर समूहका रहेको दाबी गरेको छ । वाग्नर समूहले विगत केही महिनादेखि युक्रेनी सहर बाख्मुतलाई नियन्त्रणमा लिन आक्रमण गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *